मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संस्कृत भाषा प्राचीन दर्शन र चिन्तनको अपार ज्ञानभण्डार होः प्रधानमन्त्री

संस्कृत भाषा प्राचीन दर्शन र चिन्तनको अपार ज्ञानभण्डार होः प्रधानमन्त्री

अपि टाइम्स

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयलाई राजनीतिक अभ्यासबाट माथि उठाउन आवश्यक रहेको बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई बुधबार दाङको बेलझुण्डीमा सम्बोधन गर्दै दाहालले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र छात्रछात्रा राजनीतिक आस्थाका आधारमा हुने विभाजनबाट माथि उठेर शैक्षिक तथा प्राज्ञिक काममा समर्पित हुन आवश्यक रहेको बताए ।

सरकारले गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने योजना बनाइरहेको उनले बताए । विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको उनले जानकारी दिए । विश्वविद्यालयको पाठ्यक्रमलाई समयसांपेक्ष बनाउन सरकार लागिपरेको उनले बताए ।

विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान राष्ट्र निर्माणमा लगाउन शुभकामना दिए ।

संस्कृत वाङ्मयभित्र रहेको ज्ञानलाई सबै नागरिकसामु पस्किने अभिभारा छात्रछात्राले निर्वाह गर्नुपर्ने धारणा उनले व्यक्त गरे । संस्कृत भाषा केवल प्राचीन भाषामात्र नभई प्राचीन दर्शन र चिन्तनको अपार ज्ञानभण्डार पनि रहेको उनले बताए ।

मानवीय सुख, समृद्धि र संस्कारका निम्ति आवश्यक ज्ञान र अनुसन्धानको भण्डार संस्कृत भाषामा नै सुरक्षित रहेको उल्लेख गर्दै उनले नेपाल संस्कृत विश्वविद्यालय देशका अन्य विश्वविद्यालयभन्दा फरक रहेको बताए ।

दाहालले पूर्वीय वाङ्मयको संरक्षण र संवर्द्धन गर्नु विश्वविद्यालयको मुख्य दायित्व भएको बताए । उनले पूर्वीय मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वर्द्धन एवम् विकासमा विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए ।