चन्द्रकान्त न्यौपाने
काठमाडौँ । गत सोमबारदेखि कपिलवस्तुका उखु किसान फेरि आन्दोलित छन् । बिभिन्न माग राखि उनीहरु काठमाडौँको माइतीघरमा धर्ना बसिरहेका छन् । आफूहरुले उत्पादन गरेको उखुले २०७१ सालपछि मुल्य नपाएपछि उनीहरुले फेरि आन्दोलन थालेका हुन् । यसरी आन्दोलन थालेको यो तेश्रो पटक हो ।
चर्को घाम र पानी, भोक–तिर्खा र छोडेर ३ दर्जन बढी उखु किसान सडकमा धर्नामा छन् । सरकारले नसुनेपछि कपिलवस्तुका जनप्रतिनिधि सरकारलाई दबाब दिन माइतीघर आउने गरेका छन् । विहिबार जिल्लाका संघीय सांसद मंगल गुप्ता, शिवराज नगरपालिकाका प्रमुख अजय थापा माइतीघरमै पलेटी कसेर धर्नामा बसी किसानलाई साथ दिइरहेका थिए ।
काठमाडौँबाहेक पटकपटक जिल्ला प्रशासनमा पनि उनीहरु धर्ना बसेका छन् । तर सरकारले उनीहरुको माग पुरा गर्नको लागि कुनै तादकरुकता देखाएको छैन । २०७० । ७१ मा सरकारले २५ प्रतिक्विन्टल अनुदानमा किसानलाई रकम दिने भने पनि उद्योगीले त्यो निर्णय कार्यान्वयन गरेका छैनन् । सो रकम नदिनेलाई कारबाही गर्नु पर्ने र ब्याजसहित आफूहरुको रकम असुल हुनपर्ने उनीहरुको मुख्य माग छ ।
मागहरु
यसपटक सरकारले किसानका मागहरु सुन्छ कि भन्ने उनीहरुलाई ठुलो विश्वास छ, कारण कृषि मन्त्री पनि जिल्लाकै नेता डाक्टर बेदुराम भुसाल छन् ।
मेयर अजय थापाले सरकारले किसानको माग सुन्नै पर्ने बताए । उनले अपि टाइम्सलाई भने ‘सरकारले उखु किसानका माग पुरा गर्ने सन्दर्भका किन सुनिरहेको छैन । उहाँहरु ७१ सालदेखि आन्दोलनमा हुनुहुन्छ । उहाँका माग जायज छन् । गरिब किसानको रकम नदिने उद्योगी को हुन् उनीहरुलाई तुरुन्त काबरबाही गनुपर्दछ । यसपटक सरकारले सुन्नै पर्छ ।’
सांसद मंगल गुप्ताले पनि पीडित किसानका माग पुरा गर्नको लागि आफूले पनि पहल गरिरहेको बताए । उनले कपिलवस्तुका किसान भनेर सरकारले हेपेजस्तो लागेकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने बताए ।
कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले यसपटक सरकारले आफ्ना माग सम्बोधन नगरे ज्यान दिन तयार रहेको बताए । उनले भने ‘अहिलेसम्म म यसैको लागि काठमाडौ आएको ४० पटक भयो । ३ पटक धर्ना बसेँ । तर सरकारले सुनेको छैन । म सरकारलाई चुनौति दिन चाहान्छु कि हाम्रा माग सुन कि, लास लैजाऊ । चौधरी थप्छन् कि पैसा लिएर जान्छौँ, कि सरकारले लास घर पठाइदेओस् ।’
कृषिमन्त्री आफ्नै जिल्लाको रहेको हुँदा माग सुन्छन् कि भन्ने विश्वासमा आफूहरु रहेको उनले बताए । नभए आफूले देयत्याग गर्ने चौधरीको चेतवानी छ ।
७१ सालदेखि अहिलेसम्म आफूहरुले पाउनु पर्ने रकम १० करोड भएको चौधरी बताउँछन् । कृषि, उद्योग, अर्थ मन्त्रालयले पैसा दिने भनेर स्विकृति दिइसकेको अवस्थामा हाम्रो पैसा देऊ भनेर उद्योगी कहाँ जाँदा उल्टै धम्काएर पठाउने गरेको चौधरीले गुनासो गरे ।
आफूहरुले पैसा सरकारबाट लिनेकि उद्योगिबाट लिने थाहा नभएको उनीहरुको भनाई छ । सरकारले चिनी उद्योगीलाई पैसा पठाएको तर उनीहरुले नदिएको धर्नामा बसेका ती किसान गुनासो गर्दछन् । कपिलवस्तुमा कृषकले बर्षेनी १५ लाख क्विन्टल उखु उत्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया