मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले बाणगंगाको अध्यक्षमा ४ जनाको चर्चा, अर्याल र शाही मुख्य दावेदार !

एमाले बाणगंगाको अध्यक्षमा ४ जनाको चर्चा, अर्याल र शाही मुख्य दावेदार !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । नेकपा एमाले बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन आगामी भदौ ७ गते हुँदै छ । सिद्धार्थ क्याम्पसको सभाहलमा हुने अधिवेशनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने छन् ।

अधिवेशनको लागि नगरले बिभिन्न उपसमिति बनाएर भदौ १ गते ११ बजे ११ वटै वडामा प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न हुने कार्यतालिका पनि बनाएको छ । नगर कमिटीका सचिव विष्णु गिरीका अनुसार अधिवेशनमा झण्डै २ सय ११ प्रतिनिधिहरू सहभागी हुने छन् ।

अधिवेशनको तयारी भइरहँदा अबको नेतृत्व कसले गर्ने भन्ने पनि चासो बढ्दै गइरहेको छ । नगर कमिटीमा उपसचिव बाहेक सबै जिल्ला कमिटीमा निर्वाचित भइसकेका हुनाले यसपटक नयाँले नगरको जिम्मेवारी पाउने निश्चित छ । तर कसले अध्यक्ष पदमा बाजी मार्छ ? सर्वसम्मत या चुनाव के हन्छ ? त्यसको भने सबैमा चासो छ । अपिटाइम्सलाई प्राप्त सुचनाअनुसार अध्यक्ष पदको लागि ४ जनाको नाम चर्चामा छ ।

माओबादीबाट एमालेमा प्रवेश गरेका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल, शिक्षकको जागिरे भएर पेन्सनधारी भएका गजेहडाका मदन शाही, मनकामना सामुदायिक वनमा अध्यक्ष भइसकेका राजपुरका अमित पौडेल र पाका नेता चेत नारायण भण्डारीले अध्यक्षमा दावी गरिरहेका छन् ।

चेतनारायण भण्डारीले रोलक्रमले आफूले अध्यक्ष पाउने निश्चत भएको बताए पनि भण्डारींमा संगठनात्मक ज्ञान राम्रो भएकोले सचिवमा बस्दा राम्रो हुने भन्दै नेताहरुले मनाउन खोजिरहेको समाचार श्रोत छ । तर भण्डारीले अन्तिमसम्म अध्यक्षमा अडिग रहने बताइएको छ ।

कमिटीविहिन भएँ भन्दै अमित पौडेलले आफूले अध्यक्ष पाउनुपर्ने माग राखेका छन् । यता शाहीले पार्टीमा लामो लगानी भएको र सम्पूर्ण युवाको माग पनि आफूमाथि भएको बताउँदै अध्यक्षको स्वभाविक उम्मेदवार आफू भएको बताउँछन् ।
यी तिन नेताले यसरी दावी गरिरहँदा सोमनाथ अर्याललाई कसरी मनाउने पार्टीमा सकस छ ।

माओवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्दा पनि निवर्तमान पार्टी अध्यक्ष डम्बर शर्माले आगामी अधिवेशनबाट नगरको जिम्मेवारी दिने बचन दिइसकेकाले अर्याललाई थमथमाउन नेताहरुलाई सकस छ । यसो भएपछि अबको अध्यक्ष पाउने भन्दै अर्याल ढुक्क भएर बसेका छन् ।

तर जसले जे भने पनि अन्तिम अवस्थामा भने एमाले बाणगंगा नगर अध्यक्षमा मुख्य रुपमा २ जनाको प्रमुख दावेदारी रहने पक्का छ । ती भनेका अर्याल र शाही हुन् । अहिलेसम्म दुवै जना बराबर हैसियतमा रहेकाले के हुन्छ भन्न सकिने स्थिति छैन, एक जना नेताले अपिटाइम्सलाई भने, ‘अमित जिमा नेतृत्वको अभाव छ, भण्डारीलाई सचिवमै राख्ने हो सकेसम्म । अध्यक्ष जो भए पनि भण्डारीजस्तो राम्रो लेखापढी र ज्ञान भएको मान्छे संगठनमा चाहिन्छ । त्यसकारण अर्याल र शाहीमध्ये एक जना अध्यक्ष बन्ने लगभग निश्चित छ ।’ पार्टीले सर्वसम्मत प्रयास गर्ने र नभए चुनावमा जाने उनले बताए ।

यता पार्टीपंती अर्यालप्रति नरम भए पनि कतिपय नेता कार्यकर्ताले बाहिरबाट आएका भन्दा पार्टीमै योगदान दिएका ब्यक्तिलाई नगर अध्यक्ष बनाउनु पर्ने भन्दै शाही पक्षबाट लविंग गरिरहेकोले शाही र अर्यालमा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

एक जना नेता भन्छन्, ‘शाही पार्टीलाई योगदान दिएको युवा जुझारु नेता हो तर उहाँ शिक्षक पेशाबाट अवकाश प्राप्त ब्यक्ति भएकाले सोमनाथ जिलाई अध्यक्ष बनाउने पक्षमा धेरै नेता छन् । पहिले आश्वासन पनि दिएकाले नैतिक रुपमा शीर्ष नेतालाई पनि अर्यालको पक्षमा नरम हुन बाध्यता रहेको छ।’

अर्कोतर्फ चेतनारायाण् भण्डारी पनि माओवादीबाटै एमाले प्रवेश गरेका ब्यक्ति भएकाले अध्यक्ष र सचिव दुवैमा पूर्वमाओवादी नेता पर्नुले एमालेकै राजनीतिमा जिउज्यान दिएकामाथि अन्याय हुने कतिपयको भनाई छ । किनकि अध्यक्षमा अर्याल भए सचिवमा भण्डारीलाई राख्ने नेताहरुको आन्तरिक सहमति छ । यसो भयो भने पूर्वमाओवादी नेतामा एमाले बाणगंगा हिँड्नु पर्नेछ । तर नेतृत्वले भने विगत भुलेर संगठनलाई एकतावद्ध बनाउनु पर्ने बताउँछन् ।

२९ गते मंगलबार बसेको नगर कमिटीको वैठकले पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिने सचिव गिरीले बताए । गिरीले शीर्ष नेताको जोड पनि सर्वसम्मतिबाट नेतृत्व गर्ने रहेको जानकारी दिए । गिरीले अन्तिम वैठकमा आफ्नो कार्यकालको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । सो वैठकमा पार्टीका शीर्ष नेताहरुको पनि सहभागिता थियो ।