मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

आजदेखि काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

अपि टाइम्स

काठमाण्डौ । काठमाण्डौमा आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । पर्यटन क्षेत्रलाई लक्षित गरी आजदेखि परीक्षणका रुपमा सम्पदा घुम्ती बस सेवा सञ्चालन गर्न लागिएको हो ।

काठमाण्डौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालनमा हुन लागेको हो ।

यो सेवाको दिउँसो साढे १ बजे ललितपुर महानगरपालिकाको प्राङ्गणबाट पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गर्दैछन् । यस्तो बस सेवाले स्वदेशी तथा विदेशी पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सेवा दिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले जानकारी दिए ।

आजदेखि साझाका दुई वटा विद्युतीय बस सम्पदा बसका रूपमा चल्ने छन् । साझाले काठमाण्डौमा पहिलो पटक सम्पदा बस सेवा सुरु गर्न लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार भोलिदेखि हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बसले सेवा दिने गरेको छ ।

केही दिन परीक्षणका रुपमा निःशुल्क बस चलाउने र त्यसपछि शुल्कको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । यो सेवा सुरु भए पछि अब एउटै बसमार्फत् ठाउँठाउँमा रहेका सम्पदाको अवलोकन गर्न सकिने छ ।