मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्तीजन्य पदार्थको सेवनमा महिलाको तुलनामा झन्डै ६ गुणा बढी पुरुष

सुर्तीजन्य पदार्थको सेवनमा महिलाको तुलनामा झन्डै ६ गुणा बढी पुरुष

अपि टाइम्स

काठमाडौँ । एक सर्वेक्षणमा सुर्तीजन्य पदार्थको सेवन गर्ने पुरुषको संख्या महिलाको तुलनामा झन्डै ६ गुणा बढी रहेको पाइएको छ । नेपाल डेमोक्रेटिक हेल्थ सर्भे–२०२२ का अनुसार पाँच प्रतिशत र २८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । 

सर्भेका अनुसार नेपालमा दैनिक पाँचवटा भन्दा बढी चुरोट सेवनकर्ताको संख्या बढिरहेको पाइएको छ । चुरोट सेवनकर्ता मात्रै पाँचजना महिला प्रयोगकर्ताको तुलनामा २८ जना पुरुष प्रयोगकर्ता रहेको पाइएको छ । जसमध्ये पनि १७ प्रतिशत पुरुषले दैनिक अत्यधिक रूपमा चुरोट प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय नेपालमा क्यान्सर, क्षयरोग, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी समस्यालगायत नसर्ने रोगको दर उल्लेख्य रूपमा बढिरहेको छ । रोगको भार र उच्च मृत्युदरको कारक बनिरहेको सुर्तीजन्य पदार्थको प्रयोग विगत दुई दशकमा केही कमी आएको छ । सन् २००१ को तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाको संख्या धेरै घटेको छ ।

महिलाको तुलनामा पुरुष प्रयोगकर्ता थोरै घटेका छन् । सन् २००१ कुनै पनि प्रकारको सुर्ती सेवन गर्ने महिला २५ प्रतिशत थिए भने २०२२ मा पाँच प्रतिशतमा झरेको छ । यस्तै, चुरोट सेवनकर्ता महिला २००१ मा २३ प्रतिशत रहेकोमा हाल चार प्रतिशतमा झरेको छ । यसबाहेक २००१ मा कुनै पनि प्रकारको सुर्ती सेवन गर्ने पुरुषको संख्या ४५ प्रतिशतबाट झरेर २०२२ मा २८ प्रतिशत पुगेको छ ।

सुर्तीजन्य पदार्थको सेवन शिक्षाको अभावसँग तुलना गरेर अध्ययन गरिएको थियो । जसमा सुर्तीजन्य पदार्थले स्वास्थ्यलगायत सम्पूर्ण जीवनशैलीमा पारिरहेको असरबारे जनचेतना नहुने समूहमा प्रयोग बढी भइरहेको देखाएको हो ।

अध्ययनअनुसार अशिक्षित रहेका १६ प्रतिशत महिला र ७३ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन् । यसबाहेक आधारभूत शिक्षा लिएका सात प्रतिशत महिला र ६३ प्रतिशत पुरुष, माध्यमिक तहसम्म शिक्षा लिएकाहरूमा दुई प्रतिशत महिला र ३८ प्रतिशत र शिक्षित वर्गमा तीन प्रतिशत महिला र २५ प्रतिशत पुरुषले कुन न कुनै सुर्तीजन्य वस्तु सेवन गरिरहेको पाइएको हो ।