काठमाडौँ ।
अभिभावकहरु, खास गरेर आमाबुवामा बच्चालाई असल बानीहरु सृजना गर्ने, उनीहरुलाई सुयोग्य बनाउने महत्वपूर्ण उत्तरदायित्व रहेको हुन्छ र सबै आमाबुवाहरुले आफ्नो बच्चा योग्य बनोस् भन्ने चाहन्छन् । तर बालनिर्माण एउटा पेचिलो प्रश्न हो । यसका लागि अभिभावकहरुमा धेरै विचारशिलता, विवेक, एवं मनोवैज्ञानिक जानकारी हुन आवश्यक छ ।
धेरै आमाबुवाहरु बच्चालाई जन्माउने, खुवाउने पियाउने, विद्यालयमा पढ्ने व्यवस्था मिलाउने मात्र नै आफ्नो उत्तरदायित्व सम्झन्छन्, यसबाट बालनिर्माणको सबै कुरा हल हुँदैन । हुन त बच्चाको विकासमा यसको पनि महत्वपूर्ण स्थान छ । बच्चामा राम्रा बानीहरु बसाल्ने, तिनमा सद्गुणको वृद्धि गरेर सुयोग्य बनाउने एउटा महत्वपूर्ण कुरा हो । यो असुरताबाट देवत्व उत्पन्न गर्ने, पशुत्वलाई मनुष्यत्वमा बदल्ने प्रकृया हो, एक सूक्ष्म विज्ञान हो । बच्चालाई प्रेम गर्ने, खेलाउने, पिलाउने, त्यसको संरक्षण गर्ने काम त पशुहरुले पनि गर्दछन् ।
बच्चामा बढ्दै गरेको उच्छिङ्खलता, अनुशासनहिनता, स्वेच्छाचारिता एवं अन्य खराबीहरुको जिम्मेवारी थोरै धेरै आमाबुवा, अभिभावकहरु उपर नै हुन्छ । अभिभावकका सामान्य देखिने गल्तिहरु, व्यवहारका सानासाना त्रुटीका कारण बच्चामा ठूलाठूला खरावीहरु उत्पन्न हुन सक्छन् । जुन कुरालाई आमा बाबुहरुले सुधार सम्झन्छन् त्यही कुरा बच्चा बिग्रनुको कारण बनेको पनि हुन सक्छ ।
बच्चालाई अनुशासित र आज्ञाकारी बनाउनको लागि अधिकांश आमाबुवाहरुले कडा नियमहरु अपनाएको देखिन्छ । उनीहरु कुनै पनि कामका लागि अधिकारपूर्वक बच्चालाई आदेश दिन्छन्, रवाफ देखाएर, दबावद्वारा बच्चाबाट कुनै काम गराउन चाहन्छन् । कुनै बेला उनीहरुको कुरामा बच्चाले ध्यान दिएन अथवा नसुने झंै ग¥यो भने बच्चालाई कुटपीट गर्न, थर्काउन, हकार्न, गाली गर्न शुरु गर्छन् । तर आमाबुवाहरुले यसबाट बच्चामा विरोधी भावना, द्वेष बुद्धिले घर बनाउँछ भन्ने कुरा बुझ्दैनन् । यसै कारण बच्चा जानीबुझी उपेक्षा, टोलमटोल गर्ने, कुनै कुरामा ध्यान नदिने अनुशासनहीन र उच्छि«ंखल बन्न पुग्दछ
यहाँ एक मध्यम वर्गीय परिवारको लागि उसको औसत स्थिति र अनुकूलतालाई ध्यानमा राखेर एउटा आचार संहिताको बोध गराउने प्रयत्न गरिएको छ । यदि यस अनुसार सबै घरका बच्चाले पालना गर्न थाले भने उसको वर्तमान स्थितिको तुलनामा केही बढी प्रगतिको सम्भावना परिलक्षित हुन सक्छ । यो
आचार संहिता यसरी कार्यान्वयन गर्न सकिन्छ
(१) दिनचर्या नित्य कर्म– प्रातः काल सूर्योदयको पहिले नै बच्चाले विस्तारा त्याग गरुन् । उठेर आफ्नो विस्तारामा नै हात जोडेर अथवा हात नजोडिकन मनैमन मंगलकामना गरुन् । यो अधिकाधिक ५–७ मिनेटको हुन सक्छ । मंगलकामना कुनै प्रकारको हुन सक्छ तर यसको भाव आज हामीले राम्रो काम गरौं, दुर्बल एवं अभावग्रस्तहरुको सहायता गरौं, कसैलाई नसताऔं, विद्या वा ज्ञान प्राप्त गरौं, संस्कारवान बनौं । हामीले आमाबुवा अन्य वृद्धजनको, गुरुजन व समाजको सेवा गरौं भन्ने हुनुपर्दछ ।
(२) मातापितालाई प्रणाम पछि अन्य वृद्धजन (आफूभन्दा ठूला) लाई प्रणाम गर्न सिकाउनुपर्दछ ।
(३) उषापान– बच्चाले मुख सफा गरेर नित्य नै उषापान गर्न सिकाउनुपर्दछ । रातीमा एक गिलास पानी भरेर राख्नुपर्दछ, सम्भव भएसम्म तामाको भाँडामा पानी भर्नुपर्दछ । यो पानी पिउनाले विशेष लाभ हुन्छ किनभने तामामा एक प्रकारको विद्युत शक्ति हुन्छ, त्यो यसको सम्पर्कमा आउनाले पिउने पानीमा पनि त्यो विद्युतशक्ति आउँछ । यो शरीर शुद्धिका लागि उपयोगी हुन्छ ।
(४) शौच सफाई र स्नान– त्यसपछि शौच निवृति, दाँत सफाइर्, मुख धुनु, आदि कृयाहरु गर्न सिकाउनुपर्दछ । आधुनिक सभ्यताको प्रसादस्वरुप बच्चामा दाँतको ब्रुसले बजारमा पाइने विभिन्न प्रकारका पेष्टहरुले सफा गर्ने बानी हुन गएको छ । प्रथमतः यो खर्चिलो छ, दोश्रो यो लाभप्रद छैन । अब विज्ञानको प्रयोगबाट यो सिद्ध भएको छ, यी पेष्टमा पाइने दाँत सफा गर्ने तत्व क्लोरो फिझा नइल या बबूलको दतिवनमा पनि बहुत हुन्छ । बबूलले दतिवन गर्नाले अर्को फाइदा पनि हुन्छ, यसको रस गलामा जानाले बच्चामा सर्दी खोकी, आदिको बिमारी सजिलैसित हुन सक्दैन । (दतिवनले दाँत सफा गरियोस् वा ब्रुसले अथवा अरु कुनै चीजले आशय यो हो, नित्य दाँत सफा गरिरहनुपर्दछ ।¬) बच्चालाई स्नान पनि दैनिक रुपले गराउनुपर्दछ । चिसोको डरले स्नान नगर्नेको तुलनामा तातो पानीले स्नान गर्न पनि कुनै हानी हँुदैन । तर यथासम्भव चिसो पानीले नै स्नान गर्ने बानी बसाल्नुपर्दछ । सधै चिसो पानीले स्नान गर्दा चिसो हुन्छ भन्ने डर कुनै ठोस आधारमा टिकेको छैन, सर्दी स्नानका कारणले हँुदैन बरु शरीरको अरु विकार एवं पेटको विमारी कब्जियत आदिबाट हुन्छ
(५) व्यायाम, आसन, प्रणायाम– यसपछि बच्चाको लागि नित्य कुनै न कुनै प्रकारको व्यायाम अनिवार्य गरिदिनुपर्दछ । घुम्नु, दौड्नु, उठ्बस, नियमानियम, योगासन, प्रणायाम, सूर्य नमस्कार आदि मध्ये आफ्नो सुविधा वा इच्छाअनुकुल कुनै पनि व्यायाम रोज्न सकिन्छ । व्यायाम चाहे अलिकति मात्रै किन नहोस् तर यसको नियमितता र निरन्तरतालाई ध्यान दिनुपर्दछ ।
(६) नास्ता– यसपछि बच्चालाई नास्ता दिने ( यदि नास्ता दिनु घरवालाले अनिवार्य नै सम्झन्छन् भने) पालो आउँदछ । नास्तामा बिना तरेको मसलाको सुपाच्य चीजहरु दिनुपर्दछ । यसो त सबैभन्दा उत्तम नास्ता ताजा दूध पिलाउनु नै हुन्छ । व्यायाम आसन प्रणायामपछि नास्ताको प्रथा चलाउनु बच्चामा त्यस्तो अभ्यासको बानी पक्का गराउनको लागि पनि उपयोगी छ । यस्तो संस्कार पनि पर्दछ, व्यायाम आसन प्रणायाम बिना कुनै खानपिन राम्रो हुँदैन ।
(७) घरमा अभ्यास– यसपछि बच्चाले कम से कम एक डेढ घण्टा सम्म अभ्यास अध्ययन गर्नको लागि अवश्य बस्नुपर्दछ ।
(८) विद्यालयको तयारी एवं भोजन – यसपछि विद्यालय जाने तैयारी गर्न सिकाउनुपर्दछ् । उनीहरुको कपडा सफा रहोस्, कपाल चिटिक्क होस्, नङ काटियोस्, सबै पुस्तक र लेखन सामग्री तयार रहुन् यो ध्यान रहनुपर्दछ । फेरि बच्चाको भोजन हुन्छ । भोजनमा बच्चालाई पुष्टिकर भोजन मन पार्ने संस्कार बसाल्नुपर्दछ, न कि स्वादिष्ट, भोजन स्वास्थ्यप्रधान होस् न कि स्वाद प्रधान ।
(९) सन्ध्याको खेल– बच्चामा साँझको समयमा कम से कम एक घण्टा चौरमा खेल खेल्ने बानी अवस्य बसाल्नुपर्दछ । खेल आफैमा एक व्यायाम पनि हो । यसमा सामूहिकताको भाव बढ्दछ र बच्चामा सामाजिक सम्बन्ध बनाइराख्ने स्वास्थ्य बानी पनि बन्दछ ।
(१०) वाचनालय पुस्तकालय— नित्य वा नित्य हुन नसके अधिकांश कम से कम एक घण्टा वा आधा घण्टाको लागि पुस्तकालयहरु वाचनालयहरुमा अवश्य जाने संस्कार बच्चामा बसाल्नुपर्दछ । त्यहाँ विभिन्न प्रकारका पत्रिकाहरु पढून् र आफ्नो रुचि अनुसार डायरीमा नोट गरुन् । घरमा नै धेरै पत्रपत्रिकाहरु मगाउने र उनीहरुलाई पढ्न दिने नै गर्नुपर्छ भन्ने विचार ठीक होइन । घरमा आउने साहित्य त पढ्छ नै तर पुस्तकालय वाचनालयबाट विज्ञान क्षेत्र विस्तीर्ण हुन्छ र विविध ज्ञान मिल्दछ ।
(११) शयन– रातीमा अधिकाधिक १० बजे बच्चालाई सुताउनुपर्दछ । बच्चालाई छिटो सुत्नु र छिटो उठ्नुको फाइदा सम्झाउनुपर्दछ । सुत्ने समयमा बच्चा हात मुख धोएर घुडासम्म खुट्टा धोएर सुतुन् । सुत्ने समयमा विस्तारामा बच्चा फेरि भावना गरुन् – हामीले आज यस्तो यस्तो राम्रा नराम्रा काम ग¥यौ, नराम्रा कामका लागि क्षमा गरुन् ।
यो आचारसंहिता एक आदर्शका रुपमा प्रस्तुत गरिएको छ, यस्मा बच्चाको उमेर, उसको शैक्षिक स्तर, घर परिवारको परिस्थिति वातावरण आदिलाई दृष्टिगत गर्दै आवश्यक परिवर्तन गर्न सकिन्ंछ । अधिक उपयुक्त त यो संहितामा आमाबाबुले विचार विमर्श गर्नु नै हुन्छ । उनीहरु सबै मिलेर सर्वमान्य नियम बनाएर त्यसलाई लागु गर्ने गरे भने धेरै राम्रो हुन्छ । यस्तो भयो भने बच्चामा हाम्रो हितमा हाम्रै सहमतीमा बनाएको हो भन्ने भाव जाग्दछ । अतः यसको पालना गर्नु हितकारी छ भन्ने बच्चाले सोच्दछ । जुन बच्चाले आमाबुवालाई सहजकर्ताको रुपमा पाउँदछन् उनीहरुले आमाबुवाको परामर्शलाई पालना गर्नमा गौरव र प्रतिष्ठाको अनुभव गर्ने गर्दछन् ।
प्रतिक्रिया