कपिलवस्तु । तराईको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्म रहेको हुलाकी राजमार्गलाई स्थानीय तहले ‘कमाईखाने भाँडो’ बनाएका छन् । विश्वका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी पुग्ने सडक प्रयोग गरेवापत लुम्बिनी सांस्कृतिक नगरपालिकाले पूर्वाधार कर उठाउन थालेपछि उक्त आरोप लागेको छ ।
आर्थिक वर्ष २०८१–८२ का लागि रोयल लुम्बिनी कन्ट्रक्सन प्रालिलाई ठेक्का दिएर नगरपालिकाले आइतबारदेखि धमाधम कर उठाउन थालिसकेको छ । विशेषतः भारतीय पर्यटक बोकेर लुम्बिनी आउने सवारी साधन तथा भुमही–बहादुरगञ्ज सडक प्रयोग गर्ने मालवाहक साधनलाई लक्षित गरी कर उठाइने गरेको छ ।
भारतीय बस तथा ट्रकलाई २२६ र जीप–कारलाई ११३ रुपैया कर तोकिएको छ । जीर्ण हुँदै गएको पूर्व–पश्चिम राजमार्गको विकल्प बनेको हुलाकी सडक प्रयोग गर्ने नेपाली ट्रक र ट्रिपरले १७० रुपैयाँ तिर्नुपर्छ ।
भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा मुख्यगरी भारत, श्रीलंकालगायत मुलुकबाट ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । तर, सडक प्रयोग गरेवापत कर उठाउने नगरपालिकाको निर्णयले सिंगो पर्यटन व्यवसायलाई नकारात्मक प्रभाव पार्नसक्ने भन्दै स्थानीय चिन्तित देखिन्छन् ।
मेयर सजरुद्धिन मुसलमानको दबाबमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर संघीय सडक प्रयोगमा पूर्वाधार सेवा उपयोग बापतको कर लगाएर अवैध काम गरेको स्थानीयको भनाई छ । नगर प्रमुखको दबाबमा प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले कानून मिचेर ठेक्का दिएकाले ठूलै चलखेलको आशंका गरिएको स्थानीय सन्तोष यादवले बताए ।
‘मेयरले दबाब दिए पनि उहाँ ९ज्ञावली० लाई त कानून थाहा थियो, किन ठेक्का दिनुभयो हामी आश्चर्यमा परेका छौँ’, यादवले भने ।
भारतीय सहयोगमा संघीय सरकारको योजनामा निर्माणाधीन सडकलाई स्थानीय तहले ‘कमाई खाने भाँडो’ बनाइरहेकोप्रति लुम्बिनी विकास कोष, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायको मौनता अर्को शंकाको घेरामा परेको छ । स्थानीय तहबाट व्यापक विरोध हुँदासमेत उनीहरुले अवैध क्रियाकलाप रोक्न कुनै चासो नदिएको पर्यटन व्यवसायीहरु गुनासो गर्छन् ।
पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने दायित्व बोकेको नगरपालिका उल्टै यो क्षेत्रलाई ध्वस्त बनाउन लागेको होटल व्यवसायीहरुको आरोप छ ।
प्रतिक्रिया