मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेवातालको ६५ मिटर सीमाक्षेत्र भित्रका संरचना हटाउने सर्वोच्चको फैसला

फेवातालको ६५ मिटर सीमाक्षेत्र भित्रका संरचना हटाउने सर्वोच्चको फैसला

अपि टाइम्स

काठमाडौं । सर्वोच्च अदालतले फेवातालको सीमाक्षेत्र ६५ मिटर नै कायम हुने फैसला गरेको छ ।

२०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्च अदालतमा दिएको रिटको सुुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र हरि फुयालको इजलासले पोखरा महानगरपालिकाको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो ।

विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालिन फेवाताल अध्ययन समितिले फेवातालको मापदण्ड ६५ मिटर कायम हुने प्रतिवेदन दिएको थियो । तर २० कात्तिक २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले नेता पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नंक्सांकन समिति गठन गरेको थियो ।

पोखरा महानगरपालिकाले पौडेल समितिको प्रतिवेदनका आधारमा ३० मिटरको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । तर महानगरपालिकाको उक्त निर्णय सर्वोच्चले बदर गरिदिएको रिट निवेदक सुवेदीले बताए ।

‘हामीले फेवाताल संरक्षणको सरोकार जोडिएका तीनवटा मुद्दा हालेका थियौं । ती सवालमा सर्वोच्च अदालतले ताल संरक्षणको पक्षमा महत्वपूर्ण निर्णय गरेको हो’ अधिवक्ता सुवेदीले भने, ‘सर्वोच्च अदालतले तालक्षेत्र मिचेर बनाइएका संरचना हटाउन माग गरेको निवेदनमाथि रिट जारी हुने भनेको छ । फेवातालको क्षेत्रभित्र कुनैपनि उद्योग वा कम्पनी सञ्चालन गर्ने उद्देश्य राखेमा त्यस्तो काममा अनुमति नदिनू भन्ने माग समेत सम्बोधन भएको छ ।’

अधिवक्ता सुवेदीका अनुसार, सर्वोच्च अदालतको आदेशपछि फेवाताल मिचेर संरचना बनाएका करिव ५०० वटा होटल एवं रेष्टुरेन्टहरु अब हटाउनुपर्नेछ । १६ बैशाख, २०७५ मा सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि आदेश दिँदा करिव ५ सय कम्पनीहरुले सीमा मिचेकोमा अहिले त्यो संख्या करिव एक हजार पुगेको सुवेदीको अनुमान छ ।

पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटर कायम गरेपछि अधिवक्ता सुवेदीले २२ असार २०७९ मा सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि २०६५ सालमा नै सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि विभिन्न ९ वटा काम गर्नु भनी आदेश दिएको थियो । उसले ६ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर्नु, ताल अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता भएको जग्गा एक वर्षभित्र बदर गर्नू र तालको ६५ मिटरभित्र कुनै संरचना बनाउन नदिनू भनी आदेश गरेको थियो ।