काठमाडौँ ।
टिपी खनाल, सामाजिक संजालमा सामाजिक सन्देश र सचेतना जगाउने खालका सामाग्री राखेर धेरैको मन जितेका ब्यक्तित्व हुन्,असल मार्गदर्शक हुन् । अनेक विषयबस्तु, सन्दर्भ र यात्रालाई उनले निकै सरल र सहज रुपमा प्रस्तुत गर्न खप्पिस छन् । त्यसैले उनका प्रेरक र सन्देशमुलक सामाग्रीले हरेक मनको दिल छुन भ्याएको हुन्छ । आज शनिबारको अंकमा उन खनालकै अनुभूतिको एक सामाग्री प्रकाशन गरिएको छ ।
एउटा रुखले सिकाएको अमुल्य ज्ञान !
यो एउटा रुखले अरु कति धेरै रुखै जत्रा ठुला ठुला हाँगाहरु बोकेर ठिङ्ग उभिएको छ ! त्यसमाथि सानातिना हाँगाहरु त कति छन कति ! म पनि यहिँ बिराट रुखको शितलताले लोभिएर यसैको फेदमा गएर बसे र मग्न भई ध्यान गरे ! म बाहेक अरु कति चराचुरुंगीहरुले पनि यहिँ रुखमा आफ्नो घर बनाएका होलान ! कतिले त केहिँ क्षण मात्रैको लागी भएपनि यहाँ आएर रमाउदै मिठो गीत गाएर रमाएको प्रमाण त तलको भिडियोमा स्पष्टै सुनिन्छ ! हामीले नदेख्ने अरु कति किरा र कमिलाहरुको वासस्थान पनि पक्कै यहिँ नै रुख होला ! अनि साना ठुला कति प्राणीहरुले यहिँ रुखको फेदमा घाममा छहारीको आनन्द र पानी पर्दा नभिज्न ओत लागे होलान !
हेरौ त कति प्राणीले यो रुखवाट लाभ लिईरहेका रहेछन ! मैले पनि यसै रुखमुनी बसेर यी सवै गतिविधिहरुको अवलोकन गर्दै मनमनै कतिपय गहन कुराहरुको अनुभूत गरे ! यी त भए यस रुखको बाहिर देखिने स्वरुपवाट लाभान्वित हुनेहरुको एक फेहरिस्त !
अनि अचानक मेरो मन मस्तिष्कले यसको अर्को पाटो अर्थात यस रुखको नदेखिने पाटोको बारेमा अध्ययन नगरी रहन सकेन ! फलत: मेरो मन झन झन गहिराईतर्फ सवार भैरह्यो ! हामी बाहिरी प्राणीले लिने फाइदा त यति धेरै छन भने यो रुखका आफ्नै पिडा पनि त केहिँ होलान नि भनेर घोत्लिई रहे !
रुख आफैले यति गरुङ्गो आफ्नै शरीर बोकेर निरन्तर बर्षौदेखि ठिङ्ग उभिईरहेको छ ! बेला बेलामा कति डरलाग्दो आँधी तुफान अनि हुरी बतास पनि आउछ, त्यसलाई पनि कति दुखले थेगेको होला ! असिनाको चुटाई पनि खाएकै होला ! हिँऊको चिसोमा महिनौसम्म कठाङ्ग्रिएको र खडेरीको रापमा महिनौसम्म डढेको पनि होला ! तर यसका यी सवै कठिनाईहरुसँग लड्न साथ दिने यसको वास्तविक शक्ति के होला त ? न त यसको दुख देखेर सहयोग गर्ने यसको आफ्नो कोहि परिवार छ ! न त यसको दुख बुझ्ने कुनै ऐन कानुन नै छ ! न त यसलाई गाह्रो भएको छ भनेर उपचार गर्न आउने कोहिँ डाक्टर नै छन ! न त यसको दुख देखेर कसैले सामाजिक संजालमा आवाज नै उठाउछन ! तर पनि आफ्नो दुख कष्ट कसैलाई नसुनाई चुपचाप हामीजस्तै अन्य कति प्राणीहरुलाई गास, बास, स्वास र आश दिएको छ ! यी सवैका पछि केहिँ न केहि शक्ति, साथ र हात त पक्कै पनि हुनुपर्छ यसलाई यति स्थिर, सहनशील र बलवान बनाईराख्नको लागी भनेर घोत्लिएको मेरो मस्तिष्कले अन्तत: एउटा निष्कर्ष निकाल्यो ! र यो रुख (खासगरी सबै रुखहरु) को असिमित शक्तिको श्रोत भनेको उसको आफ्नै जरा मात्रै हो !
जराहरु अदृश्य हुन्छन तर पनि उनीहरुले निकै कठिन संघर्ष गर्दै पथ्थर नै पथ्थर भएको कठोर अन्तर-कुन्तरमा पुगेर रुखलाई चाहिने चिसोपन र पौष्टिक आहारा जुटाउछन ! डरलाग्दो हुरी बतास आउदा पनि दह्रोसँग समाएर रुखलाई लड्न दिँदैनन ! रुखमा फल र फुल फुलाउन मौषम अनुरुपको वातावरण तयार गरिदिन्छन ! त्यसैले त पात झरेपनि पालुवा निकालेर फक्राएर वातावारणलाई आहा बनाईराख्न अहं भूमिका निर्वाह गर्छन ! यदि हामी कसैले नसोच्ने, नदेख्ने र वास्तै नगर्ने त्यो जरा हुँदैनथ्यो भने त्यो रुखमा यसरी हाँगा फस्टाउदै जान्थे होला ? हाँगामा पात र पातमा हरियाली झांगिंदै जान्थ्यो होला ? फुल फुल्थे होला? फल लाग्थ्यो होला ? अनि यी सवै नभएको भए यो रुखमा चराको बास हुन्थ्यो होला? चरा आएर गीत गाउथे होला ? सुगन्ध र शितलताले म लोभिन्थे होला ? समग्रमा भन्नुपर्दा पात नै नभएको नाङ्गो रुखमा के को नै आकर्षण हुन्थ्यो होला र ?
म भित्र यी सवै कुराहरुको अन्तरंग अनुभूत भएपश्चात एकपटक रुखको उक्त जरालाई सम्झेर सहृदय ढोग गरे ! र अन्तत: आफु अदृश्य नै रहेर आफु बाहिरको देखिने अर्को पक्षको जीवनलाई रंगिन र आकर्षक बनाईदिन हरेक कठिनाई भोग्ने जरारुपी हरेक प्राणीका बाबु र आमाहरुलाई सम्झे र तिनै महान जराहरुप्रति अनन्तदेखि नै नतमस्तक रहे ! 🙏
भवतु: सब्ब मङ्गलम: 🙏
सवैको मंगल होस्, कल्याण होस् !
अप्प दीपो भव: 🙏
आफ्नो प्रकाश (ज्योति) आफै बनौ !
प्रतिक्रिया