मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो, निगमले मूल्य घटाउला ?

भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो, निगमले मूल्य घटाउला ?

अपि टाइम्स

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँभन्दा धेरै घटेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ।

स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो।

यसअघि तेल उत्पादक कम्पनीहरुको समूह ओपेक प्लसले उत्पादन कटौती गर्ने निर्णय गरेपछि मूल्यमा स्थिरता आउन सकेको थिएन। त्यसपछि केही समय कच्चा तेलको मूल्य उकालो लाग्न थालेको थियो।

त्यही कारण यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो। उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो। यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोडभन्दा धेरै नाफा रहेको निगमले जनाएको छ।

तर पछि विश्व बजारमा तेलको माग कम हुँदा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भइरहेको छ। त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको निगमले जनाएको छ।

स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ। मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टितेलमा प्रति लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो। त्यसपछि निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका साथै आइओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो।

अहिले भने भारतबाट मूल्य घटेर आएको र निगमलाई पनि नाफा बस्ने देखिएकाले केही रुपैयाँ मूल्य घटाउन सक्ने ठाउँ रहेको स्रोतले जनाएको छ।