मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ करोडको भवनमा वाणगंगाको सभाहल, कार्यक्रम भने महङ्गा होटेलमा

६ करोडको भवनमा वाणगंगाको सभाहल, कार्यक्रम भने महङ्गा होटेलमा

अपि टाइम्स

काठमाडौँ । ६ करोड बढी रुपैयाँमा बनेको कपिलवस्तुको वाणगंगा नगरपालिकाभित्र रहेको सभाहल प्रयोगविहिन भएको छ । करिब ५ सय जना बस्न मिल्नेगरी बनाइएको सभाहललाई नगरले प्रयोगविहिन बनाएको हो ।

यसको उदाहरणको रुपमा पछिल्लो समय सकिएका नगर अधिवेशन, नगर सभा, बजेट अधिवेशन हुन् । नगरकै सभाहलमा हुनुपर्ने ती कार्यक्रम बिभिन्न महंगा होटलहरुमा हुने गरेका छन् । जसका कारण बर्षेनी लाखौँ रुपैयाँ अनावश्यक रुपमा खर्च भइरहेको छ ।

नगरको कार्यालयको माथिल्लो तलामा एउटा ठुलो सभाहल छ भने एउटा सानो मिटिङ कक्ष छ । मिटिङ कक्ष प्रयोगमा आएको देखिन्छ भने ठुलो हल नगरले प्रयोगविहिनजस्तै बनाएको छ ।

निकै मोटो रकममा भवन बनाउँदै गर्दा नगरपालिकाले भनेको थियो, ‘अब नगरका साना–ठुला सबै कार्यक्रम यही सभाहलमा हुने छन् । भाडाको घरमा हल नहुँदा समस्या भएको छ । पैसा पनि नोक्सान भएको छ । कार्यक्रम गर्न पनि हल नभएर समस्या भएको छ । त्यहि भएर सभाहलसहितको सुविधासम्पन्न ठुलो भवन बनाएका छौँ ।’

वि सं २०७६ सालपछि नगरपालिकाको कार्यालय नयाँ भवनमा सर्यो । नयाँ भवनमा सर्दा मेयर मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा थिए ।

नयाँ भवनमा सर्ने विषयमा त्यतिखेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद थियो । जनप्रतिनिधि हतार नगर्ने पक्षमा थिए भने प्रशासकीय अधिकृत सापकोटाले धेरै समय भाडामा बस्दा नगरको रकम धेरै खर्च हुने भन्दै सर्न जोड दिएका थिए ।
निर्माण सकिएर त्यतिखेर फर्निसिङको काम हुँदै थियो । त्यसैमा सापकोटाले सर्न बाध्य बनाएका थिए । नयाँ भवनमा सर्दै गर्दा उनले मिडियासंग भनेका थिए, ‘करोडौँ रकम खर्चेर भवन बनेको छ । यहाँ सभा हल पनि छ । अब यो हलको सदुपयोग हुनुपर्छ । नगरले गर्ने साना ठुला हरेक कार्यक्रम यही हलमै हुनुपर्छ । अनावश्यक र फजुल खर्च गरेर नगरको पैसा स्वाहा पार्नु हुँदैन ।’ सापकोटा त्यहाँ रहँदासम्म कार्यक्रमहरु त्यहि हलमा नै हुने गरेका थिए । नगर कार्यालय नयाँ भवनमा सार्न जोड गरेकै कारण तत्कालिन समयमा सापकोटा सरुवा हुनु परेको थियो ।

तर सापकोटाको सरुवा भएपछि भने नगरले पुरानै नियति छाडेको छैन । पालिका विषयक ससाना मिटिङ यु आकारको मिटिङ कक्षमा भए पनि हरेक बर्ष हुने नगर सभा, बजेट अधिवेशन, सुझाव संकलन लगायतका साना–ठुला कार्यक्रम गर्न नगरले होटल नै खोज्ने गरेको देखिन्छ । जसका कारण बर्षेनी अनाहकमा लाखौँ पैसा खर्च भइरहेको छ ।

नगरले होटलमा कार्यक्रम गर्दा सुस्ताएका होटल व्यवसायको लागि त लाभैको कुरा छ । तर भवन निर्माणको उद्धेशयलाई भने नगर नेतृत्वको यस कार्यले लात हानेको छ ।

सर्वसाधारणको प्रश्न छ, यदि होटलमा कार्यक्रम गर्नु छ भने ४ तलामाथिको लाखौँ खर्चेर बनाइएको त्यो विहंगम सभाहलको के काम ? किन सभाहलको नाममा लाखौँ रकम खर्चेको ?

सरोकारवाला भन्छन् ‘कसरी खर्चमा मितव्ययिता अपनाउने भन्ने छैन उल्टै भएको श्रोत साधनको पनि प्रयोग नगरेर नगरले फजुलमा खर्च गरिरहेको छ । त्यो रकम गरिब र किसानको लागि खर्च भएको भए कति राहत हुने थियो ।’

नगरले स्थानीय तहको पहिलो र दोश्रो कार्यकालको २ बर्ष वितिसक्दा पनि जनपक्षीय र उदाहरणीय काम खासै गर्न सकेको छैन । यस्तै फजुल र अनावश्यक खर्चमा नगरको नेतृत्व रमेको देखिन्छ, यसले नगरको नेतृत्वमाथि प्रश्न खडा गरेको छ, सरोकारवाला भन्छन् ।
वाणगंगाका एकजना बुद्धिजिवी भन्छन् ‘नगरको आफ्नै सभा हल हुँदैनथ्यो भने यस्तो विषय उठ्दैनथे होला तर त्यति ठुलो सभाहल हुँदा हुँदै ठुलाठुला कार्यक्रमहरु होटलमा गर्दा प्रश्न उठ्नू स्वभाविक हो ।’

नगरले अहिले सभाहलमा कार्यक्रम गर्न छाड्नुको पछाडी हलको प्राविधिक पक्ष कमजोरी रहेको बताइन्छ । एक जना जनप्रतिनिधि भन्छन् हल अस्वभाविक र ठुलो छ । त्यहाँ रहेका एसीले पनि काम गर्दैनन् । प्रचण्ड गर्मीमा बस्नै सकिन्न । हल साउण्डप्रुफ पनि छैन जसको कारण आवाज ठोक्किएर कार्यक्रम नै खल्लो बन्छ । त्यसैले पनि नगरले ठुला कार्यक्रम बाहिर गरेको हुन सक्छ ।

नगरले भने यस संवेदनशिल विषयमाथि गम्भिरता देखाउँदैन । यस विषयमा अपि टाइम्सले बुझ्न खोज्दा नगरका अधिकारीले हल्का जवाफ फर्काए । उनीहरुले सामान्य विषयलाई मिडियाले उचालेको आरोप समेत लगाउन भ्याए ।
हल मात्रै होइन भवनका अन्य कक्ष पनि अस्वभाविक, ठुला र भद्धा छन् । भवनको अग्रभाग आधुनिक र आकर्षक देखिए पनि भित्र हेर्दा भवनको आलोचना हुने थुप्रै ठाउँ छन् ।

हल यस्तो बन्नुमा निर्माणमै कमजोरी रहेको बताइन्छ । ‘हल बनाउँदा सुझबुझ अपनाएको भए सुविधासम्पन्न बन्न सक्थ्यो’, एक जना पूर्वजनप्रतिनिधि भन्छन् ‘ठेकेदारसंग मिलिभगत गरेर नामको मात्र सभाहल बनाइएको जस्तो छ । जुन बेकामे जस्तै छ ।’

उसो त नगरको ६ करोडकै भवनमा थुप्रै कैफियत छन् । बनेको ५ बर्ष पनि नहुँदै भवनको छत र भित्ता रसाएर पानी चुहिन थालेको छ । भवन बाहिरको रङरोगन पनि उडिसकेको छ । जसका कारण केहि भाग जिर्णजस्तो देखिन्छ । ती जनप्रतिनिधि भन्छन् ‘भवन निर्माण कम्पनी र जनप्रतिनिधिबीच मिलिभगत भएका कारण कमजोर बनावट भएको हुन सक्छ । यसो नै भयो भनेर प्रमाणसहित भन्न सकिन्न तर करोडौँको भवन अहिल्यै जिर्णजस्तो देखिँदा प्रश्न र शंका गर्ने ठाउँ थुप्रै बनेका छन् ।’