मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरेका प्रहरीले चलाएको गाडी दुर्घटनामा परेपछि..

मापसे गरेका प्रहरीले चलाएको गाडी दुर्घटनामा परेपछि..

अपि टाइम्स

कास्की । प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडी पोखरामा दुर्घटनामा परेको छ । सोमबार बिहान सवा २ बजे पोखरा महानगरपालिका– ६ शान्तिपाटन चोकको चौबाटोमा वडा प्रहरी कार्यालय बैदामको ग।१झ ५५१ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।

भ्यान सन्तोष शर्माले चलाएका थिए । भ्यानमा शर्मासँगै सुरज धिमाली र अर्का दुई प्रहरी थिए । स्थानीयका अनुसार भ्यानमा रहेका चारैजनाले प्रहरी ड्रेस लगाएका भने थिएनन् ।

दुर्घटनामा कुने मानवीय क्षति नभए पनि चोकको चौतारो भत्किएको छ । मापसे गरेर सवारी दुर्घटना गराउनेलाई स्थानीयले माग गरे पनि प्रहरीले भने घटना गुपचुप राख्न निकै प्रयत्न गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार प्रहरी भ्यान दुर्घटना भएपछि स्थानीय के भयो भन्दै भेला हुन थालेका थिए ।

स्थानीयको भिड लाग्दा प्रहरी भ्यानमा रहेका चारजना नजिकै सडकमा पार्किङ गरिएको गाडीमा आडेस लगाएर बसेका थिए । उनीहरूले मादक पदार्थ सेवन गरेको गन्धले स्पष्ट हुन्थ्यो । उनका अनुसार केही छिनपछि अर्को प्रहरी भ्यान आएर चारैजनालाई हालेर लगेको थियो ।

दुर्घटनामा परेको भ्यान भने पछि प्रहरीले क्रेनको सहायताले उचालेर अन्यत्रै लगेका थिए । स्थानीयले मापसे गरी सवारी दुर्घटना गराउनेलाई कारबाही नगरेसम्म भ्यान लैजान नदिने भन्ने अडान लिएका थिए । तर, प्रहरी भ्यानमा आएका सुरक्षाकर्मीले फोटो र भिडियो नखिच्न भन्दै दबाब दिएका थिए । स्थानीयले दुर्घटनाबाट क्षति भएको चौतारी कसले बनाउँछ भन्दै प्रहरीसँग प्रश्न गरेका थिए ।

प्रहरीले मंगलबार बिहान भएको दुर्घटनालाई गुपचुप राख्ने प्रयत्न गरेको छ । घटनापछि घटनास्थल पुगेका प्रहरीले फोटो भिडियो बाहिर ल्याए कारबाही गर्ने चेतावनी दिएका थिए । दुर्घटनामा परेको भ्यान सन्तोष शर्माले चलाएका थिए ।

वडा प्रहरी कार्यालय बैदाममा प्रमुखका रूपमा सरुवा भएर सोमबार मात्र कार्यभार सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले आफू आउनुभन्दा अघिको घटना रहेको भन्दै विस्तृतमा भन्न अस्वीकार गरे । उनले घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले समिति बनाएको र समितिले प्रतिवेदन दिएपछि मात्र सार्वजनिक गर्ने बताए ।

वडा प्रहरी कार्यालय बैदामबाट सोमबार रमाना लिएर गएका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले कामविशेषले गएको भ्यान दुर्घटनामा परेको बताए । ‘पानी लिन जाने क्रममा बाटोमा कुकुरले बाटो काटेको रै’छ, भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको बुझिएको छ,’ उनले भने । कुकुरले बाटो काट्ने क्रममा एक्कासि ब्रेक लगाउँदा काम नगरेपछि चौतारीमा भ्यान ठोक्किन पुगेको उनको भनाइ छ । दुर्घटनापछि भ्यानमा रहेकाहरू आत्तिएर भागेको उनले बताए ।