मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै मन्त्रीबाट हैरान ओली, प्रदीपको तारिफ, कोको छन् फेरिने लिस्टमा ?

आफ्नै मन्त्रीबाट हैरान ओली, प्रदीपको तारिफ, कोको छन् फेरिने लिस्टमा ?

अपि टाइम्स

काठमाडौँ। कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइको शक्तिशाली सरकार गठन भएको सय दिन पूरा भएको छ । यो अवधिमा सरकारले जुन गति लिनु पर्ने थियो त्यो गति समाउन नसक्दा अधिकांश मुख्य एजेन्डामै सरकार चुकेको छ । केही सकारात्मक काम गरे पनि आफ्नो बचनमा खरो उत्रिन नसक्दा र भ्रमण–भाषणबाजी प्राथमिकता पर्दा नागरिकको निराशा चिर्न सरकार प्राय असफल देखियो ।
कांग्रेस–एमाले समीकरणमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार बनेको सय दिन पूरा भएसँगै लेखाजोखा सुरु भएको छ । यो अवधिमा मुख्य एजेन्डामै चुकेको सरकारले सय दिनमा गरेका कामको लामै फेहरिस्त प्रस्तुत गरे पनि नागरिकमा रहेको निराशा चिर्न भने असफल देखियो । यसको सुरुवात सर्वत्र चर्चामा रहेका गृहमन्त्री रमेश लेखकबाट नै गरौँ । बर्खे झरीले देश डुबानमा पर्दा भिजिबिलिटीलाई दोष दिएर चोखिन खोज्दा उल्टो नाङगिएका गृहमन्त्री लेखक सहकारी ठगी अनुसन्धान प्रक्रिया अगाडि बढाउने मामिलामा भने केही सफल देखिन्छन् । संसदीय छानविन समितिको सिफारिस कार्यान्वयन गराउन गृहमन्त्री लागिपरेका छन् ।

सहकारी ठगी प्रकरणको अनुसन्धानमा तानिएका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीस्थित विमानस्थलबाटै पक्राउ गरियो । गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी हुँदै पूर्वउप्रधान तथा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई हिरासतमा पु¥याउनु आफैंमा सामान्य विषय होइन । यद्यपि जीबी राई पक्राउ गर्न नसक्दा र सहकारी ठगीको अनुसन्धानमा आफ्नालाई जोगाएको आरोपले लेखकका राम्रा कामहरु गौण हुन पुगेका छन् । प्रहरी अधिकारीको सरुवा बढुवा विवादमा पर्दा प्रहरी समायोजनसम्बन्धी विधेयक भने उनले अघि बढाउन सकेनन् । यस्तै, प्रहरी अधिकारी नै हनीट्रयापदेखि आपराधिक गतिविधिमा मुछिनु गृहमन्त्रीलाई गिज्याउने विषय बन्यो ।

अर्थतन्त्र सुधारको संवाहककै परिचय बनाएका अर्थमन्त्री विष्णु पौडेल अर्थतन्त्र थिलथिलो बनेका बेला सत्तारोहण गरेका थिए । अर्थमा उनको आगमनपछि सेयर बजारले लयमा फर्कियो । सेयर बजारमा सेटिङको आरोप खेपे पनि सय दिनको शेयर बजार नियाल्ने हो भने अवस्था सन्तोषजनक नै छ । पुँजीगत खर्च गत वर्षको पहिलो तीन महिनाको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ । राजस्व सङ्कलन गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने ब्याजदर घटेर औशत ६।१५१ प्रतिशत कायम भएको अर्थमन्त्रालयले जनाएको छ । उनी अर्थमन्त्री भएपछि सबैभन्दा धेरै सेयरबजारको उछालमा केन्द्रित भए । पौडेल अर्थमन्त्री हुनेबेला सेयरबजार १८ सय अंकको बिन्दुमा थियो ।

त्यसपछि निरन्तर बढेर ३ हजारसम्म पुग्यो । दैनिक कारोबार करिब ३० अर्ब पुगेको रेकर्ड छ । यद्यपि बाह्य लगानी भित्र्याउने, आन्तरिक लगानीतर्फ लगानीकर्तामा देखिएको विश्वासको संकट चिर्न भने सकेका छैनन् । अनेक प्रकरणले विवादित हुँदाहुँदै एमाले–कांग्रेस समीकरण बनेपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी डाक्टर आरजु राणा देउवाले आफ्नो सय दिनमा आफू के हो भन्ने प्रमाणित गर्न सफल भइन् । चाहे त्यो भारत भ्रमणताका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्वार्ता होस् या संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीको भेट जुराउने मामिलामा, आरजु सफल देखिइन् । आलोचित भए पनि कुटनीतिक भेटघाट र भ्रमणमा आरजुले रेकर्ड नै ब्रेक गरेकी छन् । यद्यपि सरकार गठनको सय दिन बित्दा पनि छिमेक भ्रमणको निम्तो कुरेर बसेका प्रधानमन्त्री ओलीको विदेश यात्राको चाँजोबाँजो मिलाउन सकेकी छैनन् । यद्यपि, आलोचनाका बीच पनि उनले परराष्ट्र मन्त्रालयमा कर्मचारी थप्न भ्याइन् । यस्तै, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त सय दिनको उपलब्धि सार्वजनिक गर्दै आफूहरुसँग जादुको छडी नभएको तर्क दिन भ्याए । उनले काम गर्न नसकेको स्वीकार गरेका छन् । कार्यबाहक प्रधानमन्त्री हुँदा नै आफ्नो हैसियत उनले देखाइ सकेका थिए । देश बाढीपहिरो र डुबानमा पर्दा प्रतिपक्षले बैठक बोलाएपछि बल्ल उनको होस् खुलेको थियो । बाढी पहिरोमा परेर सर्वसाधरण बिल्लीबाठ हुँदा पनि उनी निर्देशन दिनेबाहेक फिल्डमा उत्रिएर काम देखाउन चुके ।

पहिलोपटक मन्त्री बनेका पर्यटनमन्त्री बद्री पाण्डे लामो समयसम्म खादा–माला र सम्मान ग्रहण गर्नमै भुले । यसबाहेक भेटघाट र विदेश भ्रमणमा उनी व्यस्त देखिए । चाडबाडको मुखमा एक्कासी महँगिएको हवाई भाडादरमा उनी रमिते बने । प्राकृतिक विपत्तिदेखि खराब मौसमका कारण ठाउँ ठाउँमा पर्यटकको बिचल्ली हुँदासमेत मन्त्रीले सरकार भएको महसुस गराउन सकेनन् । यद्यपि, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न उनले चालेका केही कदम प्रशंसनीय छ । जसका कारण भैरहवा विमानस्थलबाट तीन वटा विदेशी कम्पनीले उडान सुरु गर्न उडान तालिका स्वीकृत गराएका छन् । यता, नागरिक उड्डयन प्राधिकरणको विवाददेखि गौशाला धर्मशाला प्रकरणसम्मै समस्या समाधानभन्दा थप समस्या बढाउने गतिविधिमा मन्त्री स्वयम् मुछिए । गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि उनी विवादित छन् ।

ओली क्याबिनेटमा रहेका नयाँ अनुहारमध्ये प्रदीप पौडेल पनि एक हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले सुरुवाती दिनदेखि नै आफ्नो सक्रियतालाई तीव्रता दिए । जसका कारण अनुभवी अनुहारभन्दा पनि उनी केही हदसम्म सफल देखिए । स्वास्थ्य बिमा ५ लाख पु¥याउने घोषणा गरेका उनले देशका सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरे । यस्तै, सरकारी अस्पतालको भिड व्यवस्थापन गर्न १७ वटा संघीय अस्पतालमा अनलाइन प्रणाली सुरु गरे भने २ सिफ्टमा ओपीडी सेवा सञ्चालनमा ल्याए । सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्नेदेखि स्वास्थ्य स्वयसेविकालाई निःशुल्क यातायात सेवासम्ममा सहमति जुटाउन सफल देखिए । ओली क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये यी प्रतिनिधि पात्र मात्र हुन् । प्रधानमन्त्रीसहित २५ जना रहेको क्याबिनेटका केही मन्त्री सय दिनसम्म गुमनामकै अवस्थामा रहे भने चर्चामा रहेका पनि कार्यप्रगतिमा खरो उत्रिन सकेनन् । केही मन्त्रीहरुको कार्यप्रगति औसत देखिए पनि अधिकांश मन्त्रीको कमजोर कार्यप्रगतिले जनताको निराशा चिर्न सकेन । सय दिन नबित्दै सत्तारुढ गठबन्धन मन्त्रिपरिषद हेरफेर गर्ने तयारीमा रहेको चर्चा सुरु भएको छ । मन्त्रीहरुको रिपोर्ट कार्ड चेकजाँच गर्ने निर्देशन दिएका प्रधानमन्त्री ओलीले यसको विश्लेषण कसरी गर्छन् आम चासो छ ।योहो खबरबाट