मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महङ्गियो ब्रोइलर, उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १० रुपैयाँ पुग्यो

महङ्गियो ब्रोइलर, उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १० रुपैयाँ पुग्यो

अपि टाइम्स

काठमाडौं। बजारमा माग नभएपछि घट्न थालेको ब्रोइलर कुखुराको मासुको मूल्य फेरि महँगिएको छ।

चैत महिनाभरी मूल्य घट्दै गएर जिउँदो कुखुराको मासु प्रतिकेजी २ सय ७० रुपैयाँमा आइपुगेको थियो। वैशाख सुरु भएलगतै मूल्य तीन पटक बढेर जिउँदो कुखुरा प्रतिकेजी ३ सय रुपैयाँ निर्धारण भएको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले आइतबारदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकेजी ३ सय रुपैयाँ कायम गरेको हो।

उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १० रुपैयाँदेखि ४ सय २० रुपैयाँसम्म पुगेको संघका सचिव देव गिरीले बताए। यस अघि उपभोक्ताले ब्रोइलर कुखुराको मासु प्रतिकेजी ३ सय ७० रुपैयाँमा खरिद गर्दै आएका थिए।

मासुको खपत बढ्ने समय भएकोले हाल मूल्य पनि बढ्दै गएको उनले बताए। यतिबेला भारतमा पनि कुखुराको मूल्य बढ्न थालेको छ। गत महिना भारतबाट उलेख्य रुपमा कुखुरा तस्करी भएर आउँदा स्वदेशी उत्पादनको मूल्य घट्दै गएको थियो। गर्मी सिजनमा मासुको खपत कम हुने भएकोले मूल्य घट्ने क्रम रहन्छ।

अहिले विवाहको सिजन सुरु भएकोले मासुको माग बढ्छ। तर बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढ्न थालेको सचिव गिरीको भनाई छ।

व्यवसायीहरुका अनुसार यतिबेला मासुको मूल्य उत्पादन कम भएर बढ्न थालेको हो। केही दिनयता मौसमी असन्तुलनले गर्दा देशभर उत्पादन भएका कुखुराहरु मर्न थालेका छन्। यसले गर्दा माग अनुसार उत्पादन हुन सकेको छैन। भारतबाट अवैध रुपमा कुखुराको तस्करी हुँदा स्वदेशमा उत्पादित कुखुराले उचित बजार भाउ पाएको थिएन।

अहिले भारतीय कुखुराको तस्करीलाई सरकारले कडाई गर्न थालेपछि स्वदेशी कुखुराले राम्रो बजार भाउ पाएको छ। उत्पादन भने प्रशस्त मात्र नभएको राष्ट्रिय कुखुरा बिक्री व्यवासय संघले जनाएको छ।

पछिल्लो समय कुखुरापालक किसान र व्यवसायीहरु यस पेशाबाट पलायन हुन थालेका छन्। भारतीय कुखुरा ठुलो परिमाणमा आउँदा उचित बजार भाउ नपाउने, दाना र चल्लाको मूल्य बढ्ने जस्ता समस्याले कुखुरा पाल्न छोडेको बताइन्छ।

हाल बजारमा कुखुराको मासुको खपत दैनिक ५ लाख केजी भन्दा बढी छ। सामान्य समयमा दैनिक ८ लाख केजी मासु खपत हुने गरेको संघले जनाएको छ।