मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याबसन रुपन्देहीको अध्यक्षमा खनालः एमालेमा पोख्रेल गुटको जित र पौडेल पक्षको हार

प्याबसन रुपन्देहीको अध्यक्षमा खनालः एमालेमा पोख्रेल गुटको जित र पौडेल पक्षको हार

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बुटवल । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन ‘प्याबसन’ रुपन्देहीको आगामी ३ बर्षे कार्यकालको लागि अध्यक्षमा दिपक खनालले बाजी मारेका छन् ।

गत पौष २५ गते भएको प्याब्सनको १६ औं अधिवेशनमार्फत् खनाल अध्यक्षमा विजयी भएका हुन् । खनालले काफ्लेलाई झण्डै आधा मतान्तरमा हराए । निजी विद्यालयलाई सवल, समृद्ध, गतिशील र प्रभावकारी बनाउनका लागि आफ्नो उम्मेदवारी रहने दावी गरेका एमालेका सक्रिय युवा नेता खनालले आफ्नै पार्टीका प्रतिद्वन्दी एकनारायण काफ्लेलाई भारी मतले हराए । जम्मा १५८ मत खसेकोमा खनालले ९६ मत हासिल गरे भने काफ्लेले जम्मा ५४ मत प्राप्त गरेका थिए । रुपन्देहीमा १८३ विद्यालयका संचालक प्याबसनको सदस्य रहेका छन् ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा श्री कुलराज शर्मा, उपाध्यक्षमा भोजराज पौडेल, सचिवमा बोधराज गौडेल, सहसचिवमा गोकुल पोखरेल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कपिलमणि ढकाल र सहकोषाध्यक्षमा श्बाबुराम पौडेल चयन हुँदा सदस्यहरुमा
शंकर प्रसाद भट्टराई, प्रतिष्ठा चालिसे, उमापति न्यौपाने, यमन गण्डारी, बसन्त पाण्डे, राज कुमार गुरुङ्ग, नर बहादूर क्षेत्री, लेखनाथ गैरे, चन्द्रिका चाइ, विशाल चौधरी, सुरेन्द्र सुवेदी, नन्दलाल चौहान, दिर्घपाल गोसाइ चयन भएका छन् । खनालको जितलाई अहिले बिभिन्न तवरले हेर्न थालिएको छ ।

संस्थागत अर्थ
मुलुकमै शिक्षाको हव मानिएको रुपन्देही जिल्लाका अधिकांस बोर्डिङ स्कुलका संचालकले खनालको जितले संस्थागत हित हुने अनुमान गरेका छन् । धेरै संचालकको भनाई छ, ‘यसपटक प्याबसनले राम्रो नेतृत्व पाएको छ । खनाल अनुभवी छन् । उनमा तल्लो तहबाट काम गरेको अनुभव छ । जित्ने ब्यक्तिले चुनाव जितेका छन् ।’

अध्यक्ष अघि खनाल प्याबसनको सचिव थिए भने त्यसअघि जिल्लाको कोषाध्यक्ष र सदस्यमा पनि एकएक कार्यकाल बिताएका थिए । यस्तै खनालले प्याबसन तिलोत्तमाको नगर सचिव भएर काम गरेको अनुभव पनि छ ।
संस्थामा गरेको काम र योगदानको आधारमा आफूलाई सबैले विश्वास गरेको खनालको भनाई छ । आफ्नो जितलाई ठुलो रुपमा नलिँदै अध्यक्ष खनालले मत प्रकट गर्ने सबैलाई धन्यबाद दिए । उनले थपे, ‘मेरो जितमा हृदयबाट मत प्रकट गर्ने र नगर्ने सबैप्रति आभारी छु । चुनावसम्म जहाँ रहे पनि अब साझा भएर काम गर्नेछु । मैले जित्नु भनेको युवाको प्रतिनिधित्व हो । मैले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाउँदछु ।’

रुपन्देहीका नीजि विद्यालयका संचालकले पनि खनालको जितलाई युवाहरुको जितकै रुपमा लिएका छन् । ‘रुपन्देहीको खेलकुद र शिक्षा क्षेत्रमा ज्यान दिएर काम गरेका ब्यक्ति अहिले अध्यक्ष बन्नुभएको छ’, एक जना बोर्डिङ संचालकले भने ।

राजनैतिक अर्थ
खनाल एमालेमा सक्रिय रहेका ब्यक्ति हुन् । समाचार श्रोत अनुसार काफ्ले हार्दा खनालको जित भनेको शंकर पोख्रेल गुटको श्रोत बताउँछ । चुनावमा उठ्दा काफ्लेलाई एमाले सचिव विष्णु पौडेल गुटले अध्यक्षमा उठाएको बताईछ ।

‘रुपन्देहीमा पौडेल गुट बलियो भएको हुनाले काफ्लेलाई जिताएर शंकर पोख्रेल गुटलाई मात खुवाउने पौडेल गुटको योजना थियो तर त्यसको ठिक उल्टो भयो’, एक जन नेताले भने, ‘रुपन्देही लगायत लुम्बिनी प्रदेशमा अहिले महासचिव शंकर पोख्रेल खेमा बलियो भएको छ, प्याबसनको चुनावले पनि त्यहि पुष्टि गर्यो । उम्मेदवारी पछि नेताहरुको गतिविधि हेर्दा त्यो ब्यावसनको चुनाव नभएर पार्टीकै चुनावजस्तो देखिन्थ्यो । काफ्ले पक्षले पनि गुटका कारण आफूहरुले हारेको बताएका छन् ।’

प्याबसनको जितपछि धेरैले रुपन्देहीमै विष्णु पौडेलको खेमा कमजोर बन्दै गइरहेको विश्लेषण गरेका छन् ।
यता खनालले आफू शंकर पोख्रेल पक्षको नेता भएको स्वीकार गर्दै गुटबन्दीको खेलमा भने नलागेको बताए । उनले भने, ‘मलाई गुट भनेको के हो थाहा छैन, ममा प्याब्सनको बिभिन्न पदमा बसेर काम गरेको अनुभव थियो, गुटलाई जिताएको भन्दा पनि साथीहरुले एक इमान्दार र काम गर्ने ब्यक्तिलाई जिताउनु भएको छ । मैले काफ्ले जि लगायतलाई समेटेर अघि बढ्ने छु । साथीहरुले दिएको एकएक मतको कदर हुनेछ ।’ आफ्नो कार्यकालमा प्याबसनको शिर थप उचो हुने खनालको दावी छ ।