मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युतीय ट्याक्सीमा स्वीच, यात्रुलाई १० प्रतिशत भाडा सस्तो

विद्युतीय ट्याक्सीमा स्वीच, यात्रुलाई १० प्रतिशत भाडा सस्तो

अपि टाइम्स

काठमाडौं। अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युतीय ट्याक्सी देखिन थालेका छन्। उपत्यकाको ट्याक्सी स्टेसनहरुमा लगभग ५ वटा इन्धन ट्याक्सीमा एउटा विद्युतीय ट्याक्सी देखिन थालेको छ।

साना ठुला सवारीको कार्यालय एकान्तकुनाका अनुसार हालसम्म २३ वटा विद्युतीय ट्याक्सी दर्ता भइसकेका छन्। सरकारले २० वर्ष पुराना सबै ट्याक्सीलाई विद्युतीय बनाउन पर्ने नियम लागु गरेसँगै उपत्यकामा विद्युतीय ट्याक्सी देखिन थालेको हो।

बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड कार्यान्वयनमा ल्याइसकेको छ।

सो होही बमोजिम श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले जारी गरेको सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ अनुसार प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीयलाई मात्र दर्ता गर्न सकिने व्यवस्था मिलाइएको सवारी दर्ता शाखाका प्रमुख छवि पौडेलले बताए।

यसैगरी, उपत्यकामा विद्युतीय ट्याक्सी बिक्री गरिरहेको टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि विद्युतीय ट्याक्सीमा ग्राहकहरुको चासो बढेको जनाएको छ।

यसमा सिप्रदीले विद्युतीय ट्याक्सी खरिद गर्नेहरुका लागि व्यवसायिक कसरी बनाउने, संचालन खर्च कसरी कम गर्न लगायतका कुरामा तालिम समेत प्रदान गर्दै आइरहेको छ।

कम्पनीले यसरी ग्राहकहरुले टाटाको विद्यूतीय ट्याक्सी किन्दा ३ वर्षसम्मको सबै मर्मतदेखि सर्भिसिङहरु निशुल्क गरिदिने व्यवस्था समेत मिलाएको छ। यसले पनि ग्राहकहरु विद्युतीय ट्याक्सी खरिद गर्न ढुक्क भएका कम्पनीका इभी हेड निर्मल खत्रीको भनाइ छ।

त्यही अनुसार टाटाले ट्याक्सीको लागि आवश्यक चार्जिङ पूर्वाधार र इको सिस्टम तयार परिरहेको खत्री बताउँछन्।

मापदण्डअनुसार अहिले ट्याक्सी धनीले टाटाको एक्प्रेस टी ईभीलाई विद्युतीय ट्याक्सीका रुपमा दर्ता गरिरहेका छन्। अन्य कम्पनीहरु पनि विद्युतीय ट्याक्सी ल्याएर बजारमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

मन्त्रालयका प्रवक्ता तथा उपसचिव हरिहर पोखरेलका अनुसार प्रदेश सरकारले हेटौंडा, भरतपुर र गोंगबु बसपार्कमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया यही वर्षबाट अगाडि बढाउँदैछ।

प्रदेशको १३ जिल्लामै चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको भएपनि स्थानीय तहले आवश्यक जग्गाका उपलब्ध नगराउँदा प्रदेश सरकार समस्या परेको उनको भनाइ छ।

इन्धन ट्याक्सीमा भन्दा इभी ट्याक्सीमा यात्रुलाई भाडा १० प्रतिशत कम

बागमती प्रदेशले विद्युतीय ट्याक्सी चढ्ने यात्रुहरुका लागि १० प्रतिशत भाडा कम गरेको छ। विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने हिसाबले प्रदेशले इन्धन ट्याक्सीमा लाग्ने भन्दा १० प्रतिशत कम भाडा लाग्ने व्यवस्था गरेको जनाएको छ।

प्रदेशका अनुसार प्रति २०० मिटरको भाडा पेट्रोल ट्याक्सीका लागि १० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै विद्युतीय ट्याक्सीका लागि प्रति २०० मिटरको भाडा ९ रुपैयाँ हुने कायम गरिएको छ। यसले गर्दा पेट्रोल ट्याक्सीका लागि भन्दा विद्युतीय ट्याक्सीका लागि २०० मिटरको भाडा एक रुपैयाँ सस्तो छ।

भाडा समायोजन गर्दा सुरुको फ्ल्याग डाउन शुल्क विद्युतीय ट्याक्सी र पेट्रोल ट्याक्सीमा समान ५० रुपैयाँ कायम गरेको छ। त्यसपछि २०० मिटरमा भने भाडा फरक हुन्छ।

मन्त्रालयले गत वर्ष चैतमा भाडा समायोजन गर्दा पेट्रोल र विद्युतीय ट्याक्सीको भाडा अलग अलग हुनेगरि निर्धारण गरेको थियो। मन्त्रालयले निर्धारण गरेको भाडा दरअनुसार पेट्रोल ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत कम छ।

नेपालमा पेट्रालियम पदार्थको प्रयोगबाट औसत प्रतिकिलोमिटर १० रुपैयाँदेखि १५ रुपैयाँ खर्च गर्नुपर्छ भने इलेक्ट्रिक कार प्रयोग गर्दा प्रतिकिलोमिटर ३ देखि ५ रुपैयाँसम्म खर्च आउँछ।

त्यस्तै, मर्मतमा पनि खर्च कम हुन्छ। पेट्रोल र डिजेल कारमा २ हजारभन्दा बढी पिस मुभिङ पार्टस् जडान गरिएको हुन्छ भने इलेक्ट्रिक कारमा जम्मा २० वटा मात्रै पार्टको प्रयोग भएको हुन्छ। त्यसैले पनि विद्युतीय ट्याक्सीमा मर्मत तथा संचालन खर्च ८० देखि ९० प्रतिशत कम हुने खत्री बताउँछन्।

यस्तै महँगिएको पेट्रोलमा चार्जिङ खर्च निकै कम आउछ। जसले इन्धनमा लाग्ने खर्च समेत बचाउँछ। यसले चालकहरुलाई धेरै राहत मिलेको छ।

चार्जिङ स्टेशनको विस्तार बढाउन सकेमा नेपालमा पनि विद्युतीय सवारीसाधानको प्रयोग बढ्नेमा कुनै शंका छैन।

यस्तो छ सरकारले विद्युतीय ट्याक्सीका लागि ल्याएको नयाँ मापदण्ड

नयाँ मापदण्डअनुसार २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ। ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ।

साधारण ट्याक्सीका लागि २० किलोवाट आवर र विशेषका लागि ४० किलोवाट आवर सोभन्दा माथिको लिथिम आयोन ब्याट्री हुनुपर्ने भनिएको छ। ग्राउन्ड क्लेयरेन्स साधारणका लागि १७० एमएम र विशेषका लागि १७५ एमएम अनिवार्य गरिएको छ।

साधारणमा ड्राइभर एयरब्याग र विशेषमा डुअल एयरब्याग हुनुपर्ने मापदण्ड छ। साधारणमा जीपीएस सिस्टम आवश्यक भनिएपनि विशेषका लागि अनिवार्य गरिएको छ।

यसैगरी, ट्रान्समिसन अटोमेटिक हुनुपर्ने, बुट स्पेस ९डिकी० साधाराण ट्याक्सीको लागि २०० लिटर र विशेषका लागि २५० लिटरमाथि हुनुपर्ने भनिएको छ। साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट र विशेष ट्याक्सीको ५० किलोवाट त्यसभन्दा माथि हुनुपर्ने व्यवस्था छ।

साधारण ट्याक्सी कम्तीमा एक पटकको चार्जमा २१० किलोमिटर गुड्न सक्ने हुनुपर्ने र विशेषका लागि २७५ किलोमिटरको रेन्ज हुनुपर्ने तोकिएको छ। साधारण ट्याक्सीमा दुर्घटना हुँदा खुल्ने एयरब्याग ड्राइभरका लागि मात्रै अनिवार्य गरिएको छ।

तर विशेष ९डिलक्स० ट्याक्सी भनिएपनि त्यसमा वाइफाइ, गाडीभित्रको हेड रुम, लेग रुमसहितको पर्याप्त स्पेसबारेको मापदण्ड, मोबाइल चार्ज गर्ने सुविधा, कप होल्डर, र विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, टाउको अड्याउने हेड रेस्ट, पछाडिसम्म वातानुकूलित गर्ने गरी एसी, पछाडिको भागमा टच स्क्रिनसहितको डिस्प्ले मापदण्डले अनिवार्य गरेको छैन।