काठमाडौं । रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् ।
गत साउन १ गते फेसबुकमा स्टाटस लेख्दै अधिकारीले ‘बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाएको’ भन्दै एफएम रेडियोविरुद्ध आक्रामक शब्दसहितको असन्तुष्टि पोखेका थिए । उक्त अभिव्यक्तिको विरोधमा साउन ४ गते संयुक्त वक्तव्य जारी गर्दै तीन रेडियो प्रसारक संस्थाले अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने घोषणा गरेका थिए ।
विवाद चर्कंदै गर्दा रोयल्टीको पारदर्शितामाथि समेत प्रश्न उठाइएको थियो । अधिकारीले नेपालका रेडियोसम्बद्ध छाता संगठनहरु रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संगीत रोयल्टी नबुझाउन एफएम रेडियोहरूलाई उक्साएको भन्दै त्यस्ता रेडियो नवीकरण रोक्नेसम्मको चेतावनी दिएका थिए ।
शुक्रबार भने फेसबुकमा पुनः स्टाटस लेख्दै अधिकारीले क्षमायाचना गरेका हुन् ।
प्रतिक्रिया