मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकसमा कोशी सरकारः राप्रपै लिएर सरकार बनाउने सत्ता गठबन्धनको तयारी

सकसमा कोशी सरकारः राप्रपै लिएर सरकार बनाउने सत्ता गठबन्धनको तयारी

अपि टाइम्स

काठमाडौँ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक मानिएको छ । कांग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने हुन्छ । जबकि सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश सरकारमा अस्थिरता नहोस् भन्नेमा दलहरु सचेत भएकोले संघीय गठबन्धनअनुसार सरकार बनाउन पहल गर्ने शुक्रबार बेलुका कान्तिपुरसँग बताए । ‘संघीय गठबन्धनअनुसार सरकार बनाउने गृहकार्य छिट्टै सुरु गर्छौं,’ उनले भने, ‘कांग्रेस, माओवादी, राप्रपा र जसपासहित सरकार बनाउने प्रदेशस्तरमा छिट्टै छलफल सुरु हुन्छ ।’

एमाले सचिव योगेश भट्टराईले एमाले(राप्रपा गठबन्धन सरकार बनाउन एक सिटमात्र अपुग भएकाले एक सिट भएको जसपासँग फेरि सरकार बनाउने पहल गर्ने प्रतिक्रिया दिए । ‘हामी ठूलो दलको हैसियतले संविधानले गरेको व्यवस्थाअनुसार सरकारको दाबी गर्छौं । जसपासँग कुराकानी गरेर पहल हुनेछ,’ उनको भनाइ छ ।

एमाले(राप्रपाको सरकारले विश्वासको मत लिन नसकेपछि प्रदेशसभाको राजनीतिक स्थिति फेरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् । ‘संघको सत्ता गठबन्धन दलबाट कोशी प्रदेश सरकारबाट केही प्रस्ताव आएको छैन । हामी अहिले नै कुनै टुंगोमा पुगेका छैनौं,’ उनले भने, ‘हाम्रो पार्टीमा विभिन्न विकल्पमा छलफल गर्छौं ।’ उनले कुनै पनि सरकारले बहुमत पाउन नसकेको अवस्थामा मध्यावधिको विकल्प पनि खुला रहेको उल्लेख गर्दै त्यसबारे सोचिनसकेको बताए ।