मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ कपिलवस्तु महोत्सवः पर्सी पर्यटनमन्त्रीले उद्घाटन गर्ने, यस्ता छन् विशेषता

१५ औँ कपिलवस्तु महोत्सवः पर्सी पर्यटनमन्त्रीले उद्घाटन गर्ने, यस्ता छन् विशेषता

अपि टाइम्स

जितपुर । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा मंसिर १९ गते (पर्सी) देखि सुरु हुने १५ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी पुरा भएको छ । निकै चर्चा भइरहेको महोत्सवको तयारी ९० प्रतिशत सकिएको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

संघका अध्यक्ष तथा ५०० सदस्यीय महोत्सव मूल समारोह समितिका संयोजक गणेश बहादुर क्षेत्रीले पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले महोत्सवको उद्घाटन गर्ने बताए ।

आफूहरुले लगाउने महोत्सव लुम्बनी प्रदेशकै सर्वाधिक दर्शक ओइरने महोत्सवमध्येको महोत्सव भएकाले संघीय सरकारका मन्त्रीलाई यहाँको कला, संस्कृति, पर्यटनको सम्भावनाबारे जानकारी दिन पर्यटनमन्त्रीलाई प्रमुख अतिथि बनाइएको क्षेत्रीले बताए । महोत्सवमा स्थानीयक कला, संस्कृति, पर्यटन र औद्योगिक क्षेत्रका विशेष वस्तु र उत्पादनहरुको प्रदर्शनी हुने उनको भनाई छ । त्यसको लागि ५० स्टललाई निशुल्क रुपमा दिइएको पनि उनले जानकारी दिए ।

क्षत्रीले २ लाख दर्शकले यस महोत्सवको अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको बताए । महोत्सव मिति नजिँकिदै गर्दा आफूहरुले भन्दा स्थानीयले यसको अपनत्व ग्रहण गरेकासमेत उनले बताए । क्षेत्रीले भने, ‘यसपटक यतिधेरै खुसी भएका छौँ कि हामीले भन्दा पनि यहाँका संघसंस्था, आमा समुह, युवाक्लवले महोत्सवको अपनत्व लिनुभएको छ । हरतरहको साथ र सहयोग हामीले यतिधेरै पाएका छौँ कि कुनै कमजोरी गर्ने छुट छैन ।’

क्षत्रीले साना कमीकमजोरीमा पनि आफूहरु सतर्क रहेको बताए । महोत्सवमा जुवातासलाई बन्देज लगाइएको, जुवा प्रकृतिका कुनै खेल खेल्न र खेलाउन नदिने गरी तयारी भएको जानकारी दिए ।
शान्ति सुरक्षाको दृष्टिकोणले पनि कुनै चिन्ता नगरी महोत्सवमा भित्रन दर्शकलाई क्षेत्रीको आग्रह छ । पत्रकार सम्मेलन आयोजनाको महत्वबारे स्पष्ट पार्दै संघका वरिष्ठ उपाध्यक्ष तथा निर्देशक हुमानाथ पौडेलले यसपटकको महोत्सव विशेष नै हुने बताए । पत्रकारहरुबाट सकारात्मक समाचार र सन्देश पस्कन पनि उनको आग्रह छ ।

महोत्सवको सचिवालयमा पत्रकारको लागि मिडिया डेस्क पनि बन्ने उनको भनाई छ । महोत्सवको प्रवेशद्धारदेखि नै दर्शक लोभिने गरी स्टल र स्टेजलाई आकर्षक बनाउन लागिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्यले महोत्सव सफल बनाउन सबै पत्रकारलाई आग्रह गरे । कपिलवस्तु महोत्सवले प्रदेशमै जिल्लालाई चिनाउने काम गरेको भन्दै यहाँको ब्यवस्थापन सदैव राम्रो हुने गरेको उनले बताए । संघका महासचिव नवदत्त घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा ५० बढी पत्रकारको सहभागिता थियो । उनीहरुले महोत्सवबारे उठिरहेका बिभिन्न प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, बाणिज्य उपाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष कृष्ण गैरे लगायतको सहभागिता थियो ।

यस्ता छन् विशेषता
२ लाख दर्शक, १० करोडको कारोबार
स्थानीय, कला, कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी
१३ औँ डान्स आइडल
बिभिन्न जातजातिको झाँकी प्रदर्शनी र धर्म प्रवचन
महोत्सवको मूल गेट पशुपतिनाथको मन्दिरको आकारमा
पहिलोपटक बालुवामा साइक्लिङ र लुम्बिनी प्रदेशस्तरीय भलिबल
थारु लगायतका स्थानीय रैथाने खानाको ब्यवस्था
स्थानीय काठमा निर्मित मायाको चिनो
प्रदेशकै आकर्षक स्टेज र एलइडीको ब्यवस्था
स्थानीय ब्यापारीलाई १५देखि ३५ प्रतिशतसम्म स्टल छुट
विज्ञान र धार्मिक प्रर्दशनी र प्रवचन
राजेश हमालबाट कपडा बैङ्कको उद्घाटन