रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।
जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिए ।
६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो ।
लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया