चन्द्रकान्त न्यौपाने
काठमाण्डौँ । कम्तिमा पनि अढाई बर्ष काम गर्ने सोँचका साथ स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको पद ७२ दिनमै गुम्यो । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ क बाट भारी मतका साथ नेकपा एमालेबाट दोश्रोपटक विजयी भएका पन्थीले माघ २९ गते सपथ ग्रहण गरेका थिए भने वैशाख १४ गते पद गुम्यो । अर्थात् स्वास्थ्य मन्त्रालयबाट विदा हुनुपर्यो ।
केन्द्रको गठन्धनमा आएको परिवर्तनसंगै पद गुम्दा पन्थी बेखुसी पक्कै छन् । पुरा कार्यकाल बसेर प्रदेशको स्वास्थ्य क्षेत्रलाई आमुल परिवर्तनको दिशामा लैजाने उनको सपना पुरा नभए पनि उनले ७२ दिनमा निकै राम्रो काम गरेको भनेर केहिदिन अघि उनले ४ २ बुँदा नै सार्वजनिक गरेका छन् । काम चलाउ सरकारमा उनी ३ दिन गरी जम्मा ७५ दिन बसे ।
मन्त्रालयको कामको हिसावले अहिलेका उपलब्धी दुर्ईतिन वर्ष अघिको भन्दा निकै उपलब्धीपूर्ण भएको उनको सचिवालय र कर्मचारीको दावी छ । ‘७२ दिन ४२ काम, स्वास्थ्यमा उज्यालो घाम’ उनको भन्दै पन्थीले ४२ महत्वपूर्ण काम गरेको बताएका छन् । तर उनले जति काम गरेँ भनेर उपलब्धि सार्वजनिक गरे त्यत्ति नै काम हुन नसकेको हो कि भनेर पनि आलोचना भएको छ ।
पदभार ग्रहण लगत्तै पन्थीले प्रादेशिक सरुवा रोग अस्पताल चन्द्रौटामा सुरुवात गर्ने उद्घोष गरे । यो निर्णय कार्यान्वयन गर्दै उनले बिभिन्न अस्पतालमा दरबन्दी मिलान, बिभिन्न अस्पतालको स्तरवृद्धि लगायतको काम गरे । ७२ दिनमधये उनको सबैभन्दा महत्वपूर्ण काम भनेको एक वर्षदेखि कोभिड कोषमा थन्किएर रहेको राहत रकम मृतक परिवारलाई दिने प्रकृया अघि बढाउनु हो ।
सो निर्णय कार्यन्वयन हुँदा प्रदेशभरका मृतक ६ सय ३६ जनाका परिवारले एकएक लाख रुपैयाँ पाउने छन् । त्यसको लागि ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा मन्त्री पन्थीले पठाउन सफल भएका छन् । यो निर्णयपछि उनको प्रसंसा पनि भएको छ । साथै उनले अरु धेरै उपलब्धि हासिल गरेको बताएका छन् । ७२ दिनमा जुन ४२ बुँदे अति महत्वपूर्ण काम गरेका छन् पन्थीलाई स्याबास भन्नैपर्छ ।
हेरौँ स्वास्थ्य मन्त्रालयमा पन्थीका ४२ बुँदा
- कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती गरिएको ।
- लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरिएको ।
- लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यायुक्त अन्तरङ्ग सेवा प्रवाहका स्तरउन्नती गरिएको ।
- लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत प्रदान गरिएको ।
- कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठक बसी ६ सय ३६ जना कोभिड १९ बाट मृत्यु भएका परिवारले पाउने जनही रु १/१ लाख गरी कूल जम्मा ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको ।
- नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढाइएको ।
- कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन गरिएको।
- निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको ।
- लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन प्रकिया अघि बढाइएको ।
- मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापना देखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस गरिएको।
- राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नरसिंग प्रशासक व्यवस्थापन गरिएको ।
- राप्ती प्रादेशिक अस्पतालमा NICU र PICU (नवजात शिसु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन गरिएको ।
- राप्ती प्रादेशिक अस्पतालमा नाक कान घटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गरिएको ।
- भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालनमा ल्याइएको ।
- प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिन सहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, examination टेबल, आइसियु बेड, इसिजी, Bipap, patient monitor महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण गरिएको ।
- स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश गरिएको ।
- प्रदेश जनस्वास्थ्य ऐन मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसंग पृष्ठपोषण लिइ अन्तिम रुप दिने कार्य भइरहेको ।
- प्रादेशिक अस्पताल सहित जिल्लाका अस्पताल विकास समितीमा रिक्त रहेका अध्यक्ष्य तथा सदस्यहरुको नियुक्ती गरिएको ।
- सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृत गरिएको ।
- लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागी छनौट गरि ५ करोड बढी बराबरको सम्झौताको काम अघि बढाइएको(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।
- अस्पताल सुदृढीकरण कार्यक्रम मार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा गरिएको ।
- अस्पतालमा रिक्त मेडिकल सुपरिड़ेन्टेन्डको नियुक्ती गरिएको ।
- राप्ती गाउपालिकालाई एक थान एम्बुलेन्स सहयोग प्रक्रिया अघि बढेको ।
- नीति संबाद संचालन गरि प्रदेशका स्वास्थ्य प्राथमिकता र बिगत बर्षहरुदेखि संचालनमा आएका कार्यक्रमहरुको प्रभावकारिताको लेखाजोखा गरिएको ।
- प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण भैरहेको।
- बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात गरिएको।
- विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन गरिएको ।
- प्रदेश सरकारको लगानीमा निर्माण भैरहेका स्वास्थ्य पूर्वाधारहरुको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको ।
- प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा सहयोगी सुपरिवेक्षण गरिएको ।
- ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुको जटीलता पत्ता लगाउन नर्सिंग कर्मचारीहरुलाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरि २५ थान पोर्टेबल अल्ट्रासाउण्डमेसिन समेत वितरण गरिएको ।
- BSL-II Standard मा सेवा बिस्तार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएको।
- ज्येष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरि जेष्ठ नागरिकहरुलाई घरमै गइ सेवा प्रदान गर्ने कार्य भइरहेको ।
- थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचारका कार्य भइरहेको।
- अस्पतालको न्युनतम सेवा मापदण्डको स्कोरमा सुधार भएको, लुम्बिनी प्रदेशका ४ ओटा अस्पतालहरु देशकै उत्कृष्ठ दश अस्पतालमा परेको ।
- आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रमा सेवा बिस्तार गरि सेवा प्रवाह गरिएको।
- गुल्मी बलेटक्सार स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको ।
- लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण सस्था बेलझुण्डी, प्रस्तावित भालुवाङ अस्पताल निर्माण स्थल, देवदह नगर अस्पताल खैरेनी, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, नेपाल नेत्रज्योति संघ आखा अस्पताल कपिलवस्तु लगाएत विभिन्न अस्पतालको निरिक्षण गरिएको ।
- हात्तिपाइले रोग विरुद्ध औषधी सेवन अभियान शुभारम्भ (कपिलवस्तु, दाङ, बाँके) गरिएको।
- प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश स्तरीय औलो निवारण निर्देशक समितिको प्रथम वैठक गरिएको ।
- डुमरा स्वास्थ्य चौकी मायादेवी ६ कपिलवस्तुको भवन शिलान्यास गरिएको ।
- रुरल मेडिकल रेस्पोन्डर स्वास्थ्य तालिम, स्वास्थ्य सम्बन्धी VCAT तालिम संचालन गरिएको ।
- ७५ औं विश्व स्वास्थ्य दिवस, विश्व औलो दिवसमा सचेतना सहित मनाइएको ।
किन भयो लोकप्रिय नेताको आलोचना ?
सांसद पन्थीको त्यति आलोचना गर्ने ठाउँ त छैन तर मन्त्री भएपछि आलोचित हुने एकदुई कैफियत उनले लुकाउन सकेनन् । त्यो आलोचना बदमासी भयो, भ्रष्टाचार गरे, कमिसन खाए भनेर होइन कि मन्त्री पदमा पुगेपछि पनि सांसदजस्तै रहिरहे, औपचारिक कार्यक्रममा बढि रमे कि भन्ने मात्रै हो ।
यो ७२ दिनलाई लिएर पन्थीको यहि कुरामा आलोचना हुने गरेको देखिन्छ । मन्त्रालयको कार्यकक्ष बसेर स्वास्थ्य नीति र नियम बनाउने काममा भन्दा पन्थी औपचारिक कार्यक्रममै बढी रम्ने गरेको देखियो । मन्त्री पदको त्यो गरिमा र कदको हेक्का नै नराखि उनी हिजोजस्तै गरि अति सामान्य औपचारिक कार्यक्रममा पनि सहभागि भए । त्यसपछि पन्थी पार्टीका केहि नेता कार्यकर्ता र बुद्धिजिवी सर्कलमा आलोचना खाने पात्र बनेका हुन् ।
हुन पनि निमन्त्रणा आएका कुनै पनि कार्यक्रम पन्थीले छोडेको देखिन्न । यसो भनेर पन्थीले ठुलै गलत र नराम्रो काम गरे भनेर भन्न खोजिएको होइन तर कहाँ र कस्ता कार्यक्रममा पुग्ने भन्ने हेक्का राख्नुपर्दथ्यो भनिएको मात्रै हो । संघदेखि प्रदेशसम्मका कतिपय मन्त्री, स्थानीय तहका कतिपय जनप्रतिनिधिले औपचारिक कार्यक्रममा जनाने, शिल्यान्यास र उद्घाटन नगर्ने, खादा माला नलगाउने निर्णय गरिरहँदा बुद्धिजिवी मानिएका सांसद पन्थीले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु वाञ्छनीय नभएको उनकै शुभचिन्तक बताउँछन् ।
उनले करिब ८० औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भ्याएका छन् । मा. स्वास्थ्य मन्त्री विष्णु पन्थीको सचिवालय नामक उनको आधिकारिक फेसबुक पेजमा राखिएका कार्यक्रमलाई श्रोत मान्दा पन्थी ७८ कार्यक्रममा सहभागि भएको देखिन्छ । ती कार्यक्रम मन्त्रालय र पार्टी मातहतका थोरै कार्यक्रम छन् भने बिभिन्न संघसंस्था, एनजिओ, आइएनजिओका कार्यक्रम धेरै छन् । फेसबुकलाई श्रोत मानिएकाले आँकडामा तलमाथि हुन सक्छ । यहाँका मन्त्रालय मातहतका कार्यक्रम छोडेर बाहिरी औपचारिक कार्यक्रमको हिसाब गरिएको छ ।
‘यस हिसाबले सांसद पन्थीले एक दिनमा एक औपचारिक कार्यक्रममा भेट्न सफल भएका छन् । कतिपय अवस्थामा पन्थी एकै दिनमा ३ । ४ कार्यक्रम पनि सम्बोधन र शिल्यास गर्न भ्याउँछन्’, श्रोत भन्छ ।
सपथ ग्रहण पछि फेब्रअरी १३ मा उनले पहिलो कार्यक्रममा सहभागिता जनाए । संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाले स्वास्थ्य मन्त्री पन्थी र खानेपानी, ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यलाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।
पन्थीको अन्तिम औपचारिक कार्यक्रम रुपन्देहीमा भयो । वैशाख १३ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्ययोजनाबारे वुटवल तामनगरमा भएको छलफलमा मन्त्रीको रुपमा पन्थी सहभागि थिए ।
आफ्ना शुभचिन्तक, नेता कार्यकर्ता, बिभिन्न संघसंस्थाका ब्यक्तिले स्वभावैले आफ्ना कार्यक्रममा निमन्त्रण गर्छन् बुटवलका एक जना बुद्धिजिवी भन्छन् ‘ती सबै कार्यक्रममा मन्त्री नै सहभागि हुनैपर्छ भन्ने हुँदैन । तर पन्थी पुग्नु भएकै हुन्छ । यो भनेको उहाँले प्राथमिकता छुट्याउन सक्नु भएन कि भन्ने हो । उहाँ सरल र सबैका प्रिय भए तापनि यस कुरालाई हेक्का राखेमा उहाँकै गरिमा बढ्ने हो, हाम्रो होइन ।’
‘पन्थीको नकारात्मकताको खासै कुरा गर्न नचाहेका पार्टीकै एक जना नेताले यो उनको कमजोरी रहेको बताए । पन्थी सबैका साझा हुनुहुन्छ । जसले पनि कार्यक्रममा बोलाई हाल्छन् । उहाँले औपचारिक कार्यक्रमलाई जोड दिनु हुँदैन’, हिजो सांसदजस्तै गरेर कहाँ हुन्छ, मन्त्री भएपछि त अलिक गरौँ हुन जान्नुपर्दथयो, उनले भने ।
‘लुम्बिनी प्रदेशका सरकारी स्वास्थ्य संस्थामा चरम लापरबाहि र बेथिति रहेको कुरा पटकपटक सामाजिक संजाल र मिडियामा आउँछ । मन्त्री रहेको बखत पन्थीले औपचारिक कार्यक्रम छोडेर ती अस्पतालको छड्के अनुगमन गर्ने, आवश्यक निर्देशन दिने लगायतका कामलाई प्राथमिकतामा राख्न सकेनन् ।
यतिसम्म गरेको भए पनि सरकारी स्वास्थ्य संस्थामा रहेको अराजकता, मनपरि तन्त्र, डाक्टर नर्सको सिण्डिकेट, सोर्सफोर्स लगायतका वेथिति कम भएर सर्वसाधारणले राहत पाउँथे । उहाँका ४२ बुँदा राम्रा कामका परिचयभ ए पनि पन्थी यहाँनेर भने चुक्नुभयो । यो गर्न धेरै समय पनि चाहिने होइन । नीति बनाउनु पर्ने पनि थिएन । मन्त्री भएकै दिनबाट गर्न सकिने काम थिए यी, पन्थीकै शुभचिन्तक भन्छन् ।
उसो त सांसद पन्थीले ७४ मा सांसदमा निर्वाचित भएपछि ५ बर्षे पहिलो कार्यकाल सकिँदासम्म आफूलाई बोलाइएकामध्ये ३ वटा कार्यक्रमबाहेक सबैमा सहभागि भएको स्विकार गर्छन् । गत मंसिरमा भएको जेसिजको ककस कार्यक्रममा बोल्दै पन्थीले निमन्त्रणा गरिएका ९७ प्रतिशत कार्यक्रममा सहभागि भएको बताएका थिए ।
पन्थी जहाँ जान्छन् त्यहाँ आश्वासन छाडेरै आउँछन् । त्यसैले कतिपयले उनलाई हुन्छ बहादुर भनेर पनि ब्यङ्ग्य गरेको पाइन्छ । कतिपय अवस्थामा उनले दिएका आश्वासन पुरा नभएपछि पन्थीले गरेनन् भनेर आलोचना गरेको सुनिन्छ ।
पन्थीनिकटकै केहि ब्यक्ति भन्छन् उहाँ कार्यक्रममा जानुलाई नराम्रो मान्नु हुँदैन । जसलाई बोलाइन्छ उहि जाने त हो । तर जहाँ गयो त्यहाँ यो गर्छु, उ गर्छु, हुन्छ, भइहाल्छ, चिन्ता नगर्नु भन्नु चाहिँ उहाँको कमजोरी हो । यसलाई सच्याउनुभयो भने अझै राम्रो हुन्छ ।
कतिपयले बाहिरी कार्यक्रममा जाँदा लाभ मिल्ने भएकाले पनि मन्त्रीहरुले औपचारिक कार्यक्रमलाई प्राथमिकता दिने गरेको बताउँछन् । मन्त्रीसहितको टोली मन्त्रालयको काम भनेर बाहिर जाँदा उनीहरुले भ्रमणभत्ता लगायतका सुविधा पाउने कार्यविधि र ऐन छ । तर कुनै लाभका कारण नभएर मन्त्री सबै शुभचिन्तकलाई नराम्रो नहोओस् भन्नको लागि र सबैलाई समेट्नको लागि पन्थी कार्यक्रममा जानु बाध्यता भएको उनीनिकट श्रोत बताउँछ ।
पन्थी लुम्बिनी प्रदेशकै बुद्धिजिवी, क्षमतावान् र शक्तिशाली सांसद हुन् भन्नेमा दुई मत छैन, शुभचिन्तक भन्छन् प्रसंसामा मात्रै रमाउनेभन्दा आएका रचनात्मक सुझाव, सल्लाह र आलोचनालाई ग्रहण गरेर अघि बढ्दा उहाँको राजनैतिक भविष्य थप उज्जवल र सफल हुने देखिन्छ ।
प्रतिक्रिया