मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविहरु लक्षित शंकर पोख्रेलको स्टाटसः पपुलिष्टहरूले संकट समाधान गर्न सक्दैनन्

रविहरु लक्षित शंकर पोख्रेलको स्टाटसः पपुलिष्टहरूले संकट समाधान गर्न सक्दैनन्

आजको संकटको समाधानमा सबैपक्ष जिम्मेवार भएर जुट्नुपर्छ

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुत भएको र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसुबमा लामो स्टाटस लेख्दै उनले पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन नसक्ने ठोकुवा पनि गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’

महासचिव पोखरेलले क्रान्ति र समाज परिवर्तनको नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न भएको र समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको आरोप पनि लगाएका छन् ।

उनले आमरुपमा राज्य, संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज रहेको पनि बताएका छन् ।

देशमा कायम रहेको राजनीतिक अस्थिरता र आर्थिक(सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेको भन्दै पोखरेलले त्यसप्रति चनाखो हुनु पर्ने बताएका छन् ।

लामै स्टाटसमा उनले लेखेका छन्

समस्या केन्द्रीत सामाजिक बहस र समाधान केन्द्रीत राजनीतिक पहलको खाँचो :

समाज परिर्वतन उत्पादक सम्वन्ध र उत्पादक शक्तिसँग जोडिएको विषय हो । राजनीतिक परिर्वतनले स्थापित गरेको नयाँ उत्पादन सम्वन्धलाई सुदृढ गर्न सकिएन भने प्रतिक्रान्तिको जोखिम सदैव रहन्छ । उत्पादक शक्तिको तिव्रविकास भएन भने नयाँ उत्पादन सम्बन्धको निर्माण गर्न सकिँदैन । क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न हुने गर्दछ ।

आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुतहुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृष्य हो । पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन । उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।

आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रुपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मुल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभलिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो । सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ । वैध व्यापार व्यवसायमा गिरावट आएको छ । राजश्वमा गिरावट आएको छ । आर्थिक रुपमा मुलुक मन्दीको अवस्थातर्फ उन्मुख छ । यस्तो अवस्थामा राज्यको ध्यान जुनरुपमा संकट समाधानमा केन्द्रीत हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।

आर्थिक समाजिक व्यवस्थामा संकट उत्पन्न भएका बेलामा राजनीति त्यसबाट अछुतो हुन सक्तैन । राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्‍याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रीत गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिबाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रीत छलफल र बहसबाट भाग्ने कोशिस भइरहेको छ ।

ठिक यहीबेलामा राजनीतिक अस्थिरता र आर्थिक-सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेका छन् । उनीहरु नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उद्देश्यमा केन्द्रीत देखिँदैछन् । यस्तो अवस्थामा नेपाली समाजको अन्तरद्वन्द्वका कारणले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा नपरोस् भन्नेकुरामा हामी सबै विना कुनै पूर्वाग्रह जिम्मेवार र गम्भीर हुनु आवश्यक छ ।

त्यसैले आजको संकटको समाधानका लागि समाजका सबैपक्ष जिम्मेवार भएर समस्या केन्द्रीत सामाजिक बहस र समाधान केन्द्रीत राजनीतिक अभियानमा जुट्नुपर्ने भएको छ ।