जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा आयोजना गरिएको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा वडा नम्बर २ पिपरास्थित हिलवर्ट इङलिश बोर्डिङ स्कुल र वडा नम्बर २ राजपुरमा रहेको ज्ञानपुञ्ज इर्ङलिश बोर्डिङ स्कुल प्रथम भएका छन् ।
निकै कडा प्रतिस्पर्धाको बीचमा भएको प्रतियोगिताको सिनियर तर्फ ८६ दशमलव ५ अंक हासिल गरी हिलवर्ट प्रथम भयो भने ८५ दशमलव ५ अंक हासिल गरी होराइजन आवासिय मावी सिद्धिपुरले दोश्रो स्थान हासिल गरेको थियो ।
यस्तै ८३ दशमलव ५ अंकसहित ज्ञानपुञ्ज तेश्रो हुँदा ८२ प्रतिशत अंक हासिल गरी बालमावी वैरियाले प्रोत्साहन स्थान हासिल गर्न सफल भएको महोत्सव विद्यालयस्तरीय कार्यक्रमका संयोजक बासुदेव घिमिरेले जानकारी दिए ।
यस्तै जुनियरतर्फको प्रतिस्पर्धामा भने ज्ञानपुञ्जले प्रथम स्थान हासिल गर्यो भने हिलवर्टले दोश्रो स्थान हासिल गरेको छ । यस्तै बाणगंगा मावि तृतीय र सिटी मन्टेश्वरीले सान्तवना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजेताहरुलाई महोत्सवको समापनमा पुरस्कृत गरिने घिमिरेले बताए । लोक नृत्यमा निकै कडा प्रतिस्पर्धा भएकाले निर्णय गर्न पनि सकस भएको संयोजक घिमिरेले बताए ।
प्रतियोगितामा सहभागि विद्यालयको मिहिनेतको सबैले प्रसंसा गरेका थिए । १५ औँ महोत्सव विद्यालयस्तरीय प्रतियोगिता देखाउने शैक्षिक महोत्सव भएको दावी गर्दै संयोजक घिमिरेले आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघलाई धन्यबाद दिए ।
महोत्सवमा लोक गायन, स्कुलस्तरीय छात्रा भलिवल, ब्याडमिन्टन र वक्तृत्वकला प्रतियोगिता पनि राखिएको छ । शुक्रबार र शनिबार ब्याडमिन्टन प्रतियोगिता भएको छ ।
प्रतिक्रिया