मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको भारत भ्रमणः पहिलो दिन केके भयो ?

प्रधानमन्त्रीको भारत भ्रमणः पहिलो दिन केके भयो ?

अपि टाइम्स

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो दिन (जेठ १७ गते) विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका छन्।

बुधबार दिउँसो नेपाल वायु सेवा निगमको जहाजमा भ्रमण टोलीसहित काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डलाई त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरिन्।

प्रधानमन्त्री प्रचण्डको स्वागतमा विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शन गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको स्वागतमा नयाँदिल्लीका सडकसहित प्रमुख स्थलमा उनका फोटोअंकित स्वागत गेट, ब्यानर र होडिङ बोर्ड राखिएका छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल होटल मौर्यमा बसेको छ। प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगी बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शिष्टाचार भेट गरे। सो भेटमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा पनि सहभागी थिए।

उक्त भेटघाटलगत्तै प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए। सो अवसरमा प्रधानमन्त्रीले भारत भ्रमण दुई देशबीच सद्‌भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताए।

उनले भारत भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रित हुने विश्वास दिलाएका छन्। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच सदिऔं पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

भारत भ्रमणको दोस्रो दिन आज पनि प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रम र भेटवार्तामा सरिक हुँदै छन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान साढे १० बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट गएर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।

त्यसलगत्तै बिहान ११ बजेदेखि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।