मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा अचेल लोडसेडिङको मारः झ्याप्प आउँछजान्छ, शाखाको फोन सधैँ ब्यस्त !

वाणगंगामा अचेल लोडसेडिङको मारः झ्याप्प आउँछजान्छ, शाखाको फोन सधैँ ब्यस्त !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा आजभोलि लोडसेडिङको मार खपिनसक्नु हुनेगरी थपिएको छ । धेरैजसो राति सुत्ने बेलामा लोडसेडिङ हुन्छ भने आए पनि झ्याप्प आउने जाने समस्या छ । दिउस पनि झ्याप्प आउने जाने समस्या उस्तै छ । नगरका धेरैजस्तो वडा र ठाउँमा यस्तो समस्या बढेको छ ।

राती धेरैपटक लाइन जाँदाआउँदा सेवाग्राही दिग्दार भएका छन् भने एसी, कुलर, पंखा, बल्बहरु, फ्रिज लगायतका अन्य विद्यूतीय उपकरणहरु बिग्रिएर हैरानी खेप्नु परेको उपभोक्ता बताउँछन् ।

शनिबार रातभर विद्यूत जाँदा त झन् धेरै समस्या आएको थियो । विद्यूत वितरण शाखा ठाकुरापुर अन्तर्गतका चार नम्बर, गजेहडा, झुँगा, बठानपुर, हरिहरपुर, वैरिया लगायतका क्षेत्रमा रातभर विद्यूत थिएन । जसका कारण धेरै सर्वसाधारण सुत्नै सकेनन् ।

कोठामा सुतेका सर्वसाधारण उठेर घरको छत र पेटीमा रातभर सुत्ने स्थिति सर्जना भएको वडा नम्बर ४ का एक जना सेवाग्राहीले बताए । उनले भने, ‘पानी परेर केहि शितल भए तापनि उम्सो भएकाले रातभर सुत्नै सकिएन । रातिमा आज धेरै गर्मी भयो । ओछ्यान बोकेर छतमा गएर सुत्नु परेको थियो । हजार पटक फोन लगाउँदा मध्यराति १२ बजे बल्ल फोन उठेको थियो, आधा घण्टापछि लाइन आउँछ भनेकोमा विहान ८ बजेसम्म पनि लाइन आएको थिएन ।

उनी थप्छन् ‘शनिबारको कुरा मात्र नभएर आजभोलि धेरै पटक लाइन जाने आउने गरेकोले थप समस्या सिर्जना भइरहेको छ । झ्याप्प झ्याप्प लाइन जाने आउने गर्दा पंख, बल्ब बिग्रिएका छन् । अन छोडेका स्विचमा एक्कासी ठुलो भोल्टेजमा लाइन आउँदा सर्ट हुने, फ्यूज जाने समस्या पनि उस्तैछ । राति लाइन आए पनि लो भोल्टेजका कारण पंखा, कुलर चल्नै सक्दैनन् । यसपछि धेरै हैरानी भएको छ ।’

संवेदनशिल क्षेत्रहरु अस्पताल, उद्योगधन्दा र कलकारखानामा पनि अनियमित विद्यूत आपुर्तिले समस्या भएको छ । यता बिभिन्न होटल, तरकारी तथा फलफुल पसलेहरु पनि फ्रिजमा राखिएका सामान विग्रने समस्याले दिग्दार रहेका अपिटाइम्सलाई बताए ।

लाइनबारे बुझ्न विद्यूत वितरण केन्द्रको नम्बरमा फोन गरेर बुझ्न खोज्दा फोन सधैँ ब्यस्त रहने समस्याले उपभोक्ता झन् समस्यामा छन् । ‘न शाखाले लाइनको अनियमित आपुर्तिबारे पूर्वजानकारी दिन्छ न सर्वसाधारणले फोन उठाएर स्पष्ट जानकारी दिन्छ । यस्तो भएपछि भएको के हो ? कतिसमयसम्म लाइन जाने हो ? थाहा नपाएपछि अलमल्लमा पर्ने गरेका छौँ’, एउटा अस्पतालका कर्मचारीले भने ‘जेनेरेटर पनि पटकपटक खोल्ने बन्द गर्ने काम भएको छ ।’

शनिबार लाइन जानुको कारणबारे वितरण शाखाले फिडर लगायतको समस्या रहेको बताएको थियो । धेरै विद्यूत खपत गर्ने उपकरणको प्रयोग बढ्नू पनि अहिलको समस्या भएको शाखाका कर्मचारी बताउँछन् । एक जना कर्मचारीले अपिटाइम्सलाई भने, ‘अहिले गर्मी भएर धेरैले एसी, कुलर जोड्नुभयो । घरमा धेरै पंखा चल्छन् । यसको कारण बढी लोड भएर फ्यूज जाने समस्याले हैरान छौँ । जसका कारण झ्याप्प आउने झ्याप्प जाने गरेको हो ।’

रातिमा शाखाको फोन रिसिभ नहुने समस्याबारे ती कर्मचारी भन्छन् ‘रातभर फोन आइरहेको हुन्छ । त्यसैले बिजी भनेको होला । बिजी गराएको होइन । एक जना कर्मचारी त रातभर नसुतिनसुति फोन उठाउने गर्नुहुन्छ । त्यहि फोन गरेको बखत उपभोक्ताले फोन लगाउनु भएको हुन सक्छ ।’

तर शाखाका कर्मचारीको यो भनाई झुटो रहेको देखिन्छ । किनकि लाइन गएर विहानभर फोन गर्दा पनि फोन सधैँ ब्यस्त रह्यो । समाचार श्रोत अनुसार लाइन गएपछि कर्मचारीले फोन उठाएर ब्यस्त मोडमा राखेर आफूहरु सुत्ने गरेका छन् ।
शनिबार राति र विहानभर फोन नउठाएका कर्मचारीले लाइन आएपछि भने तुरुन्त फोन उठाए । फोन नउठाउने नसमस्यामा कर्मचारी नै कारण रहेको यस तथ्यबाट बुझिन्छ ।

एक्कासी लाइन जानेबारेमा पूर्व सुचना दिन नसक्ने अवस्था रहेको भन्दै लामो लोडसेडिङ हुँदा जानकारी दिने गरेको कर्मचारी बताउँछन् । शनिबार राति रातभर लाइन गयो, समस्या समाधान गर्न रातभर लागिरहेका थियौँ । अब बन्छ कि, हुन्छ हुन्छ कि भन्दाभन्दै विहानसम्म बनेन, के भन्ने हामीले, उनी भन्छन् । शनिबार करिब ११ घण्टापछि लाइन आएको थियो ।