मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी मोर्चा, भारत भ्रमणदेखि अमेरिका भ्रमणसम्मको कुरामा खुलेर बोले प्रधानमन्त्री

समाजवादी मोर्चा, भारत भ्रमणदेखि अमेरिका भ्रमणसम्मको कुरामा खुलेर बोले प्रधानमन्त्री

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक टेलिभिजन कार्यक्रममा समाजवादी मोर्चाको औचित्य, भारत भ्रमणदेखि आफ्नो अमेरिका भ्रमणसम्मका कुराका बारेमा खुलेर बोलेका छन् ।

कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभूषण पाठकसँग कुराकानी गर्दै उनले यी विषयमा आफ्नो भनाई राखेका हुन् । उनले समाजवादी मोर्चा काँग्रेसकै चाहानामा भएको पनि बताए । उनले भनेका छन् यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ । उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं, प्रधानमन्त्री दाहालले भने ।

उनले उपेन्द्र यादवको अनिच्छाका कारण बाबुराम भट्टराई तत्काल मोर्चामा सहभागी नभएको जानकारी दिए । बाबुरामजी र हामी पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिह्नबाट लड्ने अनि पार्टी पनि एउटै बनाउने, नेकपा समाजवादी केन्द्रमा जाने भन्ने सैद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको हो । अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन । त्यसकारण, मोर्चाका कतिपय साथीहरुले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्‍यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो, उनले भने ।

उपेन्द्र यादवबाट भर्खरै बाहिरिएकाले बाबुराम भट्टराईलाई असहज भएको उनले उल्लेख गरे । अब, भर्खरै उहाँ जनता समाजवादी पार्टीबाट अलग हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ, प्रधानमन्त्री दाहालले भने । उनले विचार मिल्नेहरुको एकताको बारेमा अहिले कांग्रेस नेताहरुले पनि आग्रह गरेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले हालै गरेको भारत भ्रमणका विषयमा उठेका प्रश्न, बजेटमा निश्चित जिल्लाहरुमा मात्र बजेट विनियोजन गरेको, भारत भ्रमणको केही घण्टाअघि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको लगायतका विषयमा स्पष्ट गरेका छन् । उनले भारत भ्रमणका क्रममा नेपालीको शीर उँचो राख्ने गरी काम गरेर आएको र अब निकट भविष्यमा चीन र अमेरिकाको भ्रमण गर्नेसम्म जानकारी दिए ।

उनले एमसीसी परियोजनाका काम अघि बढ्ने, रेशम चौधरीलाई आममाफी दिनेदेखि सत्त्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी काम पनि अब अघि बढ्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल कति समय हुन्छ भन्नेमा स्पष्ट भनेनन् तर सहमतिअनुसार आफू अघि बढ्ने बताए ।