काठमाडौँ । कार्यालयमै घुस मागेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीको सरुवा भएको छ। उनलाई विभागले तीन दिने स्पष्टीकरण सोध्दै सरुवा गरेको हो।
कार्यालयमै सेवाग्राहीबाट घुस मागेको विषयमा स्पष्टीकरण दिन तीन दिनको समय दिइएको र उनी जिल्ला छाडेर विभाग गइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
गत बुधबार पाटन नगरपालिका– ८ का धनसिंह बिष्ट र नरबहादुर बिष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियो नयाँ पत्रिकालगायतका मिडियाहरूबाट सार्वजनिक भएको थियो।
छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको थियो भने ३० हजार रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएको थियो।
मालपोत प्रमुख सार्कीलाई शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी शर्माले बोलाएर घुसकाण्डबारे सोधपुछ गरेका थिए। कार्यालयमा सेवाग्राही आफैँले पैसा राखेर भिडियो खिचेको बताए पनि उनले पटक–पटक घुस लिएको भिडियोको विषयमा सोध्दा नाजवाफ भएका थिए।
कुनै पनि कर्मचारीविरुद्ध घुस लिएको आरोप लागेपछि सुरुमा स्पष्टीकरण सोध्ने र त्यसपछि कारबाहीका अन्य प्रक्रियाहरू सुरु गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
सार्कीको सरुवा भएपछि मालपोत कार्यालयमा निमित्त प्रमुखको जिम्मा नासु नगदीशप्रसाद तिवारीलाई दिइएको कार्यालयकी सुचना अधिकारी प्रतीभा गैरेले बताइन्।
प्रतिक्रिया