मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन क्रिकेट रंगशाला बनाउने सरकारको निर्णयमा खेलकुद सचिव बाधक

चितवन क्रिकेट रंगशाला बनाउने सरकारको निर्णयमा खेलकुद सचिव बाधक

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । निर्माण रोकिएर दुई बर्षदेखि अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यान्वयनमा खेलकुद सचिव नै बाधक देखिएका छन् ।

रकम अभाव भएर अलपत्र अवस्थामा रहेको उक्त रंगशालासरकारले बनाउने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको अवस्थामा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम बाधक देखिएका हुन् ।

श्रोतका अनुसार उनले यो रंगशाला सरकारले बनाउन नहुने भनाई राखेका छन् । सरकारले गरेको निर्णय आफूले नमान्ने उनको अडान छ ।

श्रोत भन्छ, ‘धुर्मुस–सुन्तली फाण्डेसनले बनाउन सुरु गरेको रंगशाला रकम अभावले रोकिएको छ । धुर्मुस–सुन्तलीको क्रण तिरेर सरकारले बनाउने निर्णय गरेको अवस्थामा उहाँले अनाहकमा आनाकानी गरिरहनु भएको छ । जुन गर्न हुँदैनथ्यो ।’

खेलकुद सचिवले निर्णय मान्न अटेर गरेपछि सरकारले स्पष्टिकरण सोध्ने भएको छ । चाँडै उनीमाथि स्पष्टिकरण सोधिने बताइएको छ । कानुनतहः सरकारले गरेको निर्णय कर्मचारीले मान्नै पर्ने हुन्छ ।

श्रोत थप्छ, ‘सचिव सूर्य प्रसाद गौतम सरकरको निर्णयभन्दा माथि हुन खोज्नुभएको छ । यसले उहाँलाई राम्रो गर्दैन । रंगशाला बनाउन गौतम किन अनुदार भएका हुन् अझैसम्म केहि पनि खुलेको छैन ।

३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भइसकेको छ भने ऋण नै १६ करोड पुगेको छ । यसपछि आफूहरुले नसक्ने भन्दै धुर्मुस–सुन्तलीले काम रोकेका छन् । उनीहरुले सरकारले आफूहरुले तिर्नुपर्ने क्रण तिरेर बनाए सबै स्वामित्व सरकारलाई हस्तान्तरण गर्न तयार रहेको बताउँदै आएका छन् । भरतपुर महानगरले पनि रंगशाला सरकारले बनाउने बताउँदै आइरहेको अवस्था छ ।

बजेटमार्फत् सरकारले किर्तिपुरस्थित टियू क्रिकेट स्टेडियम र मुलपानीलाई अन्र्तराष्ट्रिय स्तरको बनाउने बताएको छ । तर बजेटमा भने चितवनको रंगशालालाई सम्बोधन गरिएको छैन । प्रधानमन्त्री भारत भ्रमणमा रहेको बखत गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन भारत इच्छुक रहेको समाचार पनि बाहिर आएको थियो ।

तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको छ । टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छन् । तर पछिल्लो २ बर्ष निर्माण नहुँदा रंगशाला भत्कन थालेको छ । कतिपय खेल भएको पीच पनि घाँस उम्रेर बिग्रन थालेकोमा धुर्मुुस सुन्तली चिन्तित छन् । यसलाई थप क्षतिबाट रोक्न सरकारले चाँडै अग्रससरता लिनुपर्ने उनीहरुको भनाई छ ।

नेपाल अहिले एसिया कपमा छनोट भइसकेको छ भने विश्व क्रिकेटको क्वालिफायरमा पुगिसकेको छ । त्यहि क्वालिफायरको लागि नेपाली टिम अभ्यास खेल्न अहिले दक्षिण अफ्रिका छ ।

यो अभ्यासपछि नेपालले जिम्बाबेमा क्वालिफायर खेल्ने छ । पछिल्लो समय नेपाली क्रिकेटमा हासिल भएको उपलब्धिको कारण चाँडै अन्र्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सरोकारवालाको सरकारलाई दबाब छ । रोकिएको चितवनको रंगशाला समयमा बनाएमा नेपालमा नै चाँडै ठुला ठुला अन्र्तराष्ट्रिय खेल खेलाउन सक्नेमा धेरै खेलप्रेमी र सरोकारवाला छन् ।