मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो एनपिएलको च्याम्पियन बन्यो जनकपुर बोल्ट्स, दिपेन्द्रले पाए कार

पहिलो एनपिएलको च्याम्पियन बन्यो जनकपुर बोल्ट्स, दिपेन्द्रले पाए कार

अपि टाइम्स

काठमाडौँ । सुदूरपश्चिम विरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो ।

जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो । फाइनलअघि मिडियासँगको कुराकानीमा जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा राम्रो क्रिकेट खेल्ने बताएका थिए । उनले भने जस्तै फाइनलमा जसले राम्रो क्रिकेट खेल्यो उसैले जित्यो ।

बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।

जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सातौं ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिम रोएल्सका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

ओपनरले राम्रो सुरुवात दिलाए पनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । जनकपुरका ललित र सुदूरका स्कट कुगेलेइन दुवैले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिए ।

फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अर्धशतक बनाएका उनले दुई अर्धशतक सहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।
यसैबीच सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।