कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा भइरहेको कपिलवस्तु महोत्सव, कृषि, उद्योग तथा पर्यटन प्रदर्शनीमा अर्को बर्षदेखि क्रमभङ्गता हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा वेलफेयर सोसाइटीले आलोपालो महोत्सव गर्दै आएकोमा अर्को बर्ष यी २ संस्थाले महोत्सव आयोजना गर्न नपाउने भएका हुन् ।
अब यस श्रृङ्खलामा अर्को बर्षदेखि उद्योग ब्यापार संघ कपिलवस्तु थपिएर महोत्सवलाई नयाँ ढंगले संचालन गर्ने भएको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । विसं २०८२ सालमा आफूहरुले महोत्सव गर्ने पक्का भएको भन्दै संघले सहमति पत्र नै सार्वजनिक गरेको छ ।
सहमति पत्रमा कपिलवस्तु उद्योग बाणिज्य संघको तर्फबाट निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, बाणगंगा वेलफेयर सोसाइटीको तर्फबाट वरिष्ठ उपाध्यक्ष खड्क आले, उद्योग ब्यापार संघका कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल, पूर्वअध्यक्ष उमानाथ पौडेलले हस्ताक्षर गरेका छन् ।
नगर प्रमुख चक्रपाणी अर्यालको रोहबरमा सहमती पत्र नै बनेपछि अब अर्को सालको महोत्सव आफूहरुले गर्नबाट कसैले रोक्न नसक्ने अध्यक्ष पौडेलले दावी गरे ।
आफूहरुले गर्ने महोत्सव अहिलेसम्म भएका महोत्सव भन्दा फरक रहने अध्यक्ष पौडेलले बताए । उक्त महोत्सवमा ४०० स्टल रहने र २०० स्टल स्थानीय ब्यवसायीका लागि छुट्याइने पौडेलले बताए ।
अहिले भइरहेका महोत्सवहरु उन्नत हाटबजारहरुजस्ता भएको हुँदा अब नया ढंगको सोँच निर्माण गर्न जरुरी रहेको अध्यक्ष पौडेलको भनाइ छ ।
संघका संरक्षक तथा उद्योग बयापार संघका केन्द्रिय सदस्य टोप नारायण बेलबासेले आफूहरुले गर्ने महोत्सव १६ /१७ औँ नभएर पहिलो पनि हुन सक्ने बताए । उनले भने म पहिलेदेखि नै कपिलवस्तु उद्योग बाणिज्य संघमा रहँ । अब त्यताको अनुभव र नयाँ साथीहरुको सहकार्यमा अबको महोत्सव विशेष हुनेछ । हाम्रो पहिलो हआयोजना भएकाले हामीले पहिलो भनेर पनि राख्नेछौँ । १५ /१६ औँ १७ औँ भनेर नहुन पनि सक्दछ ।
यसैबीच आगामि मंसिर १९ गतेदेखि सञ्चालन हुन लागेको १५ औँ कपिलवस्तु महोत्सवलाई सफल बनाउन आफुहरु तत्पर रहेको संघका अध्यक्ष कोपिलले बताए । महोत्सव सफल पार्न एक बर्ष अघि देखि नै तयारी गर्नुपर्ने संघका सदस्यहरुले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष तथा संघका प्रेस सल्लाहकार डिला भुसालले पनि महोतसवलाई सफल बनाउनु पर्ने बताए ।
कार्यक्रममा संघका पदाधिकारी, यस क्षेत्रका सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया