मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुहारीको विवाह गरिदिएर घनश्यामले तोडिदिए आजीवन एकल बस्ने परम्परा

बुहारीको विवाह गरिदिएर घनश्यामले तोडिदिए आजीवन एकल बस्ने परम्परा

अपि टाइम्स

कपिलवस्तु । नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भएको थियो ।
एकल बनेकी पूजा ससुरा घनश्याम पौडेल र सासू जालपासँग बसेर ८ वर्षकी छोरी हुर्काइरहेकी थिइन् । बुहारी बनाएर भित्र्याएकी पूजालाई पौडेल परिवारले छोरी नै मानेर अहिले अन्माइदिएका छन् ।

जेठा छोरा दीपकको मृत्युपछि पौडेल दम्पतीले दुई साताअघि बुहारी पूजाको विवाह गरिदिएका छन् । उनको विवाहसँगै श्रीमान्को मृत्युपछि आजीवन एकल बस्ने परम्परासमेत तोडिदिएका छन्, बुहारीको विवाह गरेर । पूजाको बिहे ससुरा घनश्यामले घरबाटै गरिदिएका हुन् ।

संयोग पनि कस्तो, पूजाको बिहे भएका दोस्रो श्रीमान्को नाम पनि दीपक पौडेल नै हो । रूपन्देहीको सैनामैना नगरपालिका रानीबगिया घर भएका ३५ वर्षीय दीपकको पनि १० वर्षकी छोरी छन् । श्रीमतीसँग सम्बन्धविच्छेद गरेका दीपक वैदेशिक रोजगारीमा माल्टाबाट फर्किएका हुन् । उनी घर आएका बेला रूपन्देहीको सालझन्डीस्थित पूजाका मावली हजुरबुबाले कुरा ल्याएर विवाह गराइदिएको घनश्यामले बताए ।

‘बिहेको कुरा ल्याउनुभयो, बुझ्दा राम्रै लाग्यो । कुरा चलाएर दुवैको विवाह गरिदियौं,’ पूजाका ससुरा घनश्यामले भने, ‘समाजलाई थोरै शिक्षा पनि होस् भनेर बेहुलालाई घर बोलाएर विवाह गराइदिएका हौं ।’ केटा पक्षका बुबा र ४र५ जना जन्ती आए । ‘हामीले टीकाटालो गरेर पठायौं,’ घनश्यामले भने । बिहेपछि पूजाले पहिले विवाह गरेर भित्र्याएको परिवारले नमुना काम गरेकोमा आफूलाई गर्व लागेको बताइन् । ‘पहिले म बुहारी भएर आए, अहिले छोरी भएर अन्मिन पाउँदा खुसी छु । आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा यो परिवारको मनैदेखि ऋणी र उत्तिकै खुसी छु,’ उनले भनिन् ।

नयाँ साथी भेट्टाएका पूजा र दीपकका दुवै छोरी पनि आपसमा मिलेर बसिरहेका छन् । पूजा पनि अब एकपटक माल्टा गएर आउन राहदानी बनाएर तयारी अवस्थामा बसेकी छन् । ‘पूजा अब छिट्टै माल्टा जाँदै छिन्,’ बुबा घनश्यामले भने, ‘हामी अहिले पनि उनलाई पूरै सहयोग गरेका छौं । नातिनीहरूको पनि उस्तै मित्रता पनि गजबको बनेको छ ।’

यसअघि चन्द्रौटाकै एक गुप्ता परिवारले पनि बुहारीलाई छोरी बनाएर विवाह गराइदिएका थिए । गुप्ता परिवारले त्यो विवाहलाई बाहिर ल्याएका थिएनन् । पूजा र दीपकको बिहेको अहिले चर्चा भइरहेको छ । नेपाली समाजमा बुहारीलाई छोरी मानेर अन्माउने काममा शिवराज नगरपालिका उदाहरणीय रहेको नगर प्रमुख अजय थापाले बताए । ‘हाम्रो नगरपालिकाले मुलुकलाई नै राम्रो सन्देश दिएको छ,’ उनले भने, ‘यसले नयाँ जग बसाएको छ ।’कान्तिपुर