मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधी रहेका भारतीय नागरिकले २ बर्षसम्म सिफारिस गरेका नागरिकता वैध कि अवैध ?

जनप्रतिनिधी रहेका भारतीय नागरिकले २ बर्षसम्म सिफारिस गरेका नागरिकता वैध कि अवैध ?

अपि टाइम्स

कपिलवस्तु । नागरिकता सिफारिस गर्ने जनप्रतिनिधी नै भारतीय नागरिक भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिका भित्र समस्या सिर्जना भएको छ । शुद्धोधन गाउँपालिका ४ का वडा अध्यक्ष रामनरेश अहिरको भारतीय नागरिक भएको हालै मात्र सार्वजनिक भएपछि उनले २ बर्षको अवधिमा गरेको नागरिकता सिफारिशमा समेत आशंका सिर्जना भएको हो ।
उनले २ बर्षसम्म गरेका नागरिकताको वैधताबारे पनि प्रश्न उठ्न थालेको छ ।

३ महिना अघि मात्रै भारतमा भएको लोक सभा निर्वाचनमा वडा अध्यक्ष रामनरेशले सिद्धार्थनगर जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र अन्र्तगत बर्डपुर पंचायत रामभारी बुथबाट मतदान समेत गरेका छन् । उनले दोहोरो नागरिकता लिएको र नेपाली नागरिकता बनाउदा मामा पर्ने बाबुराम अहिरको छोरा बनेर वंशजको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ ।

स्थानीयबासी श्याम अहिरले असार ९ गते प्रशासन कार्यालयमा नागरिकता छानबिन गर्न उजुरी दर्ता गराएका थिए । उनका अनुसार भारतको सिद्धार्थनगर बर्डपुर बस्ने जयराम अहिरको छोरा रामनरेश अहिरले झुठा विवरण दिई नेपाली नागरिकता प्राप्त गरेको भन्दै नागरिकता बदरको निवेदन दिएका थिए । “उनी भारतीय नागरिक नै हुन् अरु थुप्रै भारतीयको झुठा विवरण बनाउदै नागरिकता सिफारिश गरिरहेका छन् तत्काल कारवाही गर्नुपर्छ” उनले भने ।

राम नरेशको मात्र नभइ उनकी श्रीमती सुभावती, छोरा मुकेश यादव, उनकी बुहारी सुमन यादवको समेत भारतीय मतदाता परिचयपत्र रहेको छ भने भारतीय राशनकार्डमा उनका परिवारको सम्पूर्ण विवरण उल्लेख छ ।

तत्कालिन विठुवा गाविसबाट नागरिकता लिएका रामनरेश त्यहा नेपाली कांग्रेसबाट वडा अध्यक्ष छन् । तत्कालिन कांग्रेसी नेता प्रितम पाण्डेको दबाबमा उनले नागरिकता पाएको स्थानीय बताउछन् ।

उजुरी लगत्तै जिल्ला प्रशासन कार्यालयले वडाअध्यक्ष रामनरेश अहिरको नागरिकता छानबिन सुरु गरेको बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले छानबिन कार्य अघि बढाएको र उसले प्राप्त गरेको नागरिकता अभिलेख र कागजात अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई खटाएको बताएका छन् ।

यता वडाअध्यक्ष रामनरेश भने उजुरी कर्ता आफन्ती रहेको र जग्गा विवादका कारण दुखः दिने मनसायले उजुरी हालेको दाबी गर्दछन् ।

वडा अध्यक्ष रामनरेशको दोहोरो नागरिकता तथा झुठा प्रमाण पेश गरि नेपाली नागरिकता लिएको भन्ने उजुरी छानबिन अघि बढेपनि दबाबहरु ऋाउन सुरु भइसकेको श्रोतको भनाई छ ।

अधिकांश नागरिकता सम्बन्धि उजुरीहरु छानबिनकै क्रममा दबाब आउने र मुद्धा टुंगोमै नपुगी त्यसै थन्किने गरेका छन् । कपिलवस्तुमा आ।ब। २०८०र८१ मा मात्रै २२ वटा नागरिकता सम्बन्धी उजुरी परेको थियो । सबै छानबिनकै क्रममा छन् तर कुनै पनि टुंगोमा भने लागेको छैन ।

सबै उजुरी भारतीय नागरिकले झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको, दोहोरो नागरिक भएको भन्दै उजुरी परेको छ । “प्रमाण सहित पेश भएको उजुरी छानबिन गर्दै जादा भारतीय पक्षले त्यसबारे कुनै जवाफ दिदैन त्यसैले टुंगोमा पुग्न सकिएको छैन” प्रजिअ अर्यालले भने । “यसबारे गृह मन्त्रालय मार्फत नै भारत संग नितिगत संवाद गर्न आवश्यक देखिन्छ” उनले भने ।