मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

दोश्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

अपि टाइम्स

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।

अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।