मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसले बनाउँदैछ बाणगंगाको चार नम्बरमा यति सुन्दर रेलिङ ?

कसले बनाउँदैछ बाणगंगाको चार नम्बरमा यति सुन्दर रेलिङ ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगास्थित चार नम्बर तौलिहवा रोडको कृषि विकास बैङनजिकै पुग्ने जोकोही आजभोलि टक्क रोकिन्छन् । काठमाडौँमा पुगेर न्यूरोड पुगेका कतिपयले न्यूरोडमै पुगेको झल्को मान्दछन, किनकि न्यूरोडमा यस्तै आकृतिको रेलिङ सडकपेटीमा देखिन्छ ।

फलामे रेलिङ बन्न थालेको अहिले एक साताजति भयो, जतिजति बन्दै छ त्यतित्यति यात्री र त्यहाँ आवतजावत गर्नेहरुको आकर्षण बढिरहेको छ । सुरुमा सडक पेटी भत्काउँदा आश्चर्यमा परेकाहरु अहिले ठड्याइएका ती आकर्ष रेलिङ देख्दा दङ्ग परिरहेका छन् । अहिले रेलिङमा बनाइएका पशुपति र स्वयम्भूको झल्को दिने आकृतिले रङ पाइरहेका छन् । जतिजति बनिरहेका छन् त्यतित्यति सुन्दर र आकर्षक बनिरहेका छन् ।

असार महिनाभरमा कृषि विकास बैङ्कदेखि होराइजन चोकसम्म दुवैतर्फ रेलिङ बनाउने कार्य सम्पन्न हुनेछ । अहिले आकृति निर्माण र सजावट, रङ रोगनको काम भइरहेको छ । रेलिङ भित्र ससाना प्रजातिका फुल र विरुवाहरुले फुलबारीजस्तो देखिन्छ । यसले बाणगंगाको सुन्दरतामा एउटा इट्टा थप्ने काम गरेको आवतजावत गर्नेहरु बताउँछन् ।

उसो भए नगरमा यो नवीन कार्यको थालनी कसले गरेको होला त ? वडा, नगर या अरु संस्था । कतिपयले ४ नम्बर वडाले यो नवीन कार्यको थालनी गरेको बताउँछन् । तर यो कार्यको थालनी वडाले गरेको नभई श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले गरेको हो । यसको परिकल्पनाकार वनका युवा अध्यक्ष शुशिलसिंह ठकुरी (गणेश) हुन् ।

बाणगंगामा हरियाली प्रवद्धन कार्यक्रम अन्तर्गत चार नम्बरबाट यस कार्यको थालनी गरेको ठकुरी बताउँछन् । बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी दाङबीचको एक मात्र ब्यवस्थित सहर चार नम्बर रहेकाले यसलाई हरेक हिसाबले उत्कृष्ट बनाउनु वनको पनि दायित्व हुँदा यो कार्यको थालनी गरेको उनले बताए । अहिले थोरै भागबाट सुरु भए पनि चार नम्बरबाट बुद्धभूमि हार्डवेयरसम्म यस्तै रेलिङ राख्ने योजननामा आफूहरु रहेको उनले बताए ।

रेलिङमा पशुपतिनाथ मन्दिर र स्वयम्भूको झल्को दिनुको पछाडी अर्थ रहेको अध्यक्ष ठकुरी बताउँछन् । उनी भन्छन्, ‘ मार्ग भएर आउन जोकोहि पनि यो रेलिङमा पशुपति र गुम्बाको आकृति देखिपछि आध्यात्मिक बनून् र मनमा सिर्जना भएको नकारात्मक भाव पनि ती आकृतिले बदल्न उद्धत होऊन् । मानिसमा सकारात्मक उर्जा जागरण गराओस् यो रेलिङले ।’


उनले थपे, ;यो सुरुवात हो । यहि मिसनमा नगर पनि हिँड्नु पर्दछ । नगरमा बन्ने प्रत्येक सरकारी र सार्वजनिक संरचनामा भगवानको आस्था जगाउने खालको सन्देश रहनुपर्दछ । म त भन्छु यो बुद्धको राज्य हो । हरेक सरकारी र सार्वजनिक संरचनाको शिर गुम्बा आकारमा बन्नुपर्दछ । जंगल मातहतका अरु महत्वपूर्ण स्थानमा पनि यस कार्यको थालनी हुनेछ ।; दुवैतिर रेलिङ बनेर फिनिसिङ हुँदा धेरै राम्रो देखिने अध्यक्ष ठकुरीले दावी गरे ।

रेलिङ बनेपछि भित्र फुलहरुको मात्रा बढाइने र रंगिचङ्गी बनाउन त्यहाँका समुदायलाई आग्रह गरिने उनले बताए । फुलको सिंचाइको जिम्माको लागि गजेहडा भुपू सैनिक खानेपानीलाई दिएर हरियाली चार नम्बर बनाउने अध्यक्ष ठकुरी बताउँछन् ।
उक्त सडकखण्डमा गत बर्ष वडा नम्बर चारले फुल प्रजातिका विरुवा रोपेको थियो भने लाइट पनि जडान गरेर सुन्दरता थपेको थियो । तीमध्ये केहि विरुवा जागेका छन् भने कतिपय जाग्न सकेका छैनन् ।

विरुवा नभएका ठाउँमा पनि आफूहरुले हरियाली बनाउने ठकुरीले बताए । नगर र वडासंग समन्वय गरेर बाणगंगाको मुटु चार नम्बरमा थप हरियाली कायम गरिने बनले जनाएको छ । असार १४ गते विश्व वातावरण दिवसको दिन सिंचाई र वृक्षरोपण कार्यक्रम गरिने वनले जनाएको छ । रेलिङहरु बनाइसकेपछि औपचारिक कार्यक्रमबार्फत् यसबारे बताइने वनका कोषाध्यक्ष हरि पौडेलले बताए ।

कतिपयले यो थारै ठाउँमा भएकाले नगरकै सुन्दरता भर्न चार नम्बर चोकको तौलिहवा गेटबाट दाँयाँ यस्तो खाले रेलिङ बनाउनुपर्ने बताउँछन् । चोकबाट झर्नेवित्तिकै यस्ता रेलिङ बनाउन सके धेरै राम्रो हुने स्थानीयको सुझाव छ । वनले पर्यावरण संरक्षण मात्र नभएर विकास निर्माणका कामहरु पनि गरिरहेको छ ।