मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनः दलहरूको मध्यावधि परीक्षा, किर्तिपुरमा यसकारण ठुला दल तनावमा

उपनिर्वाचनः दलहरूको मध्यावधि परीक्षा, किर्तिपुरमा यसकारण ठुला दल तनावमा

अपि टाइम्स

काठमाडौँ । राजनीतिक दलहरूले स्थानीय तह उपनिर्वाचनलाई आफ्नो मध्यावधि जनमत परीक्षणका रूपमा लिएका छन् । स्थानीय तहको ५ वर्षे कार्यकालको आधा अवधि पूरा भएको बेला आगामी आइतबार स्थानीय तहका करिब साढे तीन दर्जनमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको नतिजाले आगामी निर्वाचनसम्मलाई प्रभाव पार्न सक्ने रहेकाले वडा तहको चुनावमा पनि दलहरू शक्ति केन्द्रित गरेर सक्रियतापूर्वक होमिएका छन् ।

दुई जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहका ४२ पदका लागि उपनिर्वाचन गरिएकामा ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध भइरहेको छ । ओखलढुंगामा कांग्रेसका टेकराज भट्टराई र कैलालीमा कांग्रेसकै टीकाकुमार चौधरी (भुल) निर्वाचित भएका हुन् । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा पनि माओवादीका जगत घर्ती निर्विरोध चयन भइसकेका छन् ।

उपनिर्वाचन हुन लागेका ४१ स्थानमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले २७ वटामा जितेको थियो । ४१ मध्ये ४० स्थानमा कांग्रेसले उम्मेदवारी दिएको छ । उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका कीर्तिपुरमा कांग्रेस, एमाले, माओवादी प्रमुख प्रतिस्पर्धी भए पनि स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने स्थानीयको विश्लेषण छ । २०७९ मा भएको निर्वाचनबाट कांग्रेसका राजकुमार नकर्मी प्रमुखमा निर्वाचित भएका थिए । उनको मृत्युपछि उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुरमा नगर प्रमुखका लागि २० जनाले उम्मेदवारी दिएका छन्, त्यसमध्ये ११ जना स्वतन्त्र छन् । कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादीले शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले यहाँ उम्मेदवारी दिएको छैन । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई समर्थन गरेको छ । यहाँ स्वतन्त्रबाट उम्मेदवार बनेका राजमान मानवले पनि चर्चा बटुलिरहेका छन् । धरानका प्रमुख हर्क साम्पाङ उनको पक्षमा प्रचारमा उत्रिएका छन् । यही उपनिर्वाचनबाट कीर्तिपुरका वडा न। १ र ४ मा पनि वडाध्यक्ष चयन हुनेछन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कीर्तिपुरसहित अधिकांश स्थानीय तहमा जित हासिल पार्ने दाबी गर्छन् । ‘उपनिर्वाचन जनताको पछिल्लो अभिमत थाहा पाउने अवसर हो,’ उनले भने, ‘हाम्रो २७ स्थानमा खाली भएको थिया । कीर्तिपुरको मेयरसहित त्योभन्दा बढी स्थानमा जित्ने गरी लागिपरेका छौं ।’

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि उपनिर्वाचन हुँदै गरेका अधिकांश स्थानमा एमालेले जित्ने दाबी गरेका छन् । विगतमा एमालेले जितेका ९ स्थानमा उपनिर्वाचन हुँदै छ । ‘कीर्तिपुरसहित बहुमत स्थानमा जित्ने गरी लागेका छौं,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, पार्टीको बलियो संगठन र जनाधारका कारण धेरै स्थान जित्छौं,’ उनले भने ।

माओवादीका उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटा सरकारमा रहेका बेला सुशासनको पक्षधर, भ्रष्टाचारको खरो विरोधीको पहिचान बनाएकाले चुनावमा जनताको साथ पाउने दाबी गरे । उनले भने, ‘पार्टी बढी एकताबद्ध भएर लागेको छ, चुनाव जित्छौं ।’