मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९८ बर्षिय थाइ प्रोफेसर सुजिनद्धारा मधुवनधाममा अभिप्रेरणा

९८ बर्षिय थाइ प्रोफेसर सुजिनद्धारा मधुवनधाममा अभिप्रेरणा

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बहुचर्चित धार्मिक वन मधुवनधाममा जीवन जगत्का बिबिध आयाम र बौद्ध धर्मका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सारीपुत्र फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा देशविदेशका सयौँ ब्यक्तिको सहभागिता थियो ।

प्रमुख वक्ताको रुपमा थाइल्याण्डकी ९८ बर्षिय प्रोफेसर अचान सुजिन बोरीहर्नवानाकेल थिइन् भने उनीसंगै थाइल्याण्डबाट नेपाल आएका बिभिन्न भिक्षु, भिक्षुणी, विद्धान, विदुषी र यस क्षेत्रका बिभिन्न धर्ममा आस्था राख्ने ब्यक्तिको सहभागिता थियो ।

कार्यक्रममा थाइ प्रोफेसर सुजिनले समय सुत्त देसना स्थल मधुबन धाममा बुद्धलाई कसरी चिन्ने ? र बुद्ध उपदेशको बारेमा बताएकी थिइन् । सहभागिले बौद्ध धर्म, बुद्धत्व, जीवन जगत्का विभन्न शाश्वत् र जान्नै पर्ने विषयमा रुचीका साथ प्रश्नहरु सोधेका थिए । ती प्रश्नको जवाफ सुजिनले थाइ भाषामा दिएकी थिइन् भने त्यसको अनुवाद गरेर बुझाउने काम मधुवन धाम बौद्ध विहारका विहारका प्रमुख सुमंगलो भन्तेले गरेका थिए ।

कार्यक्रममा सहभागिले सोधेका विषयले सुचि निकै खुसी भएको भन्तेले सुनाए । नेपालका धेरै स्थानमा यस्ता कार्यक्रम भए पनि मधुवन धामको कार्यक्रम विशेष लाग्ने भन्तेको दावी छ । काठमाण्डौँको कोटेश्वरमा भर्खरै कार्यक्रम सम्पन्न गरेर आएको जानकारी दिँदै भन्तेले मधुवन धामको कार्यक्रमपछि अब लुम्बिनीमा पनि कार्यक्रम हुने बताए ।

औपचारिक सत्रमा विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको सहभागिता थियो । उनले ९८ बर्षिय सुजिनबाट ज्ञान प्राप्त गर्न पाउँदा खुसी लागेको बताए ।

सुजिनसहितका पाहुनालाई स्वागत गर्न पाउँदा आफू धेरै खुसी भएको सांसद पन्थीले बताए । मधुवन धामले अब देशविदेशका पर्यटक तानिरहेको भन्दै स्थानीय तह र प्रदेश सरकारले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।

सोही सन्दर्भमा धाममै निशुल्क शिविर पनि राखिएको थियो । देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु, छाला, नाक, कान घाँटी, स्त्री तथा प्रसुति जाँच गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक परामर्श दिइएको थियो भने निशुल्क औषधी पनि वितरण गरिएको थियो । स्थानीयहरुले निशुल्क स्वास्थ्य जाँचले धेरै सहयोग पुगेको बताए । विशेष गरी वडा नम्बर ८ का स्थानीयको त्यहाँ बाक्लो सहभागिता थियो । मधुवन धाममा यसअघि पनि गत वैशाखमा यस्तै कार्यक्रम भएको थियो ।मधुवन धाम गौतम बुद्धले शाक्य तथा कोलिय कुमारहरु, भिक्षुहरु तथा देवताहरुलाई महासमय सुत्र प्रदान गरेको पवित्र ठाउँ हो । विश्वभरका बौद्धमार्गीमा यो ठाउँ अहिले निकै प्रचलित हुँदै गइरहेको छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउँदै स्थानीय