मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ / २९ सालपछि चम्कन नसकेको तौलिहवा, के भन्छन् स्थानीय ?

२८ / २९ सालपछि चम्कन नसकेको तौलिहवा, के भन्छन् स्थानीय ?

अपि टाइम्स

कपिलवस्तु । पञ्चायतकालको सुरुवातमै प्रशासनिक एवं व्यापारिक केन्द्र बनेको थियो तौलिहवा । दाङ, रूपन्देही, अर्घाखाँची, पाल्पालगायत जिल्लाको व्यापारिक र सरकारी केन्द्र रहेको तौलिहवामा त्यस्तो चमकधमक हराएको धेरै भयो । ६२ वर्षीय स्थानीय सुरेशप्रसाद शर्मा विकासमा पछाडि पर्दा तौलिहवाले चमक गुमाउनु परेको सुनाउँछन्  ।

‘२०१५ सालमै तौलिहवामा २० र २५ पक्की घर थिए,’ उनले भने, ‘पूर्वाधारले बजारको बेग्लै चहक थियो ।’ उनका अनुसार २०२५ र २६ सालमा तौलिहवामा तीन र चार मिटर फराकिला कच्ची बाटो थिए । काठकै पोलबाट भए पनि बिजुली पुगिसकेको थियो ।

‘झिंगटीका छाना, माटोका गारो लगाएका घर थिए,’ आनन्दबागका उमेश बाँस्कोटा सम्झिन्छन्, ‘आसपासका बासिन्दा किनमेल र सरकारी कामकाजका लागि यहाँ आउँथे ।’ त्यतिबेला यहाँ अहिलेको उच्च अदालतको जस्तो कामकारबाही गर्ने अपिल अड्डा, बडाहाकिम बस्ने गोश्वारा कार्यालय, नेपाल राष्ट्र बैंकको शाखा कार्यालय थिए । चन्द्रौटा–कृष्णनगर सडकका कारण सीमावर्ती बढनी बजारसँगको व्यापार राम्रो थियो । पूर्व–पश्चिम राजमार्ग निर्माणपछि तौलिहवाको ओरालो यात्रा सुरु भयो । रूपन्देहीको बेलहियाबाट बुटवल हुँदै पोखरासम्म सिद्धार्थ राजमार्ग निर्माणपछि तौलिहवा ओझेलमा परेको स्थानीय पाकाहरू बताउँछन् ।

००७ सालअघिसम्म खजहनी (अहिलेको कपिलवस्तु) पश्चिम तराईको महत्त्वपूर्ण जिल्ला मानिन्थ्यो । जिल्लाको पूर्वमा माझखण्ड, पश्चिममा स्युराज, उत्तरमा पाल्पा र दक्षिणमा भारत थिए । खजहनी जिल्लाको सदरमुकाम तौलिहवा बजार थियो । स्युराजको प्रशासन पनि खजहनीकै सदरमुकामबाट सञ्चालन हुन्थ्यो । तौलिहवाको गोश्वारा कार्यालय बडाहाकिमले चलाउँथे । उनको गाडीमा शितौगो (शिवराज–तौलिहवा गोश्वारा) लेखिएको हुन्थ्यो । इतिहासकार भवेश्वर पँगेनीद्वारा लिखित ‘पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन–००७’ पुस्तकमा तौलिहवामा गोश्वारा, माल, अमिनी, काठमहल, अडिटर अफिस, वन जाँच, अस्पताल र झ्यालखानालगायत सरकारी अड्डा रहेको उल्लेख छ ।

प्रशासनिक अड्डाबाहेक तौलिहवा व्यापारिक केन्द्र पनि थियो । यहाँबाट व्यापार प्रवर्द्धनका लागि रूपन्देहीको बुटवल, भैरहवासम्म घोडा चढेर पुग्थे । अर्घाखाँचीबाट ग्राहक तौलिहवा धाउँथे । २०१४र१५ सालमा यहाँ रहेको अपिल अड्डामा मुद्दा पुनरावेदन गर्न दाङ, अर्घाखाँची र बुटवलदेखि आउनेहरू हुन्थे । पछि अपिल अड्डा सरेर परासी पुगेको स्थानीय साहित्यकार हरिराज शर्माले बताए । राष्ट्र बैंकले २०१९ मा तौलिहवामा सञ्चालनमा ल्याएको शाखा ०२६ सालमा भैरहवा स्थानान्तरण भयो । सिद्धार्थ राजमार्ग निर्माणपछि २०२८ र २९ सालबाट बुटवल र भैरहवा चम्किँदै गए । ०४२ मा राष्ट्रिय वाणिज्य बैंकको शाखा आएसँगै सुठौली भन्सार कार्यालयमा रहेको उक्त बैंकको एक्सटेन्सन काउन्टर फिर्ता भएको थियो ।

स्थानीयका अनुसार ०३८ सालसम्म जिल्लामा घोडा यातायात फस्टाएको थियो । यहाँ मुख्यतया खाद्यान्नको व्यापार हुन्थ्यो । स्थानीय रामभजन कलवारले ०३० सालमा आफू १७ वर्षको हुँदा बुबासँग धान किन्न सिउटी, गजेहडा र कर्माना पुग्ने गरेको बताए । ‘त्यहाँबाट क्विन्टलको ८७ देखि ९० रुपैयाँमा धान किनेर गोरुगाडामा ल्याउँथ्यौं,’ उनले भने ।

बुलाडिहवा र सिसहनियामा धान कुटाएर भारतको नौगढ, बासी र मेहदावलगायत बजारमा लगेर बिक्री गर्ने गरेको उनले सुनाए । सीमावर्ती गौराको छोटी भन्सारमा प्रतिगाडा चार रुपैयाँ भन्सार तिर्ने गरेको उनी सम्झिन्छन् । उनका अनुसार ०२० सालबाट फस्टाएको धान–चामलको व्यापार ०३८ सम्म राम्रै थियो । धान–चामल व्यापार राम्रै भएकाले सरकारले ०३२ सालतिर धान–चामल निर्यात कम्पनी स्थापना गरेको थियो । गाउँगाउँमा साझा र सहकारी संस्था खुलेका थिए । यिनले कृषकलाई मलबीउ बाँड्थे । तर, डेढ दशकयता भने यहाँ भारतबाट चामल आयात भइरहेको छ ।

स्थानीयको बुझाइमा तौलिहवा क्षेत्रका पढेलेखेका युवाहरू जागिरे बने । यहाँबाट राजनीतिक नेतृत्वमा पुग्न सकेकाले पनि वास्ता नगर्दाको असर विकासमा पर्‍यो । विकास नहुँदा बाहिरबाट सरेर आएनन् । तौलिहवा उद्योग वाणिज्य संघका महासचिव अर्जुन चापागाईं रूपन्देहीको बेलहियाबाट बुटवल हुँदै पोखरा जोड्ने सिद्धार्थ राजमार्ग निर्माणपछि तौलिहवा ओझेलमा परेको बताउँछन् । सिद्धार्थ राजमार्ग निर्माणपछि ०२८ र २९ सालबाट बुटवल–भैरहवा चम्किँदै गए ।

पहाडबाट किनबेचका लागि आउने रूपन्देही केन्द्रित हुन थाले । ‘बसाइँसराइले बुटवल–भैरहवामा व्यापार व्यवसाय र उद्योगधन्दा फस्टायो । उतैतिर शैक्षिक संस्था पनि खुले,’ उनले भने, ‘तौलिहवामा भने खुलेका पनि बन्द भए, नयाँ खुल्नै सकेनन् ।’ रोजगारी र शिक्षा उपलब्ध नभएपछि बसाइँसराइ नभएको र बजार सुनसान बनेको स्थानीय व्यवसायी बलराम घिमिरेले बताए । त्यसयता तौलिहवाको विकासले पनि गति लिन नसकेको उनको बुझाइ छ ।

०३० कै दशकमा सुरु भएको तौलिहवा बजारको डुबान समस्या अहिले पनि उस्तै छ । मालटोलका हरि गौतमका अनुसार थोरै बाटाघाट कालोपत्र भए, पक्की र आधुनिक घर बने, बिजुलीका पक्की पोल गाडिए । तर, जताततै फोहोर र असरल्ल तारले बजार अव्यवस्थित छ । मापदण्डबिनै घर निर्माणले बजार कुरूप देखिएको छ । बजारका साँघुरा बाटामा दमकल छिर्नै सक्दैनन् । साना जिप, भ्यान नै दुईतर्फी गुड्न सकस छ । त्यतिबेलाका चामल मिल बन्द भएका छन् । उद्योगधन्दा नबढ्दा कामको खोजीमा युवा पलायन हुन रोकिएका छैनन् ।

साहित्यकार राघवेन्द्र श्रीवास्तव ०३४ सालपछि तौलिहवा ओझेलमा पर्दै गएको बताउँछन् । ‘मुख्य राजमार्ग बनेपछि यहाँ बाहिरी जिल्लाबाट आवतजावतमा कमी आयो,’ उनले भने, ‘बिस्तारै पुरानो सहर ओझेल पर्दै गयो ।’

तौलिहवा पछाडि पर्नुमा राजनीतिक खिचातानी र त्यतिबेलाका स्थानीय साहुमहाजनमा रहेको दूरदृष्टिको अभाव पनि एउटा कारण रहेको स्थानीयको ठम्याइ छ । ०२० सालसम्म यहाँबाट नेतृत्व गर्ने पञ्चायतका समर्थक तौलिहवा र कृष्णनगरका नेता थिए । तौलिहवा वाणगंगा वारि र कृष्णनगर पारि पर्थ्यो । तौलिहवाबाट भगवानदास गुप्ता र कृष्णनगरबाट शाह परिवारले राजनीति गर्थे । ०२० मा जिल्ला पञ्चायत सभापतिमा भगवानदास गुप्ता निर्वाचित भए । यसपछि यहाँ राजनीतिक द्वन्द्व बढ्यो ।

तौलिहवास्थित महेन्द्रद्वार, २०१५ सालमा बनाइएको यो गत वर्ष सडक विस्तारका क्रममा भत्किइसकेको छ ।

प्रशासनिक केन्द्रसँग पकड भएका गयाप्रसाद शाहले चुनाव हारेपछि त्यसको सोझो असर विकास र विस्तारमा पर्‍यो । शाहहरूले जिल्लामै पहिलो पटक कृष्णनगरमा बिजुली बालेका थिए । कृष्णनगरलाई ०३० सालतिरै पूर्व–पश्चिम राजमार्गसँग जोडेका थिए । यसले पहाडको सोझो सम्पर्क कृष्णनगरसँग हुन पुग्यो । कृष्णनगरसँगै भारतको बढनी बजार पनि विकसित हुँदै गयो । कृष्णनगर नेपालको यस्तो नाका हो, जसको दुई सय मिटरमै भारतका ठूला सहरसँगको यातायात सम्पर्क जोडिएको छ । बढनीबाट दिल्ली, मुम्बई, कोलकाता र लखउनसम्म रेल सञ्जाल जोडिएको छ । भारतको ब्रोडगेज राष्ट्रिय रेल नेटवर्कसँग बढनी जोडिएको छ । बसबाट पनि दिल्ली, पञ्जाब र हरियाणासम्मको सोझो सम्पर्क छ ।

कृष्णनगर नजिकै पाँच मिनेटमा पुग्ने दूरीमा भारतको बढनीमा रेल स्टेसन थियो । त्यहाँसम्म सजिलै आउने र २२ किमिमै पूर्व–पश्चिम लोकमार्ग पुग्ने हुँदा सबैको रोजाइ यतै पर्‍यो । लाहुरे, आप्रवासी नेपाली, औषधि उपचार र घुम्न जानेलाई सजिलो हुन थालेपछि यहाँ व्यापार फस्टायो । होटल व्यवसाय र उद्योगधन्दा खुल्न थाले । कृष्णनगर भन्सार गुल्जार हुन पुग्यो । कृष्णनगर चम्किँदा त्यसको असर भने तौलिहवामा पर्‍यो । तौलिहवासँग पूर्व–पश्चिम राजमार्ग जोडिन सकेन । तौलिहवा–गोरुसिंगे सडक झन्डै चार दशकसम्म ग्राभेल मात्रै रह्यो । त्यसमाथि बीचमा रामघाट नदीमा पुल नबन्दा लामो समयसम्म टापुको रूपमा बस्यो । बाटो र पुल नहुनु नै तौलिहवा विकासको बाधक बन्यो ।

तत्कालीन विद्युत्का चिफ इन्जिनियर पशुपतिप्रताप शाहले जिल्लामै सबैभन्दा पहिला ०३० सालमा सीमावर्ती कृष्णनगरमा बिजुली बालेका थिए । बढनी बजारभन्दा पहिले कृष्णनगरमा बत्ती बलेपछि भारतीय केही व्यक्ति यता बसाइँ सरेका थिए । ३र४ वर्षपछि बिजुली बलेपछि आफ्नो परिवार फेरि बढनी सरेको भारतीय राष्ट्रिय सहारा दैनिक बढनी ब्युरो प्रमुख अजयप्रताप गुप्ताले बताए ।

०२८र३० सालतिर पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका बेला वीरेन्द्रप्रताप शाह सडक विभागका चिफ इन्जिनियर थिए । उनकै पहलमा भारत सरकारको सहयोगमा त्यतिबेला चन्द्रौटा–कृष्णनगर २२ किलोमिटर सडक निर्माण भएको थियो । महेन्द्र राजमार्ग निर्माणको काम सुरु भएपछि चिफ इन्जिनियर शाहले आफ्नो गाउँ कृष्णनगरलाई राजमार्गसँग पनि जोड्न भारत सरकारसँग आग्रह गरेपछि ट्र्याक खोलेको चाररपाँच वर्षपछि कालोपत्र भयो । शाह परिवारकै एक आफन्त वन कन्जरभेटर थिए । यो बाटो राजमार्गसँग जोडिएपछि कृष्णनगरमा व्यापारिक गतिविधि झनै बढ्यो ।

भवन नहुँदा शाहहरूले नै आफ्नो घरमा भन्सार कार्यालय राखेर सरकारलाई राजस्व उठाउन दिए । सीमा नजिकको बढनी बजारसम्म भारतले सडक निर्माण गरेपछि दुई देशीय व्यापारिक कारोबारसमेत हुन थाल्यो । अहिले कृष्णनगर मुलुकका १० ठूला भन्सारभित्र पर्छ । बाटोकै कारण कृष्णनगरमा भएको विकासले तौलिहवालाई पछि पार्‍यो । कृष्णनगरबाटै सजिलै राजमार्ग पुग्न सकियो । कृष्णनगरबाट भैरहवा र पूर्वतिर आउन तौलिहवा हुँदै छोटो दूरी भए पनि बाटो नहुँदा समस्या भयो । तौलिहवा–कृष्णनगर सडक खण्ड २८ किमि भए पनि २० किमि हुलाकी सडक पर्छ । बर्गदी र कञ्चनिया खोलामा पुल बनेपछि ५र६ वर्षअघि मात्र कृष्णनगरसँग तौलिहवाको सोझो सम्पर्क जोडिएको छ । २० किमि हुलाकी सडक भर्खर कालोपत्र भएको छ ।

सदरमुकाम तौलिहवा ०७० सालपछि मात्र सिधा यातायातको साधनले जोडिएको थियो । राजमार्ग गोरुसिंगे पुग्न रामघाट ९वाणगंगा० नदीमा पुल नहुँदा हिउँदमा डुंगाबाट आवतजावत हुन्थ्यो । ०७१ मा पुल निर्माण भएपछि बजारको सोझो र छोटो सम्पर्क राजमार्गसँग भएको थियो । जबकि, ०३० सालतिर महेन्द्र राजमार्ग बनिरहेका बेला तौलिहवा–गोरुसिंगेको ट्र्याक खोलिएको थियो । बीचमा रहेको नदीले यो सडकको उपादेयता खुम्चाइदिएको थियो । ०७१ पछि पुल बनिसक्दा सदरमुकामको व्यापारिक रौनक खुम्चिसकेको थियो । ‘बाटो नहुँदा ससुराली जान निकै तनाव झेल्नुपर्थ्यो,’ आनन्दवागका उमेश बाँस्कोटाले सुनाए, ‘०४० मा बुटवलमा विवाह भयो । तौलिहवाबाट दिनको एउटा बस मात्र बुटवल जान्थ्यो । त्यो पनि बजारदेखि ३ किमि पर रामघाट नदी पारि गएर चढ्नु पर्थ्यो ।’

तत्कालीन सरकारले ०१५र१६ सालतिर बुद्धस्थल तिलौराकोट आसपास विमानस्थल बनाउने योजना अघि सारेको थियो । विमानस्थलको सोझो फाइदा तौलिहवाले लिने पक्का थियो । तर, स्थानीय साहु–महाजनले विमानस्थल बनेपछि बाहिरका मान्छे आउँछन् र आफ्नो व्यापार घट्छ भनेर सरकारी योजनामा भाँजो हालेको बताइन्छ । तौलिहवामा यहीँ जन्मेहुर्केका बनिया, गुप्ता र कसौधन परिवारको बाहुल्य छ ।

बाहिरबाट यहाँ बसाइँ सरेर आउने वातावरण बनेन । जागिरका सिलसिलामा यहाँ आएकाहरू यहीँ बसोबास गरे । केही स्याङ्जा, पोखरा र अर्घाखाँचीबाट यहाँ आएर बसोबास गरे । जागिर खान यहाँ आएकाले सस्तो जग्गा र मालपोत तिर्न नसकेर लिलाम भएका जग्गा सकारेर जिम्दारी जोडेको पाइन्छ । तर, आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको अभावमा समयक्रममा उनीहरूका सन्तान अन्यत्र गएको पाइन्छ ।

०१५र१६ सालदेखि भारतीय लाहुरे र रोजगारीका लागि भारत गएकाहरूको फर्कने लर्को तौलिहवामा लाग्ने गरेको थियो । तौलिहवादेखि ९ किमिमा सीमा नाका मर्यादपुर थियो । सीमादेखि १० किमिमा शोहरतगढ रेलवे स्टेसन थियो । शोहरतगढसम्म आएकाहरू एक्का ९टाँगा० चढेर तौलिहवा पुग्थे । यातायातका लागि घोडा भाडामा पाइन्थे । तौलिहवामा तौलेश्वरनाथ मन्दिर नजिक बाग्लुङे होटल थियो । त्यहाँ एक रात बसेर लाहुरेहरू घोडा चढेर अर्घाखाँची सीमा पत्थरकोटसम्म पुग्ने गरेको आनन्दबागका केशव ज्ञवालीले बताए । ‘कृष्णनगर र चन्द्रौटा चल्तीमा आएपछि तौलिहवा ओझेलमा पर्न थाल्यो,’ उनले भने, ‘त्यसपछि बिस्तारै यसको चमक हराउँदै गयो ।’कान्तिपुरबाट