मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ नामक एनजिओले चलाइरहेको विचरा ‘बाणगंगा सरकार’

सिद्धार्थ नामक एनजिओले चलाइरहेको विचरा ‘बाणगंगा सरकार’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, वडा अध्यक्षहरु सञ्जु शारु, छविलाल रेश्मी एक साता लामो भारत भ्रमण सकेर गृहनगर फर्कदैछन् । उनीहरुसहित नगरपालिकाका अरु केहि महत्वपूर्ण पद ओगटेका कर्मचारी पनि भारतको केरलाराज्य भ्रमणमा गएका थिए ।

उनीहरु भ्रमण गएको नगरपालिकाको कुनै औपचारिक कार्यक्रम र ब्यानर लिएर होइन एउटा एनजिओले प्लेन टिकट उपहार दिएपछि नगरको सिंगो टिम सुटुक्क केरला उडेको थियो । एकसाताको खर्च र आउजाउसहितको प्लेन टिकट उपहार दिने एनजिओको नाम हो सिद्धार्थ सामाजिक विकास केन्द्र ।

उद्धेश्यमुलक भनिएको केरला भ्रमणका दिनहरुको फेसबुक अपडेट हेर्दा यस्तो लाग्दछ कि सिद्धार्थका समुह र नगरका मान्छेले कहिल्यै जहाज देखेका थिएनन्, समुद्रमा खेल्न पाएका थिएनन्, रेल देख्न पाएका थिएनन् यस्तैयस्तै । एक साताको भ्रमण तालिकामा एक दिन केरला नगरपालिका प्रमुखसंग बाणगंगाका नगरप्रमुखको भेट भनेर सिद्धार्थले जनताको आँखामा छारो हाल्ने काम गरेबाहेक अरु कुनै ठुलो उपलब्धि हासिल गरेर फर्केको देखिन्न । भ्रमणमा उनीहरुसहित सिद्धार्थ सामाजिक विकास संस्थाकी अध्यक्ष सूर्य कुमारी शाही, कार्यक्रम संयोजक प्रकाश घिमिरे, पूर्वअध्यक्षहरु तेज प्रसाद आचार्य, गुणनिधि भुसाल, पोम नारायण पौडेल, लगायत संस्थाका रोमाकान्त घिमिरे , टिकाराम पौडेल, इन्दिरा भट्टराई लगायत छन् ।

यता नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नभएपछि नगरबासीका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् भने वडा नम्बर ४ र १ का सेवाग्राही पनि उस्तै गरी प्रभावित भएका जनगुनासो छ । यसपछि नगर र वडा नेतृत्वको चौतर्फी आलोचना भइरहेको छ ।
नगरप्रमुख, जनप्रतिनिधि र कर्मचारीहरुले कुनै भ्रमण गर्नु हुँदैन भनिएको होइन, तर नगर नै रित्याएर भएको लामो साताब्यापी भ्रमणबाट जनताको लागि के उपहार लिएर आउने काम भयो भन्ने प्रश्न हो ।

एनजिओले अरु ककसलाई कहाँ कहाँ लैजान्छ त्यो पनि चासोको विषय पनि भएन तर नगरपालिकाको दुवै नेतृत्व यसरी एनजिओको कार्यक्रममा लगौटी बनेर निस्कन्छ भन्ने चासोको विषय हो ।

उनीहरुले उद्धेश्यमूलक भ्रमण गरे भनेर विश्वास किन गर्न सकिन्न भने गत बर्ष पनि नगरपालिका खाली बनाएर सिद्धार्थ सामाजिक विकास केन्द्रले यसैगरी नगरपालिका नगर प्रमुख, हाकिम, प्रवक्ता, कर्मचारी लगायतको प्रिय टिमलाई भारत उडाएको थियो । उतिखेर पनि भ्रमणबारे नगर नेतृत्वको निकै आलोचना भएको थियो । चौतर्फी आलोचना भएपछि सिकाइको लागि भन्दै उनीहरुले प्रष्ट्याउनु परेको थियो ।

एनजिओको पैसामा मोज गरी फर्किएका उनीहरुले गत आर्थिक बर्ष सकिदासम्म पनि के सिकेका थिए प्रमाणित गर्न सकेनन् । त्यसअघि पनि यस संस्थाले यसैगरी निकटका मान्छेलाई आलोपालो गरेर घुमाउने गरेको छ ।

सामाजिक संजालमा अपडेट भए अनुसार भ्रमणबाट सिद्धार्थको समुह, नगरका जनप्रतिनिधि र कर्मचारीले सिकेर आएको केहि देखिन्न, उनीहरु केवल हवाइजहाज चढ्न, रेल हेर्न, समुद्रमा लडिबुडी गर्न र अरुरु मोजमस्ती नै गर्न केरला उडेका हुन् कि भनेर सजिलै अनुमान गर्न सकिन्छ । सामाजिक संजालका फोटोहरुमा यस्तो चर्तिकला देखेपछि सरोकारहरुले अहिले आलोचना गर्न थालेका छन् । मेयर अर्यालको यो गतिविधिबाट उनैको पार्टीका मान्छे पनि खुसी छैनन् । उनीहरुले पनि नगर नेतृत्वको आलोचना गरिरहेका छन् ।

सरोकारवाला भन्दछन्, ‘नगरप्रमुखहरु, कर्मचारीहरु देशविदेश जाने,नयाँ कुराहरु सिक्ने नराम्रो होइन तर नगरले आफ्नै ब्यानरको कार्यक्रम बनाउनुपर्दछ । यसकारण जाँदैछौँ भनेर पत्रकार सम्मेलनमार्फत् अग्रिम जानकारी गराउनुपर्दछ । तर यहाँ त गुपचुप उनीहरु एक साताका लागि निस्केका रहेछन् । जनताले फेसबुकमार्फत् चर्तिकला देख्नुपर्दछ । एक साता होइन एक घण्टा पनि अनुचित उद्धेश्यमा रहेर नगरप्रमुख, हाकिम, वडा अध्यक्ष, शाखा प्रमुख कसैले पनि कार्यकक्ष खाली गर्नु हुँदैन । यस्तै प्रश्न उठ्ने गरी नगरको टोली सुटुक्क निस्केको छ ।’

यसपटक भ्रमण दलमा निस्केको टोलीको अनुहार पढ्दा भन्न सकिन्छ कि सिद्धार्थ सामाजिक विकास केन्द्रले संस्थाभित्र आर्थिक गतिविधिमा रजगज गरेका, बिभिन्न कार्यक्रमका नाममा लाखौँ रकम संस्थामा लगानी गरिरहेकाहरुलाई छानीछानी लगेको छ । त्यसमा नगर, वडा ,वन लगायतको प्रतिनिधित्व छ ।

बिभिन्न सामाजिक विकासका काम गर्ने नाममा कागजपत्र मिलाएर बिभिन्न दातृ निकायबाट करोडौँ असुल गरिरहेको सिद्धार्थले गत बर्षजस्तै यस बर्ष पनि बिभिन्न शीर्षकमा नगरबाट लाखौँ रकम लिएको थियो । त्यहि लगानीको बक्सिसस्वरुप नगर, वडा, वन र त्यहाँका निकट मान्छेलाई सिद्धार्थले केरलाको जहाज टिकट दिएको सजिलै बुझ्न सकिन्छ । यसरी सिद्धार्थको चतुर समुहले नगरपालिका र यहाँका पैसावाल संस्थालाई आफ्नो कब्जामा राख्न सफल भएको कतिपय ब्यक्तिले बताउँछन् ।

कार्यक्रमको नाममा पैसा दिएबापत् सिद्धाथले गरेको चाकडी रणनीतिलाई नगरपालिका चलाउने ब्यक्तिले बुझ्न नसक्नु ठुलो भुल रहेको एक जना एमालेका नेताले अपिटाइम्सलाई बताए ।
उनी भन्छन् ‘भ्रमण भनिएको छ, ठिक छ नराम्रो होइन तर नगरप्रमुख, हाकिम त्यसरी एकैपटक हिँड्न मिल्छ र ? गत बर्ष पनि यस्तै आलोचना भएको भुले कि क्या हो । अनि गत बर्ष पनि भ्रमणबाट के सिकेर आएका रहेछन् कुन्नि ? र यसपटक आलोचना नगर्ने । अन्य ठाउँमा नगरले एनजिओ चलाउँछ यहाँ त एनजिओले नगर चलाएको देख्दा अचम्म लाग्दछ ।’

नगरपालिका, वनहरुबाट लाखौँ रकम निकाल्ने अनि कागजपत्र मिलाएर मोटाइरहेका सिद्धार्थको चतुर टिमले यसरी स्थानीय सरकारलाई नै गुम्राहमा राखेको बुझ्न नसक्नु नेतृत्वको ठुलो कमजोरी रहेको उनी बताउँछन् ।

‘दातृ निकायबाट लिएको करोडौँ रकम र नगरबाट लिएको लाखौँ रकमको नतिजा खोज्न जाने हो भने ती सबै बालुवामा पानीसरह छन् । पार्टीका नेताकार्यकर्तालाई खाजा, नास्ता खुवाउने, थोरधेर भत्ता दिनेबाहेक सिद्धार्थले गरेको कामको अरु ठुलो उपलब्धि देखिन्न । सिद्धार्थको अहिलेसम्मको ठुलो उपलब्धि भनेको मुख्य गरी एमाले र पछिपछि काँग्रेसका मान्छेलाई जागिर दिनु र चुनावमा प्रयोग गर्नु हो’, सिद्धार्थसंग निकै नजिक रहेका एक जनाले भने ।

यो भ्रमणको कुरा भयो । यहाँ हुँदा पनि नगरका जनप्रतिनिधि र कर्मचारीको गतिविधि उदेक लाग्दो छ । एनजिओसंग पैसा लिनुको सट्टा उनैहरुसंग नगरले बिभिन्न कार्यक्रममा सम्झ्यौता गर्दछ । त्यसपछि ती कार्यक्रम सुरु हुन्छन् । लाजसरम पचाएर नगरका जनप्रतिनिधि र कर्मचारीहरु धारो लगाएर तिनै कार्यक्रममा अतिथि बन्छन् । खाजाखाना खाने अनि यातायात भन्दै भत्ता पनि बुझेर फर्कने गरेका दर्जनौँ उदाहरण छन् । यसरी सिद्धार्थले बाणगंगा नगरपालिकाको नेतृत्वलाई पंगु बनाउने काम गरयेको प्रष्ट बुझ्न सकिन्छ ।

यो भ्रमण पनि त्यहि भत्ता बुझ्ने कामको सुरुवात रहेको बताइन्छ । विकासका नाममा सिद्धार्थको बिजनेश रणनीति बुझ्न नसकि उनीहरुको लगौटी बनेर जनप्रतिनिधि र कर्मचारीले नगरपालिकाकै बदनाम गरिरहेको यहाँका धेरैजसो जानकार, पार्टीसम्बवद्ध ब्यक्ति र बुद्धिजिवी बताउँछन् । भ्रमण मात्र नभएर नगरको बजेट नीति कार्यक्रम र बजेट निर्माणमा पनि सिद्धार्थको रजगज चलेको देखिन्छ ।

हरेक बर्ष २५ ३० जनाको टोली संस्थाको रकममा प्लेन चढेर केरला जानु, कार्यक्रमका नाममा बर्षभरी सिद्धार्थको टोली घुम्नु, महंगा होटलहरुमा कार्यक्रमहरु गर्नुले सिद्धार्थको आर्थिक अनियमिततालाई उजागर गर्ने एक जनाले बताए ।

‘नगरपालिका र सिद्धार्थको यो मिलिभगत्बाट पनि थाहा पाउन सकिन्छ कि कागज मिलाएर यहाँ नीतिगत रुपमा लाखौँको भ्रष्टाचार भएको छ, सिद्धार्थलाई नजिकबाट चिन्ने चार नम्बरका एक जना पाका ब्यक्ति भन्दछन् ‘सिद्धार्थको भ्रष्टाचारको प्रमाण यो नै हो भनेर दिन सकिन्नँ तर नीतिगत रुपमा त्यहाँ निकै भ्रष्टाचार हुने गरेको छ ।’

सिद्धार्थले जे गरे पनि यसरी नगरपालिकाको नेतृत्व लाचार र नीरिब बन्नु कदापी ठिक नहुने उनीहरु बताउँछन् । तर नगरपालिका श्रोत भने यस विषयलाई स्विकार गर्दैन । श्रोत भन्छ, ‘मेयर, हाकिम र वडा अध्यक्ष ज्यूको भ्रमण बेतुकको होइन उद्धेश्यमूक नै छ । केरलाको विकास संसारमै उत्कृष्ट मानिन्छ । त्यहाँको एक सरकारप्रमुख संग भेट भएको छ । त्यहाँको विकास मोडलबारे बुझ्ने काम भएको सुनेका छौँ । मेयर सापले त्यहाँका मेयरलाई बाणगंगा भ्रमणको निम्तो दिनुभएको छ । यसलाई अतिरञ्जित नबनाऔँ ।’

यता सिद्धार्थले पनि सिकाइको लागि भन्दै केरला भ्रमण गरेको बताउँछ । बाणगंगाको विकासबारे त्यहाँबाट धेरै कुराहरु सिक्न सफल भएको भन्दै सिद्धार्थका कर्मचारी र पदाधिकारीले फेसबुक अपडेट गराएका छन् । केरला भ्रमण अवधिमा कति रकम उडाए, त्यो खर्च ककसले ब्यहोरे या केरला सरकारले नै ब्यहोर्यो त्यो भने सार्वजनिक भएको छैन । यदि त्यो जम्बो टोलीको खर्च सिद्धार्थले नै ब्यहोरेको हो भने त्यहाँ स्वार्थ लुकेको सहजै अनुमान गर्न सकिन्छ ।

सिद्धार्थले मात्र होइन यो मुलुकभर सयौँ एनजिओआइएनजिओले यसैगरी राज्यशक्ति दोहन गरिरहेका छन् । तर यहि यहि दोहनमा स्थानीय सरकरका जनप्रतिनिधि र कर्मचारी घुमाउरो हिसाबले सारिक छन् ।