मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ११२ को मृत्यु, ६८ बेपत्ताः काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा

देशभर ११२ को मृत्यु, ६८ बेपत्ताः काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा

अपि टाइम्स

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं र धादिङको सीमा क्षेत्र झ्याप्लेखोलामा शुक्रबार गएको पहिरोमा परेका बस । पहिरोले त्यही स्थानमा बुटवलबाट आइरहेको माइक्रोबस पुर्दा १४ जनाको मृत्यु भएको छ । तस्बिर स् प्रकाशचन्द्र तिमिल्सेनारकान्तिपुर

उद्धारकर्मीको गुनासो– ‘प्रकोप अकस्मात् निम्तिएको होइन, हरेक वर्ष विपद् दोहोरिरहन्छ तर, विपद् व्यवस्थापनमा चाहिने लाइफ ज्याकेट, र्‍याफ्ट बोर्ड, डोरीलगायतका आधारभूत सामग्री पर्याप्त किनिदिनुपर्‍यो भन्दा सरकारले वास्ता गर्दैन’
काठमाडौँ — अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५र५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै धनकुटा र सोलुखुम्बुमा २र२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १र१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् ।

गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो ।