मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको धान दिवसः उत्कृष्ट ५ किसान सम्मानित, पञ्चेबाजासहित रोपाई !

बाणगंगाको धान दिवसः उत्कृष्ट ५ किसान सम्मानित, पञ्चेबाजासहित रोपाई !

अपि टाइम्स

कपिलवस्तु । अन्य स्थानहरुमाजस्तै बाणगंगा नगरपालिकाले पनि असार १५ अर्थात् धान दिवस मनाएको छ । वडा नंम्बर ७ को झरुवामा आयोजित धान रोपाई कार्यक्रमका क्रममा नगरको कृषि शाखाले उत्कृष्ट किसानहरुलाई नगद पुरस्कार हस्तान्त्रण तथा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो ।

पुरस्कृत हुनेमा सत्यनारायण थारु, यमलाल भुसाल, मिन बहादुर सेन, दिनामणी बेल्बासे र इन्द्रावती थारु रहेका कृषि शाखा प्रमुख लेस बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता चौधरी, वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल रेश्मी लगायत सहभागि थिए ।

कार्यक्रमको अवसरमा सांसद पंथीले मन्तव्य राख्दै नगरलाई अर्गानिक बनाउनु पर्ने बताए । नेपाली अर्थतन्त्रमा धान बालिको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले स्थानीय उत्पादनमा जैविक मलको प्रयोग गर्दै वृहत्तर बाणगंगाको सिचाईबाट किसानलाई प्रत्यक्ष लाभ दिन सक्नु पर्ने बताए ।

नगरप्रमुख अर्यालले पनि बाणगंगा धेरै हिसाबाट अघि बढेको भन्दै धान दिवसको शुभकामना दिएका थिए । पुरस्कृत हुने किसानलाई बधाई दिँदै सबै किसान दाजुभाइ दिदीबहिनीलाई कृषि कर्ममा होमिएर नगरलाई आत्मनिर्भर बनाउन आग्रह गरेका थिए । वडा अध्यक्ष गिरीले पनि धान दिवससंगै उत्पादन बढाउन जोड दिनुपर्ने बताए । यसपटकको धान दिवस आफ्नो वडामा मनाउन पाउँदा निकै खुसी लागेको उनले बताए । कार्यक्रमपछि सामुहिक रोपाई पनि भएको थियो ।

जनसेवा कृषि सहकारी संस्था लिको समन्वयमा कार्यक्रममा पञ्चे बाजासहित रोपाई गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता, कृषि शाखा प्रमुख केसीको स्वागत र कृषि शाखा अधिकृत धनिराम आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।