मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईगोरु तस्करीको ‘इक्जिट प्वाइन्ट’ यसरी बन्दैछ कपिलवस्तु (तस्करको नामसहित)

गाईगोरु तस्करीको ‘इक्जिट प्वाइन्ट’ यसरी बन्दैछ कपिलवस्तु (तस्करको नामसहित)

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुमा राष्ट्रिय जनावर गाईको तस्करी नियन्त्रण बाहिर जान थालेको छ । भारतीय सीमा क्षेत्रका विभिन्न नाका हुँदै भित्र्याउने गाईगोरु तस्करी गिरोह यतिबेला कपिलवस्तुमा सक्रिय भएको बताइन्छ ।

पश्चिम नवलपरासी, दाङ, नेपालगञ्जमा गोरु तस्करीमा कडाई गरिएपछि त्यहाँबाट गोरु तस्करी गर्दै आइरहेका गिरोहहरु कपिलवस्तुबाट काम फत्ते गर्न थालेका छन् । सुरक्षा स्रोतका अनुसार रोशन डल्लाकोटी समूह, नुनु मुसलमान, कान्छा लामा, वोसी मुसलमान तथा सन्देश–विपिन समूहले जिल्लाका विभिन्न फरक स्थानबाट गोरु संकलन गरे झापा पुर्याउने गरेको बताइन्छ ।

जिल्लाका कृष्णनगर, विजयनगर, महाराजगञ्जका भारतीय सीमा क्षेत्र, मर्यादापुर, हरदौना, हथिहवा क्षेत्रका सीमानाकाबाट धपाएर गोरुहरु ल्याइन्छ । त्यसपछि यताका रैथाने छाडा गाइगोरु समेत ट्रकमा लोड गरि पठाउने गरिएको पाइएको छ ।

गाइगोरु तस्करीमा नामूद रोशन डल्लाकोटी चितवनका हुन् । उनले कपिलवस्तुमा आफ्ना सहयोगी मदन भट्टराईसहितको समूह बनाई चन्द्रौटाको गड्गौडा, शितलापुर, बाणगंगाको कोठीखोला क्षेत्रबाट गाइगोरु संकलन गरि रातको समयमा निकासी धन्दा चलाउँदै आएका बताइन्छ ।

शिवराज क्षेत्रकै स्थानीय नुनु मुसलमानले जवाभारी, शितलापुर क्षेत्रबाट गोरु तस्करी गर्छन् । मकवानपुरका कान्छा लामा समूहले यसअघि बाँके नैरैनापुर तथा दाङको राजपुर क्षेत्रबाट गोरु तस्करी गर्दै आएकोमा हाल कपिलवस्तुको गणेशपुर, चन्द्रौटाको खैरी क्रेशर क्षेत्रमा संकलन तथा लोड गर्न थालेका हुन् । यस्तै वोसी मुसलमान समूहले बहादुरगञ्ज, रुद्रपुर, जवाभारी क्षेत्रबाट गोरु तस्करी गर्दै आएका छन् । सन्देश–विपिनले बुद्धभूमीको प्रेमनगर, तौलिहवाको रामघाट तथा महाराजगञ्जबाट उक्त कार्य जारी राखेका छन् । गाइगोरु तस्करीमा संलग्न यी समूह भदौ यता निकै सक्रिय भएको बताइन्छ ।

तस्करहरुले भारतीय गाइगोरु नेपाल ल्याएर यहाँबाट झापा हुदै बंगलादेशसम्म बिक्रीका लागि पुर्याउने गरेका छन् । तर कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्गमा तीन वटा र हुलाकीमा पाँच वटा प्रहरी कार्यालय हुँदासमेत यसको रोकथाम तथा नियन्त्रण हुन नसक्नु सबैले आश्चर्य मानेका छन् । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा तोडेर अवैध कारोबार गरिरहेको गोरु तस्कर नेपाल प्रवेश लगत्तै किसानबाट किनेका कागजपत्र बनाएर, भेटनरी चिकित्सकको क्वारेन्टाइन प्रमापत्र र भिसिटिएस अनलाईन बनाएर गन्तव्य सम्म पुर्याउन सफल हुने गरेका छन् । कतिपय अवस्थामा चेकजाँचमा खटिएका सुरक्षाकर्मी कागजपत्र देखेर छाड्न बाध्य छन् भने कतिपय नदेखे झैँ गरिदिन्छन् ।

जिल्लामा क्रियाशील हिन्दु धर्म संरक्षक संघ संस्थाले प्रहरीकै मिलेमतोमा गाइगोरु तस्करी बढेको दाबी गरेका छन् । एक महिनाअघि कपिलवस्तु प्रहरीका एसपी निरन्जन दत्त भट्ट तथा अधिकांश प्रहरी निरिक्षक फेरिएपछि तस्करको जालो तोडिने उनीहरुको आशामा तुषारापात भएको छ । गत बिहीबार राति स्थानीय हिन्दु युवाहरुको दबाबपछि बहादुरगञ्ज प्रहरीले जवाभारीबाट गोरु लोड गरेर राति २ बजे चन्द्रौटातर्फ जाँदै गरेको ना।६ ख ३०९८ नम्बरको ट्रक नियन्त्रणमा लिइयो तर, गोरु छाडियो । भन्सार तथा राजस्व कार्यालयले गोरु तथा ट्रक जिम्मा लगाउँदा बुझ्न नमान्ने, लिलाम नगरिदिने समस्याले पक्राउ गरेर पनि कानूनी कारबाही गर्न सकिने अवस्था नभएकाले छाड्न बाध्य हुनुपरेको प्रहरी अधिकारीहरुको दुःखेसो छ ।

यसैबीच गएराति गोरु लोड गरेर जाने क्रममा स्थानीय हिन्दू युवा समूहले प्रहरीलाई पक्राउ गर्न दबाब दिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले जवाभारीबाट ना ५ ख ५२०२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोरु छाडेको छ भने ट्रक चालकलाई नियन्त्रणमा राखिएको छ । बरामद ट्रक र गोरु नुनु मुसलमान समूहको रहेको प्रहरी स्रोतले बताएको छ ।