कपिलवस्तु । बाणगंगा नगरपालिका क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक आयश्रोतको रुपमा रहेको बाणगंगा नदीको नदीजन्य पर्दाथहरुको चोरी तस्करी व्यापक रुपमा बढेर आएको छ । छुटपुट रुपमा हुदै आएको बालुवा चोरी विगत २ महिना देखि संगठित रुपमा हुन थालेपछि अहिले बाणगंगा नदी रित्तिनै थालेको देखिन्छ ।
बाणगंगाको माथिल्लो भाग मधुबन नाका र तल्लो भाग धनेषपुर, सिसहनिया र बालापुर क्षेत्रबाट रातभरी बालुवा तस्करी हुने गरेको स्थानीयबासीहरु बताउछन् ।
मधुबन क्षेत्रका स्थानीयका अनुसार त्यस क्षेत्रकै ट्याक्टर धनीहरुहरुले नदीजन्य पर्दाथ चोरी गरि स्थानीय क्रेशर तथा बालुवा प्रशोधन केन्द्रहरुमा बुझाउछन् । यसै गरि वडा नं १ को उप्टा, इमिली नाकाबाट समेत नदीजन्य पदार्थ चोरी हुदै आएको छ । बाणगंगा ७ धनेशपुर सिसनीया र बालापुरबाट समेत केहि ट्याक्टर धनी तथा प्रहरी घुमुवाको मिलेमतोमा चोरी भइरहेको बताइन्छ ।
शुक्रबार राती मात्रै मधुबन क्षेत्रमा ९ वटा ट्याक्टर र धनेषपुरमा ७ वटा ट्याक्टरको समूहले रातभरी बालुवा चोरी गरेको स्थानीयबासीहरु बताउछन् ।“रातभरी ट्याक्टरको हल्लाले सुत्न पाइदैन, प्रहरीलाई खबर गरयो अर्को दिन तस्करहरु नै आएर उल्टै थर्काउछन्” एक स्थानीयले भने ।
स्वयं नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि रातीमा बाणगंगा नाकाका विभिन्न क्षेत्रबाट चोरी तस्करी भइरहेको स्वीकार्छन् । “पहिला दिउसै चोरी गर्दथे अहिले राती मात्रै चोर्छन” उनले भने ।
तस्करका नाइकेहरुले नेपाल प्रहरी र शशष्त्र प्रहरीलाई हातमा राखेर प्रतिट्रिप मोटो रकम बुझाउने गरेका छन् । तर उनीहरुले कति रुपैयाँ रकम बुझाउँछन् त्यो भने पुष्टि भएको छैन ।
यसरी चोरी बढ्नुमा प्रहरी नेतृत्व र उनी मातहत रहेका घुमुवा प्रहरीहरुको हात रहेको कतिपय ट्याक्टर चालक बताउँछन् ।तर प्रहरीले पनि नदीजन्य पदार्थको चोरीमा कमी आएको बताउँदै प्रहरी सेटिङमा चलेको कुरा सत्य नभएको बताउँछ ।
प्रहरीले पैसा खायो भन्ने कुरामा सत्यता नभएको भन्दै प्रमाण पेश गर्न इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक लोकेन्द्र बहादुर जिसीले चेतावनी दिए ।
बाणगंगा नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि सुरक्षाकर्मीबाट सहयोग नपाएको गुनासो गर्छन । “साउन यता ४ जना नगरप्रहरी लिएर हामीले ८ वटा ट्याक्टर र एउटा जेसिभी समात्यौ तर दिनहु गस्ती गर्ने प्रहरीले अहिले सम्म जम्मा २ वटा ट्याक्टर बुझाएको छ” उनले भने ।
बुटवल–गोरुसिंगे सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पर्दाथका लागि बाणगंगा नदीको उत्तरी भाग ठेकेदार पक्षलाई दिने भनी नगरपालिकाको १६औ नगरसभाबाट पारित भएसंगै ढुंगा,गिटी, बालुवा चोरी तस्करी अझ बढेको छ ।
नदी नै बाटो निर्माण कम्पनिलाई ठेक्कामा दिने भएपछि आफुहरुको काम प्रभावित हुने आशंकामा स्थानीय केहि क्रेशर , बालुवा प्रशोधन उद्योग तथा व्यवसायीहरुले धमाधम चोरीका नदीजन्य पर्दाथ किन्न थालेपछि यसको तस्करी बढेको स्थानीय बताउछन् ।
यता प्रहरीले भने स्थानीय नदीजन्य पदार्थको संरक्षण गर्ने प्रमुख जिम्मा स्थानीय तहको रहेको बताउँछ । जनगुनासोका आधारमा आफूहरु चोरी भयो भन्ने ठाउँमा पुगे तापनि त्यहाँ पुग्दा भने तस्कर र ट्याक्टरहरु नभेटिएको प्रहरी बताउँछ । नगरपालिकाले पनि नदीजन्य पदार्थ चोरीमा प्रहरीको सक्रियता बढाउनु पर्ने बताउँछ ।
रातदिन नदीजन्य पदार्थको चोरी भइरहँदा प्रहरी र जनप्रतिनिधि दोषारोपणमा छन् । यसरी उनीहरु एक अर्कालाई दोषमा राखेर मौन रहनाले नदीजन्य पदार्थको चोरीमा पालिकाका जनप्रतिनिधि र प्रहरी नेतृत्वले नै सेटिङ मिलाएको पुष्टि हुने सरोकारवालाको दावी छ ।
स्थानीयले नगर प्रहरीको पनि कुनै भूमिका नभएको भन्दै नगर प्रहरी के कामको लागि भर्ना भएका हुन् भनेर प्रश्न गर्दछन् । पालिका र प्रहरीले नदीमा चोरी भएको छैन भनेर दावी गरे पनि यी तस्वीरले बाणगंगामा ब्यापक चोरी भएको पुष्टि गर्दछ । खोलाबाटै बाटो निकालेर चोरी हुँदासमेत प्रहरी र पालिकाका जिम्मेवार जनप्रतिनिधि चुप रहँदा बाणगंगाको लाखौँ राजश्व बालुवामा पानी हुन थालेको छ ।
प्रतिक्रिया