चन्द्रकान्त न्यौपाने
जितपुर । बाढी पहिरो लगायत मनसुनी विपद्मा परेर यो वर्ष बिहीबारसम्म १४८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसोसम्म १ सय ४८ जनाको मृत्यु भएको हो ।
बाढी, पहिरो लगायतका विपद्मा परी लुम्बिनी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढीको कारण जम्मा ३ सय ८३ घर डुबानमा परेका छन् । २ सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय १५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १ सय १२ घर परिवार विस्थापित भएका छन् ।
अर्थात् भन्न खोजिएको के हो भने विपद्को घटनाको मुख्य डरलाग्दो समयावधि सकिनै लागेको छ भन्दा पनि फरक नपर्ला । साउनको आधा महिना र भदौ महिनामा अरु थप घटना नहोलान् भन्न सकिन्न ।
मुलुकको यस्तो डरलाग्दो स्थितिकाबीच देशभरका स्थानीय तहहरुले समयमै विपद् ब्यवस्थापन र जोखिम न्यूनिकरण गर्ने, टार्ने कार्यक्रम असार महिनाको सुरुबाट नै गर्नुपर्ने हो तर कतिपय यस्ता स्थानीय तह छन् कि जसले विपद् टर्ने बेला विपद् अभिमुखीकरण लगायतका कार्यक्रम गर्दछन् ।
यहि पंतीमा आएको छ सचेत र समृद्ध मानिएको कपिलवस्तुकोबाणगा नगरपालिका । नगरपालिकाले साउनको १८ गते बल्ल सरोकारवालासंग अभिमुखीकरण कार्यक्रम गरेको छ । त्यो पनि एउटा आइएनजिओले झस्काएपछि अभिमुखीकरण भएको हो । अर्थात् युनिसेफसंगको सहकार्यमा यो कार्यक्रम भएको थियो । साउन १८ गतेदेखि २२ गते सम्म अब सवै वडाहरुमा विपद् तथा जलवायु उत्थानशील योजनाका लागि छलफल गर्ने तालिका छ ।
अभिमुखीकरण कार्यक्रममा वाणगंगा नगरपालिकामा गठित विपद् व्यवस्थापन समिति, स्थानीय राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, पत्रकार लगायतलाई बोलाइएको थियो । अभिमुखीकरणको अध्यक्षता गरेका नगर प्रमुख चक्रपाणी अर्यालले विपद् व्यवस्थापनको ऐन कार्यान्वयन गर्दै सबैको समन्वय र सहकार्यको महत्त्वलाई जोड दिए । विपद् सबैको साझा समस्या भएकोले स्थानीय स्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विपद् आपतकालिन अवस्था आउने भएकाले यसको पूर्व तयारी, सचेतीकरण र व्यवस्थापन गर्दै समुदायलाई कृयाशिल बनाउदै लैजाने विषय भएको स्पष्ट पारे । नगरले २०७६ सालमा निर्माण गरेको विपद् तथा जलवायु उत्थानशील योजनालाई ११ वडामा पुर्याउने तालिका छ ।
नगरले अभिमुखीकरण कार्यक्रम गर्नु नराम्रो होइन । केहि नहुन भन्दा यसले आगामी दिनमा हुने जोखिम न्यूनिकरणको लागि केहि नै केहि राम्रो नै गर्ला तर नगरले गरेको यो अभिमुखीकरण ढिला भएको हो कि भनेर सरोकारवालाले आलोचना गरेका छन् । कतिपयले नगरले गरेको यो कार्यक्रम बेमौसमको बाजा रहेको अर्थमा लिन्छन् ।
केहि समयअघि आएको अविरल बर्षाले बाणगंगाबासीलाई समस्यामा पारेको थियो । अहिले मानिसको ज्यान गएको घटना नभए पनि केहि बर्ष अघि कोइली खोलाले विद्यूतको जिप बगाउँदा ३ जनाको मृत्यु भएको घटनाले अहिले पनि बाणगंगा बासीलाई विक्षिप्त बनाउँछ । यसअघि समयमा विपद् जोखिम न्यूनिकरणमा काम नहुँदा यहाँ धेरै ब्यक्तिले ज्यान गुमाइसकेका छन् । असार महिनाबाटै बाणगंगा नदी तटिय क्षेत्रका जनतााम विपद्को जोखिम बढ्छ ।
किनकि पहाडमा ठुलो बर्षा हुँदा बाणगंगा, कोइली लगायतका साना ठुला खोला उर्लन्छन् । त्यसैले ढिलोमा पनि असार महिनाको १५ बाटै विपद् जोखिम न्यूनीकरणको तयारी आवश्यक देखिन्छ । यस बर्ष पनि असार महिनाको अन्तिमतिर लगातार ३ दिन बर्षा भयो, त्यतिखेर बिभिन्न खोला बढे ।
कतिपय ठाउँमा डुवान भयो । विपद् र जोखिमबाट कसरी बच्ने भन्ने ज्ञान नपाउँदा कतिपयले समस्या झेलका थिए । अहिले पनि यो समस्यामा डुवान हुने क्षेत्र र नदी तटिए क्षेत्रका मानिसहरु छन् । बाणगंगा नदी कतिखेर उर्लेर आउँछ ? पूर्व जानकारी दिने प्रविधि पनि नगरमा छैन । अन्य साना ठुला खोला पनि यसैगरी उर्लन्छन् । यसले किनारमा बस्ने नागरिकमा समस्या निम्त्याउँछ । तसर्थ नगरपालिकाले यस्ता कार्यक्रम गर्दा समयमा नै गर्नुपर्ने गरेर जनतालाई सचेत गराउनु पर्ने सरोकारवाला बताउँछन् ।
नगरका अधिकारीहरुले नगरमा विपद्को ठुलो जोखिम नभएको अर्थमा यस विषयलाई त्यति गहिरो रुपमा लिन पनि खोज्दैनन् । कार्यक्रममा उनीहरुको दावी हुन्छ कि, ;प्राकृतिक विपद र जोखिमबाट बाणगंगा सुरक्षित छ ।’ तर उनीहरुलाई यो हेक्का छैन कि विपद् बाजा बजाएर आउँदैन । विगत्मा भएका क्षतिले यस कुरालाई उजागर गर्दछन् ।
प्रतिक्रिया