मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब सातामा चार दिन बैंकक–भैरहवा सिधा उडान हुने

अब सातामा चार दिन बैंकक–भैरहवा सिधा उडान हुने

अपि टाइम्स

काठमाडौँ । बैंकक मुख्यालय भएको थाई एयर एशियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।

‘थाई एयर एशियाले काठमाडौं र भैरहवामा उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले कान्तिपुरसँग भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो ।’

५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारीक एजेन्ट ९जीएसए० युनिर्भसल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।

भैरहवामा अहिले सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौंबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ ।

निगम अघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा–मलेसिया र कुबेतको जजिरा एयरलायन्सले कुबेतबाट उडान गरेका थिए । हाल यी दुबैले उडान स्थगन गरेका छन् ।