मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटी इतिहासमा पहिलोपटक च्याम्पियन

सिटी इतिहासमा पहिलोपटक च्याम्पियन

अपि टाइम्स

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।

च्याम्पियन्स लिगको उपाधिसँगै सिटीले यो सिजन ट्रेवल उपाधि जित्न सफल भएको छ । सिटीले यो सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जित्न सफल भएको थियो ।

टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनलमा सिटीलाई च्याम्पियन बनाउन दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा प्ले मेकर केभिन डि ब्रुएनाले चोट बोक्दै मैदानबाट बाहिरिएपछि सिटीलाई केही समस्या परेको थियो । तर, त्यो समस्यालाई पन्छाउँदै सिटीले दोस्रो हाफमा गोल गर्दै च्याम्पियन बन्न सफल भयो ।

बर्नाडो सिल्भाको कटब्याक माटियो डर्मिएनलाई डिफ्लेक्ट हुँदा अनमार्क रहेका रोड्रीले गरेको प्रहार गोल भएको थियो । यससँगै रोड्री च्याम्पियन्स लिगको फाइनलमा गोल गर्नै दोस्रो खेलाडी बनेका छन् । यसअघि जाभी अलन्सोले सन् २००५ मा लिभरपुलबाट एसी मिलानविरुद्ध फाइनलमा गोल गरेका थिए ।

एक गोलले पछि परेपछि इन्टरले पाँच अवसर सिर्जना गरेपनि गोलरक्षक एडर्सन मोराएस बाधक बन्दा १३ वर्षपछि फाइनल जित्ने इन्टरको सपना पूरा हुन सकेन ।

सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । दोस्रोपटक फाइनल खेल्दै सिटीले पहिलो उपाधि जित्न सफल भएको हो । सिटी सन् २०२१ मा चेल्सीसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो । तर, यसपटक सिटीले त्यो गल्ती दोहो¥याएनन् ।