चन्द्रकान्त न्यौपाने, जितपुर ।
नेकपा एमाले कपिलवस्तुका शीर्ष नेताबीच कतिसम्म अन्र्तद्धन्द छ भन्ने कुरा फेरि एकपटक उदांगो भएको छ ।
बाणगंगा नगर अधिवेशनबाट मदन शाहीको नमिठो हार र सोमनाथ अर्यालको सानदार जितबाट पार्टीभित्रको गुट छताछुल्ल भएको हो । एमाले भित्रको आन्तरिक जीवन यति जिर्ण छ कि कार्यकर्ताले धन्न पार्टी जोगाएका छन् ।
शीर्ष नेताजस्तै तल्लो तहका कार्यकर्ता हुँदा हुन् त यतिखेर पार्टी दुईतिन कित्तामा विभाजन भइसकेको हुन्थ्यो । सिमित नेताबाहेक कपिलवस्तुमा एमाले नेता र कार्यकर्ता ‘मुटुमाथि ढुंगो राखी हाँस्नु परेको छ’ भन्ने गीतमा भनिए जस्तै ‘मुटुमाथि ढंगा राखेरै हासिरहेका छन् ।’ पार्टी छोडौँ सकिन्न, नछोडौँ थिलो थिलो परेको पार्टीको.आन्तरिक जीवन देखेर वाक्क, दिक्क प्याक्क छन् ।
चुनाव हुनु, हारजित हुनु लोकतन्त्र र पार्टी अभ्यासमा सामान्य विषय हो । तर चुनावभित्रको हार र जित कुन हदसम्म हुन्छ भन्ने कुराले अर्थ राख्दछ । मदन शाही हार्न सक्दछन् भन्ने अनुमान सबैको थियो तर यसप्रकारको लज्जास्पद हार होला भनेर सायदैले अनुमान गरेका थिए ।
२०७ पर्टी प्रतिनिधिमा खसेको २०५ मतमा मदन शाहीले जम्मा ५४ मत हासिल गरे । अर्यालसंग शाहीको मतान्तर ९२ मतमा भयो । यसैलाई सबैले आश्चर्यको रुपमा हेरेका छन् । यसैलाई नेताकार्यकर्ताले अप्रत्यासित मानेका हुन् । यसैकारणले एमाले भित्रको गुटको भुङ्ग्रो शाही परे भनिएको हो ।
किन यस्तो भयो ?
कसैले माने पनि नमाने पनि अहिले एमालेमा नयाँ गुट छ । त्यो भनेको झविलाल पोख्रेल र डम्बर शर्मा गुट हो । कुनै समय एउटै गुटमा रहेर बलराम अधिकारी, विमला घिमिरे, विष्णु पन्थीसंग दुरी बढाएका शर्मा र पोख्रेल यसरी छुट्टाछुट्टै गुटमा विभाजित होलान् भनेर कसैले अनुमान गरेका थिएनन् । तर केहि महिना अघि सकिएको एमालेको जिल्ला अधिवेशनबाट उनीहरुबीचमा दुरी बढेको थियो । झविलाल पोख्रेल गेम चेञ्जर बन्दा डम्बर शर्माले दोश्रो पटक पाउन लागेको एमाले जिल्लाको सत्ता नै गुमाउनु परेको थियो । झविकै कारण शर्माबाट बाबुराम खनालमा जिल्लाको सत्ता पुग्यो । बाबुरामले जित्नुका अर्का कारणमा विष्णु पन्थी पनि पर्दछन् ।
बदला लिने शर्माको रणनीति र बाध्यता
जिल्ला हारेको पीडामा रहेका शर्मा पक्षधरको रिस अझै मत्थर भएको देखिदैन । त्यसकारण मौका पाउनासाथ शर्मा पक्ष बदला लिने दाउमै देखिन्छन् । एमालेको जिल्ला अधिवेशनपछि जिल्लामा पोख्रेल, विष्णु पन्थी गुट बलियो देखिएको छ भने केन्द्रमा डम्बर शर्मा गुट हावी छ । डम्बर शर्मातर्फ भूमि सुधार मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभाउपाध्यक्ष विमला घिमिरे, विश्राम प्रसाद चौधरी पनि रहेको बताइन्छ । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे अचेल गुटमा नदेखिए पनि उनको लिगेसीले अझै पनि काम गरिरहेको बतिपय बताउँछन् ।
विविध कारणले जिल्ला गुमाए पनि अरु गुमाउन नहुनेमा डम्बर शर्मा गुट अचेल क्लियर छ । त्यसैले उनीहरुले अघोषित रुपमा सोमनाथ अर्याललाई बोकेर हिँडे । अर्याललाई बोक्नुको पछि डम्बर शर्मामा अर्को बाध्यता पनि थियो ।
७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ११ को वडा अध्यक्ष बनिसकेका तथा शालिन नेताको छवि बनाएका सोमनाथ अर्याललाई तानेर एमालेको दक्षिण क्षेत्र बलियो बनाउने ध्येयले एमालेका तत्कालिन अध्यक्ष डम्बर शर्माले अर्याललाई पार्टी प्रवेश गराएका थिए ।
७९ को चुनावमा अर्यालले केहि पाएनन् । जिल्ला अधिवेशनमार्फत् पनि अर्यालले अवसर पाएनन् । त्यसपछि शर्मा लगायतले अर्याललाई नगरको नेतृत्वमा लैजाने मोटामोटी सहमति गरेका थिए । नभए पनि कहिँ न कहिँ त सोमनाथलाई ब्यवस्थापन गर्नै पर्ने थियो । त्यहि अनुसार डम्बर शर्मा लगायतका नेता अर्याल पक्षतिर लागे ।
मदन शाही नगरमा अध्यक्षको उम्मेदवार बन्छन् भन्ने कुरा अधिवेशन नजिकिएपछि मात्र थाहा भयो । तर अर्याललाई भने जिल्ला अधिवेशन पछि नै थाहा थियो कि नगरको अध्यक्षमा सर्वसम्मत चुनिन्छु होइन भने पनि चुनाव फेस गरेर भए पनि अध्यक्ष बन्छु ।
सोमनाथमा यो खालको आत्मविश्वास आउनुको कारण थियो, त्यहि शीर्ष नेताको आश्वासन र वचन । नभन्दै उनीहरुले सोमनाथलाई बोकेर हिँडे । बोकेनन् मात्र जिताएरै छाडे ।
नेताहरु भन्छन् कि, ‘अब शर्मा कित्ता जिल्लका नगर अधिवेशनमा यसैगरी जिल्लानेतृत्वसंग बदला लिने दाउमा छ ।’
जिल्ला जितेको दम्भ
झविलाल पोख्रेल, बाबुराम खनाल गुटलाई भने के कुराको दम्भ थियो भने, ‘अब जिल्ला बलियो भयो, जिल्लामा हामी सफल भयौँ । हामीलाई जिल्लामा अब कसैले हल्लाउन सक्दैन ।’ त्यसपछि अधिवेशन नजिकिँदै गर्दा उनीहरुमा उम्मेदवारको खोजी पनि भयो । त्यसै क्रममा भेटिएका थिए मदन शाही ।
पढेलेखेका, शिक्षित, पार्टीमा लामो योगदान दिएका मदन शाही शीर्ष नेताबाट नै खोजीमा परे पछि उनले दायाँबायाँ सोचेनन् । भर्खर शिक्षण पेशाबाट अवकास प्राप्त गरी खाली बसेका शाहीलाई यो भन्दा ठुलो मौका अरु हुन सक्दैनथ्यो । त्यसैले शाहीलाई ‘के खोज्छस् कानो आखो भनेझैँ’ भयो र उनले पनि हस् भने । जिल्ला अधिवेशनपछिको स्थिति बुझ्नतर्फ शाही लागेनन् । झवि पोख्रेल, बाबुराम खनालहरु आफूतर्फ भएपछि ढुक्क बनेका थिए शाही । केहि नेताले अहिले सोमनाथलाई छाडिदिन आग्रह गरे पनि उनले मानेनन् । केहि युवाहरुले पनि हामी साथमा छौँ भनेर उराले तर अन्तिममा शाहीलाई धोका दिए ।
शक्ति केन्द्र नै अर्यालतिर
वडा नम्बर २, ७, ८ जस्ता एमाले पकड एरियामा चल्ने नेताहरु विश्व कार्की, वडाअध्यक्षद्धय विष्णु गिरी, बाबुराम अर्यालहरु भित्रभित्रै सोमनाथलाई जिताउन लागेको शाहीले भेऊ पाएनन् । पार्टी भित्रको राजनीति नबुझ्ने र रणनीति नजानेका पात्र त होइनन् शाही तर उनले यसपटक त्यो रणनीति बुझ्नै सकेनन् । त्यसैले झविलाल पोख्रेलहरुले जेजे भने शाहीले मानिरहे ।
वडा नम्बर ४ का छवि रेश्मीबाहेक अन्य वडाका चल्तीका कुनै नेताले पनि शाहीलाई खुलेर समर्थन गर्न सकेनन् । रेश्मी पनि खुलेनन् तर उनी शाहीकै पक्षमा थिए । बाहिर शाहीमाथि नरम देखिए पनि उनीहरु भित्रभित्रै सोमनाथको पक्षमा लागेका नेताहरु बताउँछन् । रुपमा हेर्दा शाहीप्रति युवा समर्थन छ कि जस्तो पनि देखिन्थ्यो तर सारमा भने शाही युवाको रोजाईमा परेनन् । धेरैले सोमनाथलाई मत जाहेर गरे ।
३ र ४ नम्बर वडामा ढुक्क भएर बसेका शाहीलाई पकड मानिएका यी वडाबाट पनि मत आएन भने अरु वडामा त अर्यालले नै लपेटेको चुनावी नतिजाले पुष्टि गर्दछ ।
एउटै वडाका भएर पनि नगर प्रमुख चक्र अर्यालको मौखिक आश्वासन पाए पनि भित्रभित्रै भने उनले पनि शाहीलाई साथ नदिएको पाइयो । किनकि ४ र ३ नम्बर वडाबाटै शाहीको पक्षमा मत कम खसेको थियो । अन्य वडाका शाही पक्षका नेता पनि भित्रभित्रै हराउन लागेको बताइन्छ । यसकारण पनि शाहीले यस्तो पराजय भोग्नु पर्यो ।
जिल्लामा झविलाई विश्वास गरेकाहरुले नै अर्याललाई मत खसाले
जिल्ला अधिवेशनमा जजसले झविलाल पोख्रेललाई समर्थन गरेका थिए बाणगंगामा भने त्यो देखिएन । विष्णु पन्थी पनि अघोषित रुपमा सोमनाथ अर्यालतर्फ ढल्किएको बुझिन्थ्यो । जब कि उनले जिल्ला अधिवेशनमा पोख्रेल खेमालाई सघाएका थिए । उनी नै भित्रभित्रै अर्यालको पक्षमा लागेपछि शाही पछारिनुमा अर्को कारण रह्यो । झविलाल पोख्रेललाई समर्थन गरेकाहरुले नै अर्यालको बाकसमा मत खसाल्दा शाहीको नराम्रो पराजय भएको अहिले आएर नेताहरुले बुझेका छन् । त्यसैले शाही एउटा गुटको शिकार भए भन्दा फरक पर्दैन ।
यता शाहीलाई अर्को भ्रम पनि भयो कि डम्बर शर्मा लाइनबाट पनि पूर्ण साथ पाउँछु । यस्तो विश्वास हुनुमा उनी पार्टीमा लामो समय लागेका थिए । उनकी पत्नी पनि एमालृेको निकै सक्रिय महिला नेतृ हुन् । केहि नेता पकडमा ल्याउने तागत उनमा पनि थियो । सिद्धार्थ सामाजिक विकास संस्थासंगको आवद्धताले डम्बर शर्मा पक्षका मत तान्न सकिन्छ कि भन्ने झिनो आशा त्यता पनि थियो मदन शाहीको ।
माओवादीबाट आएका हुनाले एमालेमै सक्रिय नेतालाई कार्यकर्तालाई चुनावमा प्रतिनिधिले बुझेर आफूलाई मत खसाल्न सक्दछन् भन्ने विश्वास पनि शाहीमा थियो । तर यी सबै कुरा अनुमानभन्दा विपरित भए । यता अर्याल भने ढुक्क थिए चुनाव जित्नेमा, किनकि उनमा ठुला ठुला रुखको छायाँ थियो ।
अर्यालको सामाजिक योगदान र नम्रता
हुन त शाही समाजका हरेक समस्यामा काँध थाप्ने नेता हुन् । समय रहेर भ्यायसम्म शाहीले जनताको सुखदुखमा साथ दिएकै हुन् तर त्यो भन्दा बढी अर्याल नगरमा भिजेका नेता मानिन्छन् । वडा नम्बर ११ को वडा अध्यक्ष भएपछि नगरभरीका जनता चिन्ने मौका उनले पाएका थिए । शिक्षक भएकाले यो मौका थिएन शाहीलाई ।
शाही शिक्षक पेशाबाट निवृत्त भएको केहि समय मात्र भएको थियो । यता माओवादीबाट एमालेमा आए पनि अर्यालले शाहीले भन्दा धेरै नेताकार्यकर्ता चिनिसकेका थिए ।
अध्यक्षमा चुनिइसकेपछि अर्याल भन्छन्, ‘मेरो जितको कारण मेरो स्वभाव र सबैसंग मिल्ने बानी, नम्र ब्यावहार र जनताको सुखदुखमा हरदम रहनु हो जस्तो लाग्दछ । उनले थपे, ‘कुन नेताले बोके बोकेनन् मलाई थाहा छैन, एमालेमा गुट छ भन्ने मलाई लाग्दैन । मलाई एमालेमा कटिवद्ध नेताकार्यकर्ताले साथ दिनु भयो । प्रतिनिधिले मत खसाले जितेँ । यो नेता त्यो नेता भन्ने मलाई थाहा छैन । म एमाले हुँ । एमालेले जितायो । शाही पनि हार्नुभएको होइन उपविजेता हुनुभएको हो ।’
जित हासिल गरेपछि अर्यालले जनतासंग ठोक्किएका कुराहरु स्मरण गरे । उनले थपे, ‘वडा अध्यक्ष पद सकिएपछि जनताको घरघरमा छु । जनताका सुखदुखमा छु । एमालेमा प्राण भरेको छु । कहिले कसको दुखमा कहिले कसको पीडामा नगरभरी पुगेकै छु । नेताकार्यकर्ताको दुखसुखमा पुलिस, प्रशासन अड्डा अदालत पनि धाइरहेकै छु । सायद यसैकारण मैले चुनाव जितेको हुनुपर्दछ ।’
‘म पूर्व माओवादी हुँ । अहिले एमाले छु । तर मलाई कुनै एमालेका नेताले माओवादीबाट आएको हो भन्ने साघुँरो सोचाई राख्नु भएन । मैले पनि त्यहि अनुसार ब्यावहार गरेको छु । त्यसैको फल पनि यो जित हो जस्तो लाग्दछ’, अर्यालले थपे ।
तुलनात्मक रुपमा अर्याल नगरमा जति भिजेका छन् त्यति शाही भिज्न नसकेको हुनाले पनि अर्यालले जितेको नेताकार्यकर्ता बताउँछन् ।
मतदातामा आएको परिवर्तन र चेत
बढ्दो राजनैतिक नैरास्यताको प्रभाव मुलुकभरका नेता कार्यकर्तामा परिरहेको छ । यसको प्रभाव कपिलवस्तुमा पनि सबै दलका नेताकार्यकर्तामा परेको देखिन्छ । तर अब ठुला नेताको पंजाबाट कार्यकर्ता उम्कँदै छन् भन्ने कुराको प्रमाण एमालेका निर्वाचनले देखाइरहेको छ । कुनै समय थियो नेताले जे भन्दछन् त्यहि मान्नु पर्ने ।
तर अचेल एमालेका नेता कार्यकर्तामा चेत पलाउन थालेको देखिन्छ । जिल्ला अधिवेशनमा पनि त्यो खालको चेत देखियो भने नगर अधिवेशनमा पनि नेताले जताजता भन्दछन् त्यता मत खसेन । प्रतिनिधिमा यस्तो खालको चेत हुँदैनथ्यो भने जिल्ला अधिवेशनमा झविलाल पोख्रेलतिर मत खसालेका सबैले अहिले मदन शाहीमा मत खसाल्न सक्दथे । उनैले भनेको मानेका हुन्थे सबैले भने यो खालको नमिठो हारको पीडा शाहीले खेप्नु पर्दैनथ्यो ।
तर गुटभन्दा माथि रहेर अहिले मत क्रस भयो । यसको मतलब नेताकार्यकर्ताले उम्मेदवारको कुण्डली हेर्न थालेका छन् । एमाले भइसकेपछि अर्यालमा पूर्वमाओवादी हो भन्ने कुरा पनि मतदाताले बिर्सेको देखिन्छ जब कि केहि ब्यक्तिले पूर्व माओवादी भनेर पनि मत खसाल्न नहुने भन्दै प्रचार गरेका थिए ।
शाहीको स्वभाव र एकपक्षता
शाही पार्टीमा कटिवद्ध भएर लागे पनि कतिपय स्वभाव भने उनले सुधार्नुपर्ने थियो । यस कुरालाई नेताकार्यकर्ताले राम्ररी बुझेका थिए । आफ्नो फेवरमा कुरा नभए झोँक्किने, आक्रामक हुने स्वभाव शाहीको नयाँ होइन पुरानै हो । मुसुक्क हाँस्ने राम्रो बानी भए तापनि त्यो गुणलाई अर्को गुणले निलेको थियो । स्कुलमा शिक्षक हुँदा पनि विद्यार्थीहरु डराउँदथे त केवल शाहीसंग मात्र । त्यसैले उनलाई चिन्ने कतिपय नेताले शाहीको यस गुणले कतै पार्टीमा हानी गर्ने हो कि भन्ने कुरा पनि बुझेको नतिजाले देखाउँछ । उनकै वडा र क्षेत्रबाट मत क्रसभएबाट यो कुरा पुष्टि हुन्छ । अर्को कुरा शाही सधैँ एक गुटमा रहेर अघि बढे । भोलि नेतृत्व गर्ने पालो आउँछ भन्ने लगायत सोचेर उनले सबैसंग सुमधुर सम्बन्ध पहिलेदेखि बनाउनतर्फ लागेनन् ।
यता अर्याल भने यसमा चलाख थिए । सबै नेतासंग बराबर सम्बन्ध कायम गरेर नेताहरुको विश्वास उनले जितेको देखिन्छ । चुनावी नतिजाले त्यहि भन्दछ ।
शाही आफैमा नराम्रो मान्छे होइनन् । पार्टीलाई योगदान दिएका मिहिनेती कार्यकर्ता हुन् । तर यो नतिजाले शाही स्वयम् खुसी रहेको देखिन्न । जित्ने मनोबलका साथ मैदानमा भीडेका शाहीले यतिधेरै मतान्तर भएपछि बल्ल आफू पार्टी गुटको सिकार भएको महसुस गर्न थालेको नेताहरु बताउँछन् ।
एक जनाले नेताले भने, ‘शाहीलाई केहि नेताले नउचालेको भए सायद उहाँले अर्याललाई समर्थन गर्नुहुन्थ्यो होला तर नेताहरुले शाहीलाई पछि हट्न दिएनन् । चुनाव जित्छौँ भन्दै भ्रममा पारिरहे ।’
चुनाव हारपछि पनि हाँसोमै रहेका शाहीले मतदानमा सहभागि भएर मत दिने सबैलाई धन्यबाद दिँदै आफू कत्ति विचलित नभएको र पार्टीमै सक्रिय रहिरने बताएका छन् ।
के भन्छन् शीर्ष नेता ?
शीर्ष नेताहरुले मिडियामा आएजस्तो गुटमा नरहेको बताउँदै प्रतिनिधिले जस्तो नतिजा दिए त्यसलाई स्वीकार गर्न आग्रह गरे । झविलाल पोख्रेल र डम्बर शर्माले आफूहरुका कारण यस्तो नभएको बताउँदै पार्टी एकढिक्का रहेको बताए ।
सोमनाथको जितले सबै पार्टी खुसी भएको भन्दै शाहीलाई पनि कतै मिलाएर लैजाने उनीहरुले बताएका छन् । पार्टीमा गुट रहेको भए पनि अब यसलाई मत्थर गरेर ८४ को चुनावमा लाग्नु पर्ने लुम्बिनी प्रददेश सभा सदस्य विष्णु पन्थीको धारणा छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गुटउपगुटका कारण चुनावमा हारजित रहेको कुरा गलत रहेको भन्दै जिल्लामा पार्टी एक ढिक्का रहेको दावी गरे ।
नेताहरुले जति चिल्ला कुरा गरे पनि एमाले गुटैगुटले जेलिएको हुनाले आगामी दिनमा यसलाई मिलाउन नसके पार्टी कमजोर हुने नेताहरु बताउँछन् । बाणगंगाको यो नतिजापछि नेताहरुमा झनै गुटको खेती गहिरिँदै जाने र यसले पार्टीलाई भावि दिनमा नोक्सान गर्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
प्रतिक्रिया