मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी गोदाममा थुप्रियो ७३ हजार मेट्रिक टन मल, किसान भन्छन् ‘पाएनौँ’

सरकारी गोदाममा थुप्रियो ७३ हजार मेट्रिक टन मल, किसान भन्छन् ‘पाएनौँ’

अपि टाइम्स

काठमाण्डौ । मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ ।

कृषि सामग्री कम्पनीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालका लागि चलान भएको छ । त्यसमध्ये केहि मात्रामा मल नेपालको विरगंज आइसकेको कम्पनीले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट नेपालका लागि चलान अवस्थामा छ । साथै २५ हजार मेट्रिक टन डीएपी मल पनि कोलकोत्ता आइपुगेको छ ।

यस्तै कृषि कम्पनीले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास पनि भारतको विशाखापटनम् आइसकेको छ ।

साल्टले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल चीनको लोड पोर्टमा लोडिङ्ग भएर भोलिसम्ममा कोलकोत्ता आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले धानबालीको मुख्य सिजन असारदेखि भदौसम्मका लागि मलको अभाव नहुने दाबी गरेका छन् ।

अनुदानमा सरकारले उपलब्ध गराउने मलको बिक्री मूल्यमा पारदर्शिता कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण पालिकालाई अनुरोध गरिएको छ ।