मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुशिलको वनयत्राः अचानक इन्ट्री, असाधारण क्षमता प्रदर्शन !

शुशिलको वनयत्राः अचानक इन्ट्री, असाधारण क्षमता प्रदर्शन !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । यसो भनौँ वनको अध्यक्ष पदमा उनले नसोचेको जर्वजस्त जित हासिल गरे । उनको बारेमा न पहिले चर्चा नै थियो, न उनी यस्तोउस्तो भनेर चिनिएका थिए । एकप्रकारले उनी गुमनामजस्तै थिए । उनी अध्ययन गरिरहेका छन्, नेपालमै थिए या बाहिरबाट आएका हुन् स्थानीयबाहेक कसैलाई केहि थाहा थिएन ।

उनी स्थानीय युवाहरुसंग बिभिन्न खेलहरु खेल्ने लगायतका कार्य भने गरिरहन्थे । तर उनमा यस प्रकारणको काम गर्ने असाधारण क्षमता थियो भन्ने कुरा बल्ल थाहा हुँदैछ, जतिखेर उनले काम गर्ने अवसर पाए अर्थात् श्रृङ्गीघाट सामुदायिक वनमा अध्यक्ष पदमा जिते ।

वनको त्यहि नेतृत्व क्षमताका कारण बाणगंगामा उनलाई अहिले सम्भावना बोकेका, समाजको नेतृत्व गर्ने क्षमता र शिल्प भएका युवा भनेर अर्थयाउन थालिएको छ । वनको कुरा हुँदा पनि उनको नेतृत्वको कामको सुरुमा चर्चा हुने गर्दछ भने स्थानीय स्तरमा क्षमतावान् नयाँ युवाहरुको लिस्टमा पनि उनी अग्रपंतिमै आउँछन् भन्दा फरक पर्दैन ।

उनी हुन् शुशिल सिंह ठकुरी ‘गणेश’ । शुशिल ठकुरीको नाममा उनी चर्चित छन् । मिति २०७८ असोज १८ गते उनको लागि अमिट दिन बन्यो । लामो समय वन हाँकीरहेकी वनलेडीको रुपमा चित्रित रेनु सेनमाथि शुशिलले जित हासिल गरेका थिए । १४ टोलबाट छानिएका १५४ मतमध्ये १५० मत खसेकोमा शुशिलले ३३ मतको फरक हुने गरी चुनाव जितेका थिए । यो चानेचुने जित थिएन । उनको यो जितलाई धेरैले अस्वभाविक भनेका थिए । अनुभवहिन युवाले यति ठुलो वन हाँक्न सक्दछ त भन्ने लख पनि काटिन्थ्यो । अनि अर्को शंका थियो उनले सबैलाई मिलाएर लैजाने सामर्थ्य राख्न सक्ला कि नसक्ला ?

यस्तै अनेकौँ प्रश्न र शंकाको घेरा छिचोल्दै अघि बढेका शुशिलले सानदार अवतरण गरेका छन् । उनको पहिलो कार्यकालको मुल्यांकन गर्दा अहिले सबैबाट प्रसंसा छ भने अब पनि उनको नेतृत्व आउनुपर्नेसम्म कुरा आएका छन् । चाहे चुनाव होओस् चाहे सर्वसम्मत, शुशिल र यहि कार्यसमितिको पक्षमा जनमत बढ्दो छ ।

उनको नेतृत्वले यस क्षेत्रका जनता र उपभोक्तालाई यसरी लोभ्याइरहेको छ कि एक जना युवा अवसर नपाएर आजसम्म गुमनाम भएका रहेछन् । अरु बेला धेरै नबोल्ने, साधारण जीवनशैली र स्वभाव, घुमफरि–सपिङमा रमाउने युवा सोच भएका शुशिल योजना र भिजनका बारेमा अहिले टक्कर लिनेगरी जोसंग पनि मज्जाले बोल्न र वहस गर्न सक्दछन् । वनको नेतृत्वमा आएपछि उनले आफूलाई यसरी माझ्न सफल भएका छन् ।

उनको दिमाग कतिसम्म रचनात्म्क रहेछ भन्ने कुरा उनको पहिलो कार्यकालको अन्तिम कार्यबाट बुझ्न सकिन्छ । वडा नम्बर ४ तौलिहवा रोडमा निर्माण भएका बुद्धमूर्तिलाई उनले एक जना मुसलमान नेताको करकमलबाट अनावरण गराए । यो कार्यको अहिले चौतर्फी प्रसंसा छ ।

तौलिहवा रोडमा राखिएका ३ वटा मुर्ति संविधान सभा सदस्य अतहर कमाल मुसलमानले अनावरण गरेका थिए । यो दिमाग शुशिलकै थियो । मुर्ति अनावरणपछि मुसलमानले यस्तो संयोग मुलुकमा विरलै भेटिने गरेको भन्दै आफू अत्यन्तै खुसी भएको बताउँदै वनको प्रसंसा गरेका थिए ।

टिममा नेतृत्वको विपक्षमा रहेर सवालजवाफ गर्ने एकदुई जना त विश्वभरकै संस्थामा हुन्छन् तथापि शुशिलको भिजन र काम गराइमा वनका लगभग् सबै पदाधिकारी, सदस्य र अधिकांस उपभोक्ताको एक ध्वनी देखिन्छ ।
शुशिलसंग कन्भिन्स हुनुको पछाडी एक मात्र कारण हो इमान्दार चरित्र, नयाँ–नयाँ भिजन र डिसिजन लिने पावर (निर्णय क्षमता) । पहिलो कुरा त शुशिलका यस्ता योजना हुन्छन् कुरा काट्ने आँट कसैमा हुँदैन । दोश्रो कुरा योजना र कामका विषयमा उनले सबैसंग सल्लाह गर्दछन् ।

उनको ३ बर्षे कार्यकाल समिक्षा गर्दा उनले चाहे वन विकासको सवाल होओस् चाहे सामाजिक र भौतिक पूर्वाधार अनि उपभोक्ता केन्द्रित कार्यक्रमहरु, सानदार ढंगका कार्यक्रमले शुशिलको नेतृत्व टिमले सबैको मन जितेका छन् ।
वनले नगर र वडाले गर्ने कार्यक्रम नै ल्यायो । त्यसमध्येको चर्चित कार्यक्रम थियो वनका उपभोक्ताको स्वास्थ्य विमा कार्यक्रम । यस कार्यक्रमले देशभर नै चर्चा पायो । अहिले १ सय अति विपन्न परिवारले वनको स्वास्थ्य विमाबाट १ लाखसम्मको उपचार सजिलै पाइरहेका छन् ।

कतिपय संस्थाहरु युवाहरुकै नेतृत्वका कारण ध्वस्त भएका छन् विग्रिएका छन् । तर शुशिल यस्ता पात्र बने युवाको काँधमा कुनै पनि संघ संस्था र नेतृत्व पर्यो भने बन्छ, अघि बढ्छ, धेरै गर्न सक्दछ ।

वन विज्ञान अध्ययन गर्ने उपभोक्ताका सन्तान छोराछोरी खोजीखोजी ४ लाख बढी छात्रवृत्ति कार्यक्रम पनि उनैले ल्याए । फालिएका कागजबाट झोला बनाउने तालिमदेखि वनका उपभोक्ता र कार्यसमितिको लागि क्षमता विकास गर्न उद्घोषण र भाषण कला कार्यक्रम पनि सम्पन्न गरे । गत ३ बर्षमध्येमा गत आर्थिक बर्षमा श्रृङ्गीघाटले गरेका कामले ठुलो चर्चा पाइरहेका छन् ।
बिभिन्न स्कुलमा छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण, गाउँघरमा कल्भट, ससाना बाटा निर्माण कार्यमा पनि वनले उल्लेख्य काम गरेको छ ।
उपभोक्ता मातहतमा रहेका युवाहरुलाई प्रेरित गर्न खेल सामाग्री वितरणदेखि राष्ट्रियस्तरका खेलकुदमा पनि उनको नेतृत्वले मन खोलेर लगानी गरिरहेको छ । उनका सबै गतिविधि हेर्दा स्थानीय सरकारभन्दा कम प्रभावशाली छैनन् । वन विकास संरक्षणको लागि पनि उनले धेरै राम्रा राम्रा काम गरेका छन् । यी सबै काम हुनको पछाडी कार्यसमिति, उपभोक्ता, जनप्रतिनिधि र मिडियाकर्मीको भूमिका अहम् रहेको उनी बताउँछन् ।

शुशिल नेपाली काँग्रसनिकटका ब्यक्ति भए पनि उनले वनमा कहिल्यै पनि राजनीति घुसाएनन् । यो नै उनको अब्बल ब्यक्तित्व हो । सबै दल र ब्यक्तिलाई उनले नत चिढाउने काम गरे न असमझदारीका गतिविधि ।
वनका उपाध्यक्ष बुद्ध बहादुर शाही, कोषाध्यक्ष हरि पौडेल, सचिव शुस्मा खाँण लगायत अरु पदाधिकारी र सदस्यहरु नै आफ्नो सफलताका श्रेय रहेको शुशिल बताउँछन् ।
कोषाध्यक्ष हरि पौडेल पनि शुशिलमा यो खालको क्षमता रहेको कुरा संगै काम गरेबाट थाहा पाएको बताउँछन् । आफू मात्र नभएर सिंगो टिम नै अध्यक्षबाट खुसी भएको उनको भनाई छ ।

उनी युवाहरुलाई पनि नेपालमा केहि गर्न प्रेरित गर्दछन् । अब ३ /५ बर्ष यहिँ थेगिन सके सक्षम युवाहरुले यहाँ नै धेरै गर्न सक्ने उनी बताउँछन् । वर्तमान नेताहरुले युवाहरुलाई भर्खर अवसर दिने पक्का भएको भन्दै अबको केहि बर्षमा उनीहरुको आफै डेट एक्सपायर हुने र पालो सक्षम युवाहरुको नै आउने भन्दै दुख सुख गरेर यहि टिक्न युवाहरुलाई प्रेरित गरिरहेका छन् ।

अध्यक्ष ठकुरी अब पनि आफूसंग अहिले गरेकाभन्दा विशाल र महत्व राख्ने कार्यक्रम रहेको बताउँछन् । उनको सपना छ कि बुद्धत्वको ब्यापक प्रचार र मान्छेको मनमा सकारात्मक सोँच निर्माण गर्ने । यसको लागि उनले बुद्धको मुर्ति स्थापनाबाट सुरुवात गरेका छन् ।
शुशिल भन्दछन्, ‘अब बाणगंगा नगरभरी नै मुद्धत्व झल्काउने खालका गुम्बाहरु बनाउनु पर्दछ । हरेक सरकारी कार्यालय र नीजि संस्थाले पनि आफ्ना कार्यालयको प्रवेद्धार अघि यस आकारका संरचना बनाएको खण्डमा त्यहाँ पुग्ने वित्तिकै मान्छेको मनमा सकारात्मक धारणा जागृत हुनेछ र मनबाट खराब विचार हट्ने छ । यसले हाम्रो समाज थप सकारात्मक दिशामा अघि जाने छ भन्ने विश्वास लिएको छु ।’ मान्छेको मनमा सात्विक धारणा विकास हुँदा समाजको मनोदशा परिवर्तन हुने उनको विश्वास छ ।

शुशिलको अर्को सपना छ, मुलुकभरका वनविज्ञान गर्ने विद्यार्थीलाई श्रृङ्गीघाट वनमा अवतरण गर्ने । यसको लागि उनको प्लान छ, बाणगंगा नदीबाट अण्डरग्राउण्डमार्फत् पानी तानेर ठुलो ट्यांकीमा जम्मा गर्ने । अण्डरग्राउण्डमार्फत् नै फायरलाइन र पाइप विस्तार गरी ठाउँठाउँमा पुर्याउने । वनका बीचबीचमा पानी संकलन केन्द्र बनाउने ।
यो कार्य नेपालमै पहिलो हुने बताउँदै शुशिलले यस योजना सम्पन्न भएपश्चात वन विज्ञान अध्ययन गर्ने नेपालभरीका विद्यार्थी कपिलवस्तु आउने दावी गर्दछन् । यो कार्यले आगोलागि बन्द गर्ने, पानीका मुहान सुकेर प्यासले छट्पटिएका वन्यजन्तु र चराचुरुङको प्यास भर्ने कार्यमा ठुलो टेवा दिने अध्यक्ष ठकुरीको दावी छ । यी महत्वकाँक्षी योजना पुरा गर्नको लागि लागि बजेट विनियोजन भइसकेको उनी बताउँछन् ।

आफ्ना यी कार्य अघि बढाउने सवालमा उनले कपिलवस्तुबाट भर्खर सरुवा भएर गएका डिएफओ विजयराज सुवेदीलाई सम्झन्छन् । सुवेदीबाट यी योजनाको नीरिक्षण भएको र अघि बढ्दा मुलुकभरको लागि ठुलो सन्देश हुने कुरा अनुगमनको क्रममा सुनाएको अध्यक्ष ठकुरीले अपिटाइम्सलाई सुनाए । सुवेदीको मार्गदर्शनले आफूलाई थप उर्जा भर्ने काम गरेको उनी बताउँछन् ।

अध्यक्ष पदको लागि आफू मरिहत्ते नगर्ने तर सबैले अगाडी बढाएर सर्वसहमति गरे पछि नहट्ने उनको भनाई छ । उनी भन्छन् ‘सबैबाट फेरि पनि मलाई नै अध्यक्ष बन्नुपर्छ भन्ने कुरा आइरहेको छ । सर्वसहमतिमै भए पनि र चुनाव नै भए पनि एक कार्यकाल थप काम गर्न पाए मेरा बाँकी सपना पुरा हुने थिए । मेरा योजनामा सबैले साथ दिनुभएकोमा धन्यबाद दिन चाहान्छु ।’
अबको अधिवेशनले निर्वाचन मण्डल बनाउने र उक्त निर्वाचन मण्डलले १४ मौजामार्फत् प्रतिनिधि छानेपछि मात्र अरु प्रकृया अघि बढ्ने उनको भनाई छ ।

आफूमा अझै पनि कमिकमजोरीहरु रहेको भन्दै आगामी दिनमा थप परिस्कृत हुँदै जाने उनी बताउँछन् । जानेर गल्ती र कमजोरी नगरेको स्मरण गर्दै वनको नेतृत्वमा कमजोरी रहेको भए सुझाव सल्लाह दिन उनले सबैलाई आग्रह गरे ।