मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लवका कार्यकर्ताले यसरी गरे मिटरब्याजीको घर ‘कब्जा’

विप्लवका कार्यकर्ताले यसरी गरे मिटरब्याजीको घर ‘कब्जा’

अपि टाइम्स

काठमाडौँ । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी– १, पशुपति टोलमा रहेको उनको घरमा शनिबार कालो झन्डा र ब्यानर राखेको हो ।

नेकपा कैलालीका इन्चार्ज प्रकाश मल्लले मिटरब्याजका नाइके खानले थुपै सर्वसाधारणलाई घरबारविहीन बनाएकाले घर ‘कब्जा’ गरिएको बताए । मिटरब्याजपीडितलाई समेत लगेर खानको घरमा झन्डा गाडिएको र पीडितको सम्पत्ति, पैसा फिर्ता नगरे उनीमाथि थप कारबाही गरिने उनले बताए ।

‘अहिले घरमा झन्डा मात्र गाडेका छौँ । मिटरब्याजपीडित सर्वसाधारणसहित त्यहाँ पुग्दा मुनिर घरमा थिएनन्,’ इन्चार्ज मल्लले भने, ‘सर्वसाधारणको हडपेको सम्पत्ति र पैसा फिर्ता नगरे, घरमा बस्न थाले थप कारबाही गर्छौँ ।’ मुनिरले सम्पत्ति हडपेको भनेर ३५ जना सर्वसाधारणले पार्टीमा निवेदन दिएको नेकपाले दाबी गरेको छ ।

सर्वसाधारणबाट हडपेको सम्पत्ति र पैसा फिर्ता गर्न पटकपटक आग्रह गर्दा पनि मुनिरले नसुनेको इन्चार्ज मल्लले बताए । प्रहरी, प्रशासन र अदालतको आडमा मुनिरले सर्वसाधारणमाथि ज्यादती गरेको मल्लले आरोप लगाए । ‘मुनिरले अप्ठ्यारो परेकालाई पैसा लगानी गर्दा जमिन बन्धकी राखेर सुरुमै कागज बनाएर सहीछाप गराउने, पछि त्यही कागजका आधारमा मुद्दामामिला गरेर सम्पत्ति हत्याउने गरेका छन्,’ मल्लले भने, ‘प्रहरी र प्रशासनसमेतलाई मिलाएर उनले नागरिकमाथि ज्यादती गर्दै आएका छन् ।’