मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

अपि टाइम्स

काठमाडौँ । सत्ता गठबन्धनको समाजवादी मोर्चामा नअटाएको नेपाल समाजवादी पार्टीले पनि ध्रुवीकरणको प्रयास थाल्ने भएको छ।
उसले अलग्गै समाजवादी मोर्चाको प्रयास गर्न लागेको हो।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल भएको मोर्चाको सुत्राधार नै डा बाबुराम भट्टराई थिए। तर, जनता समाजवादीसँगको मतभेदका कारण भट्टराई नेतृत्वको नेसपा त्यहाँ अट्न सकेको थिएन।

नेसपाले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ नारासहित अभियान सुरू गर्दैछ।

यही अभियानका क्रममा नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरुसँग सम्वाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने योजना अघि सारेको हो। मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अग्रगामी शक्तिहरुको वृहद् ध्रुवीकरण मार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने, अन्य पार्टीमा आवद्ध पहिचानसहितको सङ्घीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित व्यक्तिहरुलाई पार्टीमा आवद्ध गराउने, ध्रुवीकृत व्यक्ति, व्यक्तित्व र नेतृत्वलाई आवश्यकता अनुसार विभिन्न स्तरको अभियानमा जोड्ने,’ विज्ञप्तिमा भनिएको छ।

असारबाट सुरू भएको अभियान पुस मसान्तसम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ। अभियानले पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्ने विश्वास पनि लिइएको छ।